भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

स्वास्थ्यसँग जोडिएका विभिन्न आयाम र पाटाहरूको बारेमा विस्तृतरूपमा जानकारी तथा ज्ञानसीप प्रदान गर्ने शिक्षालाई सरल रूपमा स्वास्थ शिक्षाको रूपमा लिन सकिन्छ । अझ भनौँ स्वास्थ्यको बारेमा मानिसहरूलाई शिक्षित गर्ने पेशा वा कार्य हो स्वास्थ्य शिक्षा । यस पेशाको क्षेत्रहरूमा पर्यावरणीय स्वास्थ्य, शारीरिक स्वास्थ्य, सामाजिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, बौद्धिक स्वास्थ्यका साथसाथै यौन र प्रजनन स्वास्थ्य शिक्षा समेटिएको छ । यही यौन तथा प्रजनन स्वास्थ्यबारे प्रष्ट रूपमा जानकारी दिने कार्यको एक प्रमुख कार्य हो यौनिकता शिक्षा । यौनिकता शब्दको विकास 'यौनिक'बाट भएको पाइन्छ । यौनिकलाई नेपाली शब्दकोशले 'मैथुनबाट उत्पन्न भएको, सम्भोगबाट जन्मेको' भनी अर्थ्याएकाे पाइन्छ । यही मैथुन वा प्रजनन प्रक्रिया ,सो-समयका अवरोध, परिवर्तन लगायत यसका हर क्षेत्रमा व्याख्या गर्ने शिक्षा हो यौनिकता शिक्षा ।

के हो यौनिकता शिक्षा ? 
बालबालिका, किशोरकिशोरी र युवायुवतीहरूलाई विभिन्न माध्यमबाट यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने शिक्षा हो यौनिकता शिक्षा । परिवार, समाज, विद्यालय वा अन्य औपचारिक वा अनौपचारिक तरवरबाट यस प्रकारको शिक्षा प्रदान गर्न सकिन्छ । 

के हो बृहत् यौनिकता शिक्षा ?
विज्ञहरूकाअनुसार बृहत् यौनिककता शिक्षा भन्नाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान, सीप, व्यवहार, संवेग, शारीरिक र सामाजिक पक्षको सिकाइ प्रक्रिया भन्ने बुझिन्छ । यसले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीको ज्ञान, मनोवृत्ति, सीप, धारणा, मूल्य र मान्यतालाई वैज्ञानिकरूपमा सबल बनाउँछ । यो शिक्षा  विभिन्न उमेर समूह, सामाजिक आर्थिक र  सांस्कृतिकरूपमा स्वीकार्य, वैज्ञानिक तथा सूचनामा आधारित हुनुका साथै विद्यालयभित्र र बाहिर औपचारिक वा अनौपचारिकरूपमा प्रादन गर्न सकिने विषय वा पाठ्यक्रममा आधारित शिक्षा हो । पाँच वर्षदेखि ८ देखि २४ वर्ष उमेर समूहलाई यो शिक्षा बढी आवश्यकता पर्दछ । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार ‘बृहत् यौनिकता शिक्षा’ले किशोर–किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिक जीवनलाई स्वस्थ्यकर बनाउन, एचआइभी, यौन सङ्क्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुर्व्यवहार घटाउन मद्दत पुर्याउँदछ ।

के हो यौन ? 
जन्मका आधारमा प्राप्त  हुने जैविक गुण हो यौन । यौन मानिस तथा जीव जन्तुको को जीवनको केन्द्रीय पक्ष हो । यौन एउटा प्राकृतिक विशेषता हो भने यौनितका यौनसँग सम्बन्धित सम्पूर्ण भावको अभिव्यक्ति र जीवनशैली हो । यसका आठ अवधारणाहरू छन् । यसमा सम्बन्ध, लैङ्गिकताको बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगीताका सीप, मानव शरीर र विकास, यौनिकता र यौन व्यवहार, यौनिक तथा प्रजनन स्वास्थ्य मूल्य, अधिकार, संस्कृति र यौनिकता पर्छ ।

