चितवन- चितवनमा रहेका एचआइभी सङ्क्रमित नवजात शिशुका लागि आवश्यक औषधिको अभाव भएको छ ।
चितवनको एड्स हेल्थ केयर फाउण्डेसनमा विगत छ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवश्यकपर्ने औषधिको अभाव भएको हो ।
फाउण्डेसनमा नवजात शिशुका लागि आवश्यकपर्ने ‘जिडोभुटीन’ नामक औषधिको अभाव भएको हो । यो औषधि उच्च जोखिममा रहेका बालबालिकाका लागि दिइने गरिन्छ ।
कम जोखिममा रहेका बच्चालाई छ हप्तासम्मका लागि ‘नेभिरापिन’ नामक औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । अहिले उच्च जोखिममा रहेका बालबालिकालाई समेत सोही औषधिको प्रयोग गराइरेहको छ ।
नियमित औषधि सेवन नगर्ने आमा, प्रसुति हुने अवस्थामा सङ्क्रमण पुष्टि भएकी आमा र एचआइभी सङ्क्रमण पुष्टि भएर औषधि सेवन गरेको आठ हप्ता नपुग्दै बच्चा जन्माउने आमाबाट जन्मिएका बच्चालाई दुई घण्टाभित्र यो औषधि खुवाउनु पर्ने हुन्छ ।
यो औषधि बच्चालाई तीन महिनासम्म नियमित खुवाउनुपर्ने हुन्छ ।
जिल्लामा सन् २०२१ को हालसम्म १२ जना सङ्क्रमित आमाले १३ जना बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना उच्च जोखिममा रहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...