Author

वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भइसकेको छ । अब नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ । अब अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ । 

भवन निर्माण र अन्य पुर्वाधार भएसकेपछि यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा पनि गर्यो । दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइप समेत जडान गरियो । दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरियो । तरपनि आवश्यक अक्सिजनको अभावमा यो सञ्चालनमा भने अझै आएको छैन । 

वीर अस्पतालकी निर्देशक डाक्टर शान्ता सापकोटाले भनेकी छिन्, ‘हामीले बेड तयार गरिसकेका छौँ । अक्सिजन पाइप फिटिङ भइसकेको छ । अब बाँकी भनेको अक्सिजनको व्यवस्था मात्रै हो । यदि त्यो व्यवस्था गर्न सकेको अवस्थामा हामी तत्कालै सर्जिकल बिल्डिङ पनि सञ्चालनमा ल्याउन सक्छौँ ।’

नयाँ भवनको पहिलो तल्ला र दोस्रो तल्लामा कोभिड बिरामीको लागि बेड तयार भइसकेको छ । बेडसिट र ओड्ने कम्बल पनि तयार छ । बेडमाथि अक्सिजन र भ्याकुम सक्सनका लागि पाइप पनि जोडिएको छ । सबै कुरा ठीकठाक छ । 

भित्रपट्टि आइसियुका लागि ९ वटा बेड पनि तयार हुँदै छन् । त्यहाँ अब भेन्टिलेटर जोड्न मात्रै बाँकी छ । वीर अस्पतालको इमर्जेन्सी र वार्डमा पनि कोभिडका बिरामी छन् र भर्ना नपाएर बसेकाको संख्या पनि त्यत्तिकै छ । यही भवनमा बिरामी भर्ना गरेर उपचार गर्ने भन्दै केही दिनअघि मात्रै वीर अस्पतालले स्टाफ नर्स र डाक्टरको माग गरेको सूचना प्रकाशन गरेको थियो । र, धेरै जना जागिरका लागि अन्तिम छनोटका क्रममा पनि छन् । 

भवनको अण्डरग्राउण्डमा अक्सिजन आपूर्तिका लागि २० वटा अक्सिजन म्यानीफोल्ड पनि तयार भइसकेको छ । तत्कालका लागि २० वटा म्यानिफोल्ड बनाएर अक्सिजनको आपूर्ति गर्ने तयारी गरिएको छ । आवश्यकता अनुसार म्यानिफोल्ड अझै थप गर्न सकिने अवस्था पनि छ । तर बिडम्बना त्यो म्यानिफोल्डमा परीक्षणका लागि राखिएको जम्मा एउटा सिलिन्डर मात्रै छ ।

प्रशासनका अनुसार, अहिले पहिलो चरणमा पहिलो तल्लामा रहेको ८५ वटा बेड सञ्चालनमा ल्याइहाल्ने गरी काम भइरहेको छ । पहिलो तल्लामा रहेको ८५ बेड सञ्चालन गर्नका लागि पनि दैनिक ८० देखि १ सय सिलिन्डर अक्सिजन चाहिन्छ । यदि तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउने हो भने दैनिक २ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ । 

अहिले, प्रत्येक तल्लामा ९ वटा भेन्टिलेटरसहितको आइसियु बेड पनि तयार भइरहेको छ । यदि अक्सिजनको पूर्ण व्यवस्था हुन सकेको अवस्थामा वीर अस्पतालको सर्जिकल भवनमा कम्तिमा पनि ५ सय कोभिडका बिरामी राख्न सकिन्छ । तर, ५ सय बिरामी राखेर उपचार गर्नका लागि दैनिक करिब ७ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ । अक्सिजनको आवश्यकता पर्ने बिरामीका लागि मात्रै भर्ना गरिने भएकाले सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले पूर्ण क्षमतामा नयाँ भवन सञ्चालन गर्दा दैनिक ७ सय सिलिन्डरको हाराहारीमा अक्सिजन चाहिने चिकित्सक बताउँछन् । 

तर अहिले पहिलो तल्लामा रहेको ८५ बेडको वार्ड सञ्चालन गर्नकै लागि पनि आवश्यक अक्सिजनको व्यवस्था हुन सकेको छैन । अक्सिजन आपूर्तिका लागि कम्तीमा पनि ६ घण्टामा सिलिन्डर परिवर्तन गरिरहनुपर्छ । एकपटकमा २० वटा सिलिन्डर म्यानिफोल्डमा जडान गर्दा करिब ६ घण्टासम्म ८५ जना बिरामीलाई पुग्न सक्नेछ ।

यसरी हेर्दा प्रत्येक ६ घण्टामा सिलिन्डर परिवर्तन गरिरहनु पर्नेछ र त्यसका लागि कम्तिमा पनि १ सय थान सिलिन्डर स्ट्याण्डबाई अवस्थामा राख्नुपर्नेछ । तर यतिबेलासम्म नयाँ भवनका लागि बेड तयार भएपनि अक्सिजन सिलिन्डर र अक्सिजनको व्यवस्था हुन सकेको छैन । 

वीर अस्पतालकी निर्देशक डा. शान्ता सापकोटा अहिले वीर अस्पतालकै पुरानो भवनमा रहेका बिरामीहरुलाई पनि अक्सिजन पुराउन नसकेकाले नयाँ भवनका लागि अर्को व्यवस्था नभए अक्सिजन पुर्याउन नसकिने बताउँछिन् ।

वीर अस्पतालमै पनि एउटा अक्सिजन प्लान्ट रहेको छ भने अक्सिजन सप्लायर्सबाट पनि अक्सिजन किनिरहेको छ । तर पनि आवश्यक अक्सिजन पुगेको छैन । कुनै विशेष व्यवस्थाबाट अक्सिजनको आपूर्ति हुन नसके बिरामीमात्र राखेर कुनै अर्थ हुँदैन ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...