भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

मोटो शरीर बाहिर निस्किएको पेट देख्दा खान्दानी मान्छे रहेछ, नेता वा कुनै सरकारी अड्डाको कर्मचारी होला भन्ने अड्कल काट्न थालिन्छ । अर्थात् मोटोपनलाई सामाजिक मानसिकता अनुसार धनीमानी, सम्पन्नता, सुखसँग अझै जोडिन्छ । मोटो जिउलाई स्वस्थ्य भएको मान्ने चलन अझै पनि छ । भुँडीलाग्ने गरी मोटाउएको मान्छेलाई समाजले मीठो खाने, बसी-बसी काम गर्ने, बुझेको मान्छेको संज्ञा दिने समेत गरेको पाइन्छ । तर स्वस्थ र पोषणको दृष्टिले मोटोपन कुपोषण हो र अस्वस्थ शरीरको कारक पनि हाे । 

अब कुरा गरौँ, के हो त मोटोपन ?

मोटोपनलाई अङ्ग्रेजीमा Obesity भनिन्छ, शरीरमा अत्यधिक रूपमा शारीरिक सेतो बोसो एकत्रित हुन थाल्दछ । यसरी बोसो बढेको अवस्था हो मोटोपन ।  जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ । यसरी बाेसोले व्यक्तिको  आयु सम्भावनालाई पनि घटाउन सक्छ । शरीर भार सूचकांक (बीएमआई), मानव भार र लम्बाइको अनुपात हुन्छ, जब २५ किग्रा/मी २ र ३० किग्रा/मी  २ का बीच हुन्छ, तब मोटोपन पूर्व स्थितिमा रहन्छ भने जबबिएमआई ३० किग्रा/मी २ भन्दा अधिक छ हुन्छ त्यो अवस्थामा अत्यधिक मोटोपन हुन जान्छ । मोटोपनको प्रमुख कारण अत्यधिक क्यालोरी भएका खाद्यपदार्थको सेवन, शारीरिक क्रियाकलापको  अभाव, आनुवांशिकीको मिश्रण हुन सक्छ । पछिल्लो समय मोटोपनको प्रमुख एक कारण पत्रु खाना (junk food) रहेको छ भने आलस्य जीवनशैली पनि उत्तिकै छ । 

मोटोपन सम्बन्धी केही तथ्यांक हेरौँ:

केही आँकडा बताउँछन् कि  सन् २०१७/१८ मा संसारका १४.५ प्रतिशत पुरुष र १३.५ प्रतिशत महिलाहरू मोटोपनको शिकार थिए र तिनको बीएमआई ३० भन्दा अधिक थियो । यदि यसको तुलना सन्  २००० का आँकडा  हेर्दा त्यस समय ६.७ प्रतिशत पुरुष र ७.९ प्रतिशत महिलाहरू मोटोपनको शिकार थिए । प्रशान्त महासागरका द्विपीय देशहरूमा मोटोपन पूर्ण संसारमा सबैभन्दा अधिक छ र  जहाँ बीएमआईको औसत ३४ देखि ३५ का बीच छ । यो दक्षिण-पूर्वी एसियाका देशहरू र उप-सहारीय अफ्रीकी देशहरूको तुलनामा ६५ प्रतिशत भन्दा बढी  हो । संसारमा मोटोपनको सम्बन्ध आयसँग रहेको छ र अधिक आय भएका देशहरूमा मोटोपन अधिक बढेको छ । वर्ष १९८५  देखि २०२० का बीच विकसित  देशहरूमा सबैभन्दा अधिक बीएमआई अमेरिकामा बढ्यो  । यसका पछि महिलाहरूमा न्यूजील्याण्ड र अस्ट्रेलियाको  क्रमशः आउँछन् । साथै  पुरुषहरूकाे मोटोपनको अवस्था हेर्दा अमेरिकाका पछि सबैभन्दा अधिक मोटोपन  ब्रिटेन र अस्ट्रेलियामा पाइएको छ । पश्चिमी युरोपका केही देशहरूमा मानिसहरूले आफ्नो  बिएमआईको स्तर यथावत  राख्न सफल भएको देखिन्छ । लेक्जेम्बर,  बेल्जियम, फिनल्यान्ड, फ्रान्स, इटली , स्वीट्जरल्याण्ड जस्ता देशमा  महिलाहरूका बीएमआईमा कुनै बढोत्तरी भएको छैन ।  नेपालमा भने मोटोपनको बारेमा खासै अध्ययन नभए पनि विद्यालय उमेरका बालबालिकामा बाढेको मोटोपन र पत्रु खान र क्यालोरियुक्त खानाको प्रभाव साथै आलस्य जीवनशैलीकाे असरले मोटोपन ह्वात्तै बढ्ने देखिन्छ । 

