भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

हाँ महिनावारी शब्दले नारीमा हुने मासिकधर्मलाई जनाउँदछ । सामान्यतया महिलाहरूमा महिनावारी १३-१५ वर्षको उमेर बाट सुरु हुन्छ जसलाई 'मेनार्की' भनिन्छ, भने ४८-५० वर्षको उमेरमा बन्द हुन्छ जसलाई 'मेनोपोज' भनिन्छ ।मासिकधर्म २८-३० दिनको अन्तरालमा नियम दोहोरिन्छ भने एक पटकको मासिकधर्ममा ६०-९० एमएलसम्म रगत बग्दछ । महिनावारीको समयमा हल्कारूपमा रगत बग्नु, तल्लो पेट दुख्ने, शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, उल्टी होला हुने, चिढचिढेपन बढ्नु, सामान्य तुलनामा रिस बढ्नु जस्तो समस्या देखिनु सामान्य भएता पनि यदि उल्लिखित समस्या सामान्य भन्दा बढी बढ्छ भने त्यसलाई महिनावारीको समयमा हुने स्वास्थ्य समस्याको रूपमा लिइन्छ । जस्तैः अत्यधिक रगत बग्नु (दिनमा ४ वा सो भन्दा बढी प्याड चेन्ज गर्नु परेमा), पेट सहन नसक्ने गरी दुख्नु, चिढचिढे पनर रिस धेरै उठ्नु, आदि । महिनावारीको समयमा सबैभन्दा बढी देखिने स्वास्थ्य समस्याहरू के-के हुन्, सो बारे कुरा गरौँः

१. तनाव, चिढचिढेपन र रिस उठ्नुः
महिनावारीकाे समयमा महिलामा अक्सिटोसिन हर्मन उत्पादन कम हुन पुग्दछ भने शरीरको तापक्रम बढ्दा, पेट दुखाइ र रक्तस्रावले गर्दा उनीहरूमा मानसिक रूपमा एकप्रकारको सामान्य विचलन आई तनाव हुने रिस उठ्ने हुन्छ । कुनैपनि खतरा प्रतिको मानव प्रतिक्रियाका सबै पक्षहरूलाई नियन्त्रण गर्ने तनावको मुख्य जड हाम्रो मस्तिष्कको ‘हाइपोथालामस’ नामक भागमा आधारित रहेको हुन्छ । जसकारण पनि हामी उच्च तनावमा रहँदा हाम्रो मतिष्क ‘फाइट या फ्लाइट’ (केही स्थितिको अवस्थासँग लड्ने अथवा त्यसबाट टाढा भाग्न खोज्ने अवस्था) को मुडमा रहने भएकाले यति बेला महिलाहरू अत्यन्तै रिसाहा समेत हुन्छन् । 

‘हाइपोथलामस’ भनिने यो भाग स्वतः प्रतिक्रिया जनाउने मतिष्कको एक अंश पनि हो । जसले अन्त्यमा हार्मोनलाई गुप्त राख्दै प्रजनन प्रणालीको कार्यलगायत शरीरको सम्पूर्ण कार्यहरूलाई नियन्त्रण गरेको हुन्छ र, सोबाट देखापर्ने प्रतिक्रियाबाट बच्न सम्भवतः असम्भव रहन्छ ।

महिलाहरूमा महिनावारीको यो समयमा रिस उठ्नु स्वाभाविक हो । अत्यधिक रिस उठ्छ भने उक्त रिस हर्मोनल चेन्ज, पीडादायी मासिक धर्म, अत्यधिक रक्तस्राव हुनुले हुन्छ ।

२. पीडादायी मासिकधर्म
महिलाहरूमा नियमित रूपमा हुने महिनावारीमा सामान्य रूपमा हुने दुखाइलाई सामान्य मानिन्छ । तर सहनै नसकिने गरी हुने दुखाई भने मासिकधर्मको समयमा हुने स्वास्थ्य समस्या हो । महिनावारीको समयमा पाठेघरको भित्रि तह (इन्ड्रोमेट्रीयम लेयर)मा बनेका विभिन्न प्रकारका संरचना च्यातिएर झर्ने क्रममा यो दुखाई अत्यधिक बढ्न पुग्दछ । मासिकधर्म हुनुको पछिको कारण पाठेघर भित्र भ्रुण निषेचन नहुनु हो । विशेष गरी पाठेघर भित्र बच्चा बस्ने वातावरणको निर्माण भएको हुन्छ । बच्चा नबसेपछि महिनावारी हुन्छ । पाठेघरमा बच्चा बस्न तयार भएको तह महिनावारीको समयमा झर्छ, यही झर्ने समयमा पीडा हुन्छ । यो पीडा हुनुको कारणहरू विभिन्न हुन सक्छन् । जस्तैः पेटमा आउने मोचन बढी हुनु, पाठेघरको भित्रमा रहेको संरचना बाक्लो र मोटो हुनु, शरीरमा रसायनिक तथा हर्मनको परिवर्तन हुनु, आदि । 

