प्रारम्भ
हरेक वर्ष विश्वमा रेबिजबाट लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यस रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । नेपालमा हरेक वर्ष रेबिजका एक सय नयाँ बिरामी देखिन्छन् ।

रेबिज र यसको रोकथामका बारेमा जागरुकता बढाउनका लागि ‘विश्व रेबिज दिवस’ मनाइने गरिएको हो । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाइने यो दिवस विश्वभरका अनेक देशमा मनाइन्छ । 

रेबिज एक जुनोटिक बिमारी हो । यो जनावरहरूबाट मानिसमा सर्ने गर्दछ । रेबिज नामक भाइरसद्वारा मानिसमा संक्रामक रूपमा फैलिने यो रोग रबडोविरिडे परिवारको लिसावायरस जिन्सबाट पैदा हुन्छ । रेबिजले विश्वभरि पछिल्लो ५ वर्षमा कोरोनाले भन्दा धेरैको ज्यान लिएको तथ्यांक छ । 

विश्व रेबिज दिवस अर्थात् आजको विशेष दिनमा रेबिज सम्बन्धित जानकारी तथा यसको रोकथामका उपाय एवं उपचारबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालित गर्ने गरिन्छ ।  

विश्व रेबिज दिवसको  इतिहास
विश्वमा पहिलोपटक सन् २००७ सेप्टेम्बर २८ का दिन विश्व रेबिज दिवस मनाइएको थियो । दिवस कार्यक्रम एलायन्स फर रेबिज कन्ट्रोल र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन, युएसएको सहयोग तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को आयोजना गरिएको थियो । संसारभरि रेबिजको प्रतिकुल प्रभावबाट पीडितहरूलाई ध्यानमा राख्दै यो दिवसको आयोजना  गरिएको हाे । दिवस रेबिज र यसको खोप पत्ता लाउने वैज्ञानिक लुई पास्चरको पुण्यतिथिको अवसरमा मनाउन थालिएको हो ।

विश्व रेबिज दिवसको महत्व
‘विश्व रेबिज दिवस’ संसारभर रेबिजको आतंकलाई स्वीकार गर्नका लागि मनाइने एक महत्वपूर्ण दिनका रूपमा लिइन्छ । रेबिज मानवसहित सबै स्तनधारी तथा विशेष गरी जंगली जनावरहरूमा लाग्ने रोग हो । यो दिवसले रेबिजजस्तो प्रतिकुल स्थितिसँग लड्न तथा जनावरहरूको रेखदेख गर्न र सन् २०३० सम्म रेबिज उन्मुलन गर्ने उद्देश्य राखेको छ । 

वर्तमान अवस्था 
रेबिज लागेपछि खोप वा जानकारी अभावले धेरै मानिसले ज्यान गुमाउने गरेका थिए भने अहिले सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क खोप उपलब्ध छ । यद्यपि रेबिजबाट मानिसको मृत्यु हुने क्रम भने अहिले पनि रोकिएको छैन । सन् २०३० सम्म बौलाहा कुकुरको टोकाईबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य पूरा गर्न कठिन छ ।

नेपालमा ९५ प्रतिशत रेबिज बौलाहा कुकुरको टोकाइबाट हुने गरेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एक चौथाई जनसंख्या मध्यम जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

बौलाहा कुकुरको र्‍याल घाउ, मुख, आँखामा पर्दासमेत रोग सर्न सक्छ भन्ने थाहा नहुनु, खोप टोकेको दिन मात्र लगाए हुन्छ भन्ने गलत धारणा बोक्नु, रेबिज इमुनोग्लोबिनको प्रयोगबारे जानकारी नहुँदा मृत्युदर घट्नुको साटो बढ्दै गएको छ । 

विश्व रेबिज दिवस २०२१ 
‘विश्व रेबिज दिवस’को यसवर्षको नारा  ‘रेबिज, तथ्य, डर होइन’ भन्ने नाराका साथ मनाइँदै छ । यसले रेबिजसँग सम्बन्धित डर, भ्रम र मिथकहरू हटाइ रोग तथा रोगसँग सम्बन्धित सबल तथ्यहरूबाट जनचेतना फैलाउनु रहेको छ । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...