मोटोपनले के रोगसँग सम्बन्ध राख्दछ ?

विभिन्न अध्ययनका आधारमा हेर्दा मोटोपन धेरै रोगहरूसित प्रत्यक्ष सम्बन्ध राख्दछ छ । जस्तै हृदय रोग, मधुमेह, निद्राकालीन श्वासप्रस्वास समस्या, धेरै प्रकारका क्यान्सर र अस्टेयोआर्थ्राइटिस, थाइराइडको समस्या तथा मानसिक समस्यासँग पनि सम्बन्ध राख्दछ । 

के हो त मोटोपनको कारण ?

मोटोपनका धेरै कारण हुन सक्छन् । जसमध्ये यी प्रमुख मानिन्छन् :

- मोटोपन र शरीरको वजन बढनु क्यालोरिको सेवन र क्यालोरी को उपयोग (burn)का बीच असन्तुलनको  हुनु ।
- अधिक पत्रुखाना तथा चर्वीयुक्त आहारको सेवन गर्नु ।
- कम  शारीरिक व्यायाम गर्नु र आलस्य जीवनयापन अपनाउनु ।
-असन्तुलित व्यवहार र मानसिक तनावको असरले मोटोपन बढ्न सक्दछ ।
- सन्तुलित आहारको उचित प्रयोग नहुनु ।

मोटोपन कसरी घटाउन सकिन्छ ? 

मोटापा घटाउनका लागि क्यालोरियुक्त खाना, पत्रु खाना को कम सेवन गर्ने तथा नियमित शारीरिक कसरत र व्यायाम गर्ने गर्नु पर्दछ । अन्य  उपायलाई यसरी हेर्न सकिन्छ ।

- चिल्लो र बोसो युक्त खाना कम खाने,
- फलफुल र सागपातको अधिकतम प्रयोग गर्ने,
- फाइवर रेशायुक्त खाद्य पदार्थको सेवन अधिकभन्दा अधिक गर्ने । जस्तै अन्न, चना र अंकुरित चना, सुन्तला , सागपात ।
- शरीरका वजनलाई सन्तुलित राख्नका लागि प्रतिदिन  व्यायाम-कसरत गर्ने ।
- नियमित उपवास बस्ने 
- धुमपान, मध्यपानको सेवन निरुत्साहित गर्ने
- तनाव चिन्ता जस्ता मानसिक समस्यालाई नियन्त्रण गर्ने,

अन्ततः मोटो शरीर हुनु स्वस्थ हुनु होइन । मोटोपन शारीरिक स्वस्थ समस्याको कारण बनिदिन्छ । भुँडी बढेकाे मान्छे नेता वा कर्मचारी ठानिने सामाजिक बुझाई बदलेर उनीहरूले आलस्य जीवनशैली र अत्यधिक क्यालोरियुक्त खानाको प्रयोग गर्ने तथा व्यायाम नगर्ने भन्ने पनि बुझाई समेत स्थापित गर्नुपर्ने छ । तसर्थ मोटोपन सामाजिक सम्पन्नता नभै रोगको कारक हुने हुँदा यसलाई निरुत्साहित गर्न व्यक्तिगत तरवरले नियमित ख्याल गर्ने, सन्तुलित भोजन ग्रहण गर्ने तथा शारीरिक व्यायाम गर्ने गर्नु पर्दछ । विद्यालय उमेरका बालबालिकालाई मोटोपनबाट बच्न परिवारले जिम्मेवारी लिन जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...