Author
- डा अरुणा उप्रेती
अहिले कती मानिस ले भिटमिन सि र बि को चक्की किनेर खाइरहेछन्, के हो जरुरी छ र ?
बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, ‘भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन ।’
एक चियाचम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो ।
करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, ‘भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन् । यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्व पुग्दैन भन्ने कुरा भन्छन् । यो गलत तथ्य हो ।’
‘औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बार भन्दा मानिसहरूले विश्वास गर्छन्’ जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, ‘अब त यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नै पर्छ ।’
भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले चाहिँ पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन् । किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा ।
तर, अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ । त्यति मात्र होइन, तुलनात्मक हिसाबले सबैभन्दा धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ । नेपालमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सिसी देखिन्छन् ।
त्यसैगरी भोक बढाउने, खाना पचाउने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौं । तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुंगो भने पर्याप्त खानैपर्छ ।
आइरन चक्की र भिटामिन ‘बी’ का चक्कीको सट्टा दाल, भात, गन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ । ‘भोजन नै औषधि हो’ भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन । क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ । ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो ।
एक चियाचम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो । ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पुर्याउँछ ।
आइरन, क्याल्सियम र भिटामिन सि लगायतका भिटामिन तथा खनिज शरिरको पोषणको लागि ठीक्क मात्रामा नभइ हुदैँन । तर अधिकांशलाई अतिरिक्त भिटामिन लिइरहनु पर्दैन, यो त स्वास्थ्य र सन्तुलित खानाबाट नै उपलव्ध हुन्छ ।
(पोषणविद् डा अरुणा उप्रेतीको फेसबुक वालबाट)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...