३. अत्यधिक रक्तस्राव 
महिनावारीको समयमा सामान्य ६०-९० एम एल वा दिनमा ३-४ प्याड सामान्यरूपमा भिज्ने गरी रक्तस्राव हुनु उत्तम मानिन्छ तर पछिल्लो समय महिलाहरूमा अत्यधिकरूपमा रक्तस्राव हुने गरेको पाइन्छ । यसरी अत्यधिकरूपमा रक्तस्राव हुदा पीडा बढ्नुका साथै मानसिक तनाव पनि हुन्छ । सामान्यतया पाठेघरको भित्रि तहमा बनेको संरचना विकार भएर झर्ने क्रममा पाठेघरको भित्ताबाट उक्किँदा सो टुक्रिँदा रक्तस्राव हुने हुन्छ । पाठेघर तह धेरै बाक्लो वा पातल भएको खण्डमा, टुक्रिने प्रक्रियामा खराबी आएमा, हर्मोनल चेन्ज आएमा यो समस्या देखिन पुग्दछ । 
४. एमेनोरिया
एमेनोरियालाई महिनावारीको समस्याको रूपमा हेरिन्छ । यो एक किसिमले महिनावारी नहुने वा गर्भवती नभइ महिनावारी रोकिने प्रक्रिया हो ।

रजनोवृत्ति तथा गर्भधारणबाहेक रक्तश्रावको सन्दर्भमा महिलाको मासिक चक्र रोकिन्छ भने त्यो एमेनोरियाको संकेत पनि हुनसक्छ । अर्को शब्दमा भन्नुपर्दा, एमेनोरिया महिनावारी चक्र रोकिने एक चिकित्सकीय अवस्था पनि हो र, यसै चिकित्सकीय अवस्थाको सन्दर्भमा यसलाई दुई भागमा विभाजित गरिएको छ । जस्तो सर्वप्रथम, १६ वर्ष उमेर कटिसक्दा पनि महिनावारी नभएका किशोरीहरूलाई प्राथमिक एमेनोरियाको रूपमा वर्गीकृत गरिएको छ । यस्ता किशोरी समूहका प्रजनन मार्गमा केही विविध समस्या हुने सम्भावना अधिक रहन्छ ।

यसैगरी, अर्कोतर्फ पछिल्लो पटक ९ महिना लगातार मासिक चक्र भएपश्चात् ३ महिनासम्मका लागि मासिक चक्र प्रकृया रोकिन्छ, भने त्यस्तो अवस्थालाई भने अर्को किसिमको एमेनोरियाको रूपमा सूचीकृत गरिएको छ । यद्यपि यसप्रकारको अवस्था भने अधिकांश महिलामा साझा रूपमा देखिने गरेको पाइन्छ । 

यसका अधिकांश कारक तत्वहरू भने मासिक चक्र अनियमित हुने कारणसँग काफी हदसम्म मिल्दोजुल्दो रहेको हुँदा यस्ता समस्याको निदान पनि सोहि कारण अनुरुप नै गर्ने गरीन्छ । यद्यपि आफूखुसी कुनै पनि उपचार अपनाउनुभन्दा अघि महिलाले एकपटक अनिवार्य रूपमा आफ्ना चिकित्सकसँग परामर्श लिनुपर्दछ ।

५. रजोनोवृत्तको प्रारम्भिक चरण
४० वर्षअगावै महिलाको अण्डाशयले काम गर्न छोडेको अवस्थालाई प्रारम्भिक रजनोवृत्ति (महिनावारी रोकिनु) भनिन्छ । महिलाको अण्डाशयले आफ्नो चक्र जारी राख्नका लागि पर्याप्त एस्ट्रोजनका उत्पादन गर्न नसकेको अवस्थामा देखापर्ने यस्तो अवस्थालाई चिकित्सा क्षेत्रअन्तर्गत भने ‘प्रिम्याच्योर ओभारियन फेलर’ (समयपूर्व देखा पर्ने डिम्बाग्रन्थी विफलता) पनि भनिन्छ । 

