Author
अस्पताल भर्ना हुन नपाउँदा घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नपर्छ भनेर डा अनुप सुवेदी केही सुझाव सार्वजनिक संजालमा दिएका छन् ।
उनका अनुसार यदि भर्ना भएर अक्सिजन तथ्य अन्य उपचार लिन नपाउँदा, स्टेरोइड औषधी खान शुरु गरिहाल्नुपर्छ । यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो ।
तर, याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिन्छ ।
अक्सिमिटर मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि यसले अक्सिजनको लेवल ९२ वा कम देखायो भने अक्सिजन कम भएको मानिन्छ । यस्तोबेला उपचारको आवश्यकता पर्छ । त्यसो त स्टेरोइड औषधीको साटो अन्य औषधीपनि डा सुवेदीले सुझाएका छन् ।
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
अथवा, Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
अथवा, Tab Prednisolone 40 mg दिनको १ पटक
यद्यपि, यो औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा लिनुपर्ने हुन्छ । यो औषधी लिदाँ मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ ।
औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन । तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ ।
त्यसो त यी औषधी बजारमा प्रशस्त छन् । सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन । डा सुवेदी लेख्छन्, ‘अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं ।’
पोस्टको अन्त्यमा डा सुवेदीले लेख्छन्,
असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...