Author
बीर अस्पताल अन्तरगत ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले हिजो सामाजिक सञ्जालमा अक्सिजनबिना उपचार गर्न असम्भव भएको तथा बिरामीको लागि ल्याइएको सिलिन्डर प्रहरीले जबरजस्ती लगेको भन्दै पोस्ट गरेका छन् । उनले लेखेका छन्ः
अत्यन्तै मर्माहत छु साथिहरू !
साँझ ५ः४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ।
‘सर, अक्सिजन सकिनै लाग्यो !’
‘कसरी !’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४–४ घण्टामा दिने हैन र !
‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन । सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन ? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनिको यधलभच सँग फोन गर्छु, ‘‘..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि कगउउथि भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
ऊ–सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए ।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि !
म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
मः अब के हुन्छ ?
ऊः हैन सर १० वटा पठइदिहाल्छु ।
मः यार तपाई ! मानिसहरु भेन्टिलेटरमा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई ! ती मानिसको मृत्यु भएमा जिम्मेवार को ? तपाई कि म ! कि ती ‘ठूला पुलिस’ ?
ऊ–सर त्यो त म के भनुँ ।
निःशब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ र भनेँ, ‘यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू ?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस् !’
उताः ‘.. यस्तै हो .. म बुझ्छु !!’
पिडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु !
त्यसो त यही विषयलाई लिएर कान्तिपुर दैनिकले समाचार पनि बनाएको छ, ‘बिरामी छटपटाइरहन्छन्, अक्सिजन अरूले लैजान्छन्’ उप शिर्षकमा । कान्तिपुर संवाददाता मकर श्रेष्ठले लेखेका छन्, बीर अस्पतालले बालाजुको शंकर अक्सिजन ग्यास उद्योगसँग सम्झौता गरेर आपूर्ति गरिरहेको थियो । अक्सिजनको हाहाकार भएपछि कम्पनीले थोरै उपलब्ध गराएपछि रातभरि अक्सिजन खोज्न आफैं खटिका थिए, ट्रमाका निर्देशक पौडेल ।
‘कम्पनीले बिहीबार १ बजे ५० सिलिन्डर ल्याइदिएको थियो, अर्को चार घण्टामा ५० सिलिन्डर दिने जानकारी गराएको थियो, साँझसम्म पनि अक्सिजन आएन,’ उनले भने, ‘अस्पतालमा अक्सिजन सकिन थालेपछि कम्पनीलाई खोइ त हाम्रो अक्सिजन भनेर सोध्यौं तर हामीलाई दिन ठिक्क पारेको अक्सिजन त प्रहरीले लग्यो भन्ने जवाफ दियो,’ उनले भने, ‘प्रहरीले कसका लागि लैजान्छ होला ? यता अस्पतालमा बिरामी छटपटाइरहेको हुन्छ । हाम्रा लागि लोड भएको अक्सिजन प्रहरीले लगेपछि गृह मन्त्रालयमा समेत गुनासो गर्नुपर्यो ।’
प्रहरीले लगेको सिलिन्डरलाई लक्षित गर्दै पौडेलले साँझ ट्वीटमा लेखेका छन्, ‘सिलिन्डरको बिस्तारा त बनिनैसक्यो होला, झुक्किएर नओडिबक्सेला है हजुर ।’ आफ्नो अस्पतालका लागि लोड भएको अक्सिजन प्रहरीले लगेपछि कम्पनीलाई हारगुहार गर्दा साँझ १० सिलिन्डरमात्रै उपलब्ध गराइएको पौडेलले बताका थिए ।
तर, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले प्रहरीले अक्सिजन उद्योगमा आएकालाई लाइन मिलाउने र अस्पतालमा परेको समस्याका बारेमा उद्योगसँग समन्वय गराउन सहयोग मात्रै गरिरहेको बताएको श्रेष्ठले उल्लेख गरेका छन् ।
स्मरण रहोस् अक्सिजन अभावकै कारण हालसालै बीरमा १२ र ट्रमा सेन्टरमा ६ को मृत्यु भएको छ भने बीर अस्पताललाई नेपालको केन्द्रिय कोभिड अस्पताल घोषणा गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...