यौनिकता शिक्षाको महत्त्व किन ?
अपवाद बाहेक यौन तथा प्रजनन स्वास्थ्र मानव जीवनको केन्द्रीय क्षेत्र हो । प्रकृतिकरूपमा हुने शारीरिक वृद्धि र विकासँगै व्यक्तिमा यौन तथा प्रजनन क्षेत्रमा पनि परिवर्तन आउँछ । यसरी आएको परिवर्तनलाई व्यक्तिले सहजै स्वीकार गर्न सकेन भने उसकाे स्वास्थ्यमा आघात पुग्न सक्छ । त्यस्तो आघात बाट बचाउन। यौनिकता शिक्षाको महत्त्व रहन्छ। बालाबालिका तथा किशोरी किशोरीमा यौन बारे जानकारी दिन । प्रजनन उमेर तथा अवस्थाको बारेमा बुझाउन । यौन रोग तथा स्वास्थ्य समस्या बारे जानकारी दिन, असुरक्षित यौनसम्पर्क यौनरोग, गर्भधान, यौन हिंसा तथा शोषण बारे बुझाइ उनीहरूलाई प्राकृतिकरूपमा आउने परिवर्तनलाई सहजै स्वीकार्न सक्ने बनाउनुका साथै हुनसक्ने सम्भावित शारीरिक, मानसिक, सम्वेगात्मक जोखिमबाट बचाउनका लागि यौनिकता शिक्षाको महत्त्व छ । सामाजिक संस्कार जस्तो श्रीमतीलाई छोरा पाउने दवाब हुनु, महिनावारिको समयमा गाह्रो काम गर्नु तथा कम पोसिलो खाना खानु, घरेलु हिंसाको सिकार हुनुजस्ता कार्यबाट बच्न र बचाउन पनि यौनिकता शिक्षाको महत्त्व छ ।

पाठ्यक्रममा यौनिकता शिक्षाको अवस्था
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयल, शिक्षा विकास तथा मानव विकास केन्द्र, समावेशी शिक्षा शाखाका अनुसार, बालबालिका र किशोर– “बृहत् यौनिकता शिक्षाले बालबालिका तथा किशोर–किशोरी तथा युवायुवतीकाे मानसिक, शारीरिक, सम्वेगात्मक तथा सामाजिक विकासका लागि उमेरअनुसार ज्ञान दिन सहयोग गर्छ । यसैले यस्ता शिक्षालाई विद्यालय तहका पाठ्यक्रममा एकीकृत गर्दै जाने नीति सरकारको छ ।”

केन्द्रले कक्षा १ देखि ५, ६ देखि ८ र ९ देखि १२ सम्मका पाठ्यक्रममा बृहत् यौनिकता शिक्षालाई कुनै न विषयवस्तुका रूपमा समावेश गरिएको छ ।  बृहत् यौनिकता शिक्षाले समग्र सिकाइमा सकारात्मक प्रभाव परेको केन्द्रको ठम्याइ छ ।

हाल मन्त्रालयले कार्यान्वयन गरिराखेको विद्यालय क्षेत्र विकास योजना विसं २०७३–७८ मा आधारभूत जीवनोपयोगी शिक्षा र सीपको विकासका अवसरमा सहजीकरण गर्ने उल्लेख छ ।  यसरी पाठ्यक्रममा यौनिकता शिक्षाबारे राखिएता पनि यो शिक्षा प्रभावकारी हुन भने सकेको छैन । अधिकांश शिक्षकहरूले यौनलाई लाजको विषय ठानी यौन तथा प्रजनन सम्बधी पाठ नपढाउने, नबुझाउने गरेको सजिलै देख्न सकिन्छ । जसले गर्दा ग्रामीण क्षेत्रका बालबालिका, किशोरकिशोरीहरू यौनिकता शिक्षाबाट बञ्चित छन् भने यौन तथा प्रजनन स्वास्थ्य समस्याबाट ग्रसित छन् । 

निष्कर्षः
सहरी क्षेत्रमा पश्चिमी संस्कृति तथा सिरियल सिनेमाको प्रभावक कारण यौन सम्बन्धी किशोरकिशोरीको धारणा शारीरिक सम्बन्धसम्म गएर टुङ्गिनु र ग्रामीण क्षेत्रका किशोरी किशोरीले यौनिकता शिक्षाबारे सबल जानकारी नपाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरू भोग्दै आएको खबर पढ्न सुन्न र देख्न जति पनि पाइन्छ । दुवै क्षेत्रका लक्षित उमेर समूहका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सबल र प्रभावकारी जानकारी दिनका लागि स्वास्थ्य शिक्षासँगै जोडेर बलियोरूपमा यौनिकता शिक्षा प्रवाह गर्न जरुरी देखिन्छ । यौनिकता शिक्षा प्रभावकारी भएको खण्डमा बालविवाह, यौन प्रशारित रोग, छिटो गर्भधारण, विभिन्न प्रकारका यौनहिंसाबाट बच्नका साथै प्राकृतिकरूपमा हुन्र शारीरिक परिवर्तनलाई सहजताका साथ बालबालिका, किशोरकिशोरी तथा युवायुवतीले स्वीकार्न सक्दछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...