ढिलो अथवा महिनावारी अनियमिततालाई डिम्बाग्रन्थी विफलताको प्रारम्भिक संकेत मानिन्छ । जसको दौरान महिलाले संकेत स्वरूप राति पसिना आउने, गर्मी हुने तथा निन्द्रामा समस्या देखिनेजस्ता अवस्थाहरूको अनुभव गर्छन् । जसकाे कारण महिनावारीको समय पीडादायी हुन्छ । 

मासिकधर्म पीडा र हर्मोनल गर्भ निरोधक चक्कीको अधिक प्रयोग 
पछिल्लो समय युवापुस्तामा अत्यधिक रूपमा प्रयोग भैरहेको छ गर्भनिरोधक चक्की । इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स जस्तैः इकोन, आइपिल, सेभेन्टी टु आवर आदि । यी चक्कीको अधिक प्रयोगले महिनावारी गढवढी हुने, महिनावारीको समयमा पीडा हुने समस्या बढ्दो छ । वर्षमा ३ वटासम्म इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स प्रयोग गर्न सामान्य मानियता पनि सो भन्दा वढी प्रयोग गर्नु घातक हुन जान्छ । विशेष गरी गर्भनिरोधक चक्कीको प्रयोग महिनावारीलाई निरन्तरता दिनका लागि प्रयोग गरीन्छ । यद्यपि कतिपय अवस्थामा अझ विशेषगरी भन्नुपर्दा चक्की सेवनको शुरूवाती केही महिना वा लामो समयसम्मको प्रयोगपछि चक्कीको सेवन छोडेका महिलामा भने यो अपवादको रूपमा देखापर्दछ ।
शुरूवाती केही महिनामा महिलाको प्रजनन प्रक्रिया प्रभाव पर्ने भएकाले पनि महिलामा यस्ता समस्या देखिन्छ । र, महिलामा शरीर तथा हार्मोनको मात्रामा सुधार नआएसम्म यस्ता समस्या यथावत् नै रहीरहन्छन् । 

उपचार विधि
सामान्य तथा महिनावारीको समयमा  हुने स्वास्थ्य समस्यालाई घरमै उपचार गर्न सकिन्छ । जसका लागि निम्न कार्य गर्न सकिन्छ ।
१. हटब्यागले पेट सेक्ने
२. नियमित शारीरिक व्यायाम गर्ने
३. तातो र पोसिलो खाने कुरा खाने
४. पारिवारिक रूपमा मनोरञ्जन र रमाइलोमा सरिक हुने
५. बेसार, तुलसीको पात मिसायर मनतातो पानी पिउने
६. दुखाई कम गर्नका लागि सामान्य दुखाई कम गर्ने औषधि सेवन गर्ने
७. पीडा र रक्तस्राव अत्यधिक भए तुरुन्त स्त्रीरोग विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिने ।

महिनावारीको समयमा हुने धेरै समस्या मानसिक तनावका कारण पनि बढ्ने हुन्छन् । यस्ता समस्यालाई न्युनिकरण गर्नका लागि परिवारका सदस्यहरूले माया प्रेम र समय प्रदान गरी उनीहरूलाई खुशी बनाउनु पर्दछ । महिनावारीको समयमा प्राकृति रुपमै महिलाहरू चिढचिढे र रिसालु हुने हुदा यो समयलाई सामान्य ठानी सोही अनुरुप उनीहरूसङ्ग  सामान्य व्यवहार र प्रेम देखाउनु जरुरि छ । महिनावारी समय प्रयाप्त आराम गर्नु पर्ने समय भएकाले घरको गाह्रोकाममा महिलाहरूलाई सरिक नगराउनु उत्तम ठहरिन्छ । परिवारिक साथ सहयोग र प्रेमले महिनावारीमा आउने ८० प्रतिशात समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । तसर्थ महिनावारीको समयमा हर पुरुष पनि उतिकै सजग हुन जरुरी छ । परिवारमा महिनावारी भएका सदस्यलाई साथ दिने प्रमुख जिम्मेवारी पुरुषले लिन जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...