Author

पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १–१ जना गरी १३ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् । 

नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–१५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज–२६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज–५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे उनको मृत्यु भएको छ ।

यस्तै नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका–८ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ११ः ९ बजे, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुषको बिहीबार अपरान्ह ४ः१० बजे र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको बिहीबार अपरान्ह ४ बजे मृत्यु भएको हो ।

‘अस्पतालमा अक्सिजन सकिएको थियो । सबैतिर हार गुहार गर्यौ, कतैबाट आएन ।’ उनले भने ‘विरामीको छोराले अस्पतालको सिलिण्डर लगेर बाहिरबाट अक्सिजन खोजेर ल्याए । त्यतिखेरसम्म उनको बुवाको मृत्यु भइसकेको थियो ।’

यसैगरि वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक–१० की ६५ वर्षीया महिलाको बिहीबार बिहान ६ बजे र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ ।

त्यस्तै नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिलाको बिहीबार बिहान सवा १२ बजे मृत्यु भएको छ । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाइ बुधबार मात्रै बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान २ः१६ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै बैशाख २८ गते नै कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुष कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परे । नारायाणी अस्पतालमा ल्याई एन्टीजीन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई थप उपचारका लागि भोलिपल्ट प्रभु अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार बेलुका ६ः५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार नै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान १२ः५ बजे उनके मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २७ गते संक्रमण पुष्टि भएकै दिन उनलाई गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । वडा सदस्य समेत रहेको उनको शव परिवारले लगेर दाह संस्कार गरेको छ ।

(अनलाइनखबरले प्रकाशित गरेको छ)
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...