Author

नेपालमा क्षयरोगबाट मर्ने मानिसको संख्या धेरै छ । जसको प्रमुख कारण कुपोषण र रोगप्रतिरोधात्मक शक्ति कम हुनु हो । नेपालमा औलोबाट पीडित भएर रगतको कमी हुन्छ, औलोको औषधि नपाएर पनि कैयौँ मर्छन् ।

- डा अरुणा उप्रेती

‘लमहों ने खता कि थी, सदियों ने सजा पाइ है’
अथात्, कसैको केही सेकेन्डको गल्तीले हजारौँ वर्षसम्म सजाय भोग्नुपर्यो । 

मलाई यी शब्दहरू याद आइरहेछन् । अहिलेको नेपालको विवशता, दुुःख, मानसिक तनाव र आँसुु देखेर लाग्छ, यो हामीलाई नै इंगित गरेर भनिएको हो । राजनीतिक नेताहरूले एक सेकेन्ड मनपरी गर्छन् वा बोल्छन् र हजारौँ नेपालीले लामो समय दुःख पाउँछन् । 

पाँच हजारभन्दा धेरै मानिसको कोरोना र कोरोना सिर्जित 'जटिलताबाट मृत्यु भएपछि ओली 'बा'लाई ज्ञान फुरेको छ– ‘मैले कोरोना भनेको केही होइन, नेपालीको रोगसँग लड्ने शक्ति धेरै छ, त्यसैले कोरोनाले छुँदैन भनेको गलत रहेछ ।’

‘नेपाली जनताको रोगप्रतिरोधात्मक शक्ति धेरै छ’ भनेर ओलीलाई कुन विज्ञले भने होलान् ? कुन चिकित्सा विज्ञान पढ्ने कलेजमा यस्तो ज्ञान पढाइन्छ होला ? यो हामीलाई थाहा हुन सकेन ।

नेपालका जनस्वास्थ्यविज्ञले बुझेको के हो भने ‘नेपाली महिलाहरू कुपोषण र रक्तअल्पताले ग्रस्त छन्, त्यसैले सुत्केरी हुँदा मर्छन् । बालबालिकाहरू कुपोषणले गर्दा पुड्का छन्, कुपोषणले उनीहरूको रोगसँग लड्ने शक्ति क्षीण गराएको छ । त्यसैले निमोनिया, श्वासप्रश्वास र झाडापखालाले पीडित हुन्छन्, कति मर्छन् पनि । 

‘नेपालमा क्षयरोगबाट मर्ने मानिसको संख्या धेरै छ । जसको प्रमुख कारण कुपोषण र रोगप्रतिरोधात्मक शक्ति कम हुनु हो । नेपालमा औलोबाट पीडित भएर रगतको कमी हुन्छ, औलोको औषधि नपाएर पनि कैयौँ मर्छन् ।’ यिनै हुन् वैज्ञानिक तथ्य । 

यी तथ्य र तथ्यांक पनि स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञले नै निकाल्छन्, तर ओलीले यस्ता वैज्ञानिक तथ्यांकमाथि ध्यान दिन सक्दैनन् वा चाहँदैनन् र चुट्की बजाएर भन्छन्, ‘भो पर्दैन, नेपालीलाई कोरोनाले संक्रमण गर्दैन, किनभने नेपालीको रोगसँग लड्ने शक्ति छ ।’

ओलीलाई कसैले त भनिदिनुपर्ने कि रगतको कमी भएपछि रोगसँग लड्ने शक्ति कम भइहाल्छ, त्यसैले सुत्केरी आमा मर्छन् । रोगसँग लड्ने शक्ति कम भएपछि ‘क्षयरोग’ले आक्रमण गर्छ, रोगसँग लड्ने शक्ति कम भएकैले बच्चा बिरामी हुन्छन् र मर्छन् पनि । 

यस्ता समाचार सायद बालुवाटारसम्म आइपुग्दैनन् क्यारे । त्यसैले बालुवाटारका नेताले ‘सबैतिर सुन्दर नै देख्छन्, स्वस्थ नै देख्छन् र भनिदिन्छन्, ‘नेपालीको प्रतिरोधात्मक शक्ति बढी छ । बेसार खाऊँ, कोरोना भगाऊँ ।’

(पोषणविद् डा अरुणा उप्रेतीको फेसबुक वालबाट)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...