एजेन्सी- वायु प्रदूषणको मात्रा बढेपछि भारतमा दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न आदेश दिएको छ । 

शनिबार भारतको सर्वोच्च अदालतले दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न सुझाव दिएपछि बसेको सरकारको आपतकालीन बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार अर्को हप्तासम्म दिल्लीका विद्यालयहरु बन्द रहने र सरकारी कर्मचारीहरूले अर्को हप्तासम्म घरबाट काम गर्नुपर्ने छ।

साथै, सबै निर्माण कार्य बन्द गर्ने निर्देशन दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस बैठकमा लकडाउन गर्ने कुरामा पनि विचार गरिएको बताएका छन् ।   

दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको हो ।

हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन । 

भारतमा वायु प्रदूषणका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । 

 संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...