काठमाडाैँ - महिनावारीका लागि झुत्रोकपडाको जोहो गर्थिन् वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना  र लगाउन नमिल्ने कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका बेला आफूले प्रयोग गर्ने गर्थिन् । 

महिनावारी भएका बेला कुनामा फालेको टालाे लगाउने गरेकाे र घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउने गर्थिन् । 
तर महिनावरीकाे बेलामा पुराना कपडालाई प्याडका रुपमा प्रयोग गर्दै आएकी मुना हिजोआज नियमितरुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छिन् । स्वास्थ्यचौकीमा आएर प्रत्येक महिना प्याड लैजाने गरेकाे बताउदै प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्नथालेकाे अनुभव सुनाउ छिन् । 

महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने मुनालाई जानकारी नै थिएन । यस विषयमा खुलेर कुराकानी गर्न नसक्ने तर अहिले यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने कुरा छोरीलाई पनि बारम्बार सिकाउ छिन् ।

कतिपय ग्रामीण बस्तीमा अझसम्म पुरानै कपडा प्रयोग गर्ने  प्रचलन छ । वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय महिनावारीका बेला  झुत्रा र फोहर कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् । 

वीरेन्द्रनगरकी तुल्सी खत्री घर नजिकै रहेको उत्तरगङ्गा स्वास्थ्यचौकीबाट नियमितरुपमा सेनेटरी प्याड लैजाने गर्छिन् । उनले पनि पहिला पुराना कपडालाई प्याडका रुपमा लगाउने गर्दथे । उनकाे अनुभव पनिअन्य कपडाभन्दा सेनेटरी प्याड प्रयोग गर्नु नै सजिलो भएको छ । 

महिनावारीका बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी भए पनि महिनापिच्छे प्याड किन्न उनीसँग  पैसा हुँदैनथ्यो । तर अहिले हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लिने गरेकी छिन् ।

लकडाउनका बेलामा पनि स्वास्थ्यचौकीबाट निःशुल्क प्याड पाएकाेमा खुसी छिन् वीरेन्द्रनगरकै पवित्रा चौलागाईं । अहिले स्वास्थ्यचौकीबाटै निःशुल्क प्याड दिन थालेकाले धेरै सहज भएकाे उनी बताउ छिन् । 

गत वर्षदेखि नगरपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेकामा  त्यहाँका महिला खुसी छन् । प्याड लिन आउने महिला नियमितरुपमा जाँच पनि गराउने हुँदा  उनीहरुको स्वास्थ्यमा पनि सुधार आएको उत्तरगङ्गा स्वास्थ्यचौकीमा कार्यरत अहेब जमुना भण्डारीले  बताए । 

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्करुपमा प्याड वितरण गर्दै आएको उपप्रमुख मोहनमाया ढकालले बताए । महिनावारीका विषयमा जोडिएको नकारात्मक धारणा हटाउनाका साथै स्वच्छ महिनावारी हुनुपर्छ भनेर सचेत गराउनु कार्यक्रमको उद्देश्य रहेकाे बताउदै स्वास्थ्यचौकीमार्फत प्याड वितरण गर्दा त्यहाँ गएर जाँच गराउन सक्छन् भनेर नै यो कार्यक्रम ल्याएका समेत जानकारी दिए  । अब हरेक माध्यमिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपप्रमुख ढकालले बताएका छन् । नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने उपकरणको व्यवस्था गर्ने तयारी गरिएको उनको भनाइ छ । 

नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ देखि निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ ।सबै वडाका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराउन नगरपालिकाले बजेटमै २० लाख विनियोजन गरेको  छ ।

सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत मिलेको छ ।  महिनावारी स्वच्छताका विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाले सचेतना गराउनुका साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिने गरेका छन् । 

नगरपालिकाले हाल १८ वटै स्वास्थ्यसंस्थाबाट सेनेटरी प्याड वितरण गर्दै आएकामा अहिलेसम्म १७ हजारभन्दा बढीले उक्त सेवा लिएका नगरको स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले बताएका छन् । 

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इञ्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिलामा महिनावारीका बेला सरसफाइमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताएकी छिन्  । महिनावारीका बेलामा सबैभन्दा बढी फोहर भएका कपडा प्रयोग गर्दा इन्फेक्सन भई पाठेघरको क्यान्सरसम्म हुने गरेकोमा अहिले यो समस्या कम हुँदै गएको उनकाे भनाइ छ ।
अहिले महिनावारीका बेला घर बाहिर अलैग्गै बस्ने चलन हटेर जानाका साथै यस्तो बेलामा कक्षामा बस्न लजाउने किशोरी खुलेरै महिनावारीको समस्याबारे छलफल गर्न र सरसफाईमा ध्यान दिन थालेको बताइएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...