विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेपछि बिरामीले अस्पतालमै आत्महत्या गरेका छन् ।
उपचार गरेबापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर राखेको थियो ।
पहिले आईसीयू र पछि वार्डमा सारेर उनको उपचार भइरहेको थियो । अस्पतालले उनलाई मंसिर ७ गते नै डिस्चार्जको अनुमति दिएको थियो । उनको उपचारमा ३८ हजार रूपैयाँ खर्च भएको थियो । परिवारले १७ हजार चुक्ता गरेपनि बाँकि २१ हजार रूपैयाँ तिर्न नसक्दा उनी घर जान पाएका थिएनन् ।
घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तलामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ ।
हाम फालेपछि उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । तत्कालै त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपनि चिकित्सकले उनलाई बचाउन भने सकेनन् ।
मृतकका पाँच वर्षीय छोरा, चार वर्षीया छोरी र श्रीमती छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...