केही समय पहिले म नेपालगञ्ज पुगेको थिएँ । जहाँ मैले एक दृश्य देखे, सरकारी विद्यालय पोसाकमा झोला बोकेर विद्यालय जाँदै गरेको एक बालक जसकाे हातमा आँप थियो (जेठको महिना तराई तिर आँप खान मिल्ने हुन्छ) ।उसलाई आँप खानु पर्ने थियो, उसले आँप खानुपूर्व बाटो छेउमा जमेको पानीले आँप पखाल्यो र खायो । मैले हेरिरहे । मैले सोचे उसले किन फोहोर पानीमा आँप धोयो ? जवाफ एक सरल भेटे सायद उसलाई फलफूलहरू खानुपूर्व धुनु पर्छ भनेर सिकाइएको थियो । अब अर्को सवाल पैदा भयो, फलफूल खानुपूर्व धुनुपर्छ भन्ने सिकेको बालकले सफा पानीले धुनु पर्छ भन्ने कुरा किन सिकेन ? यो कुरा सिकाउने कसले ? विद्यालयले वा समाजले, अभिभावक या अरु ? अझै पनि हाम्रो समाज यी र यस्ता प्रश्नहरूबाट अनुउत्तरित छ । समाजका मानिसलाई स्वास्थ्य के हो ? स्वास्थ्य शिक्षा केहो ? समाको स्वास्थ्य साक्षरता को अवस्था कस्तो छ भन्ने बारेमा बुझाइ न्यून छ । आज म यसै सन्दर्भमा रहेर स्वास्थ्य साक्षरताका लागि किन स्वास्थ्य शिक्षाको महत्त्व छ, सोबारे केही प्रस्टाउने प्रयास गर्ने छु ।
स्वास्थ्य भनेको के हो ?
स्वस्थ्य हुनु भनेको के हो भनेर सोधियो भने आम रूपमा आउने जवाफ होस बिरामी नहुनु, चोटपटक नलाग्नु, ज्यानलाई असजिलो महसुस नहुनु, शरीरले दुःख नपाउनु आदि । माथि उल्लेखित कुराले स्वास्थ्यको सामान्य एक क्षेत्र वा तहको प्रतिनिधित्व भने गर्छ । अब कुरा आउँछ के हो त स्वास्थ्य ? स्वास्थ्यलाई बुझाउन विद्वानहरूले के-कस्ता परिभाषा अघि सारेका छन् त ? त्यसलाई हेरौँ । अक्सफाेर्ड शब्दकाेशअनुसार, 'रोग वा चोटबाट मुक्त हुने स्थिति ।' 'स्वास्थ्य वा निरोगी रहनुको भाव, गुण वा अवस्था, तन्दुरुस्ती, आरामी आरोग्य वा मानसिक उद्वेग वा चिन्ता रहित अवस्था' - बृहत् नेपाली शब्दकोष । त्यस्तै, विश्व स्वस्थ्य संगठनले स्वास्थ्यलाई रोगव्यादीबाट मात्र निको नभइ शारीरिक मानसिक र सामाजिक रूपमा तन्दुरुस्त हुन स्वास्थ्य हो भनेर बताएको छ । यसरी माथिका परिभाषालाई हेर्दा स्वास्थ्य हुनु भनेको व्यक्ति रोगव्याधीबाट उन्मुक्त हुनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक रूपमा सबल हुनु स्वस्थ रहनु हो भन्ने बुझिन्छ । मैले यहाँ स्वास्थ्यलाई विशेष जोड दिनुको तात्पर्य के हो भने व्यक्ति आमाको गर्भमा रहेदेखि चितामा पुगुन्जेलसम्मका लागि अपनाउने व्यवहार स्वास्थ्यसापेक्ष रहेका छन् । यसरी गरिने व्यवहार तथा क्रियाकलापलाई सही र सरल तरिकाले बुझाउने र सबैमा सहज रूपमा पुर्याउने माध्यम भनेको स्वास्थ्य शिक्षा हो।
अझ भनौँ व्यक्तिलाई स्वास्थ्य रहनका लागि अपनाउनुपर्ने क्रियाकलाप सिकाउने कार्य वा माध्यम नै स्वास्थ्य शिक्षा हो ।
स्वास्थ्य शिक्षा भनेको के हो ?
सरल रूपमा भन्नुपर्दा व्यक्तिलाई समाजमा स्वस्थ पूर्ण जीवन जिउनको लागि स्वास्थ्य सीप सिकाई सबल बनाउने एक शैक्षिक प्रक्रिया हो । स्वस्थ्य शिक्षाले व्यक्तिमा भएको स्वास्थ्य सम्बन्धी व्यवहारलाई सकारात्मक रूपमा वैज्ञानिक कारणसहित प्रबर्द्धन गरी स्वस्थ रहनका लागि पथप्रदर्शन गर्दछ । समाजमा व्यक्ति जन्मिसकेपछि मरुन्जेलसम्म औपचारिक, अनौपचारिक तथा आकस्मिक रूपमा विभिन्न प्रकारका शिक्षाहरू ग्रहण गर्दछ । यसरी ग्रहण गर्ने शिक्षामा स्वास्थ्यका विषयलाई समावेश गरी व्यक्तिलाई स्वास्थ्य सूचना प्रवाहित गरी स्वास्थ्य रहन सिकाउनु स्वास्थ्य शिक्षा हो । स्वास्थ्य शिक्षाको माध्यमबाट व्यक्तिले समाजमा तथा आफूले अपनाइरहेको स्वास्थ्य सम्बन्धी व्यवहारलाई प्रबर्द्धन गरी स्वस्थ पूर्ण जीवनयापन गर्न सक्दछ । अझ प्रट बुझ्नका निमित्त स्वास्थ्य शिक्षाको केही परिभाषालाई यसरी हेर्न सकिन्छ। 'स्वास्थ्य शिक्षा एउटा यस्तो प्रक्रिया जस्ले समुदाय र व्यक्तिको धारणा ज्ञान र व्यवहार सुहाउँदो परिवर्तन ल्याउन सहयोग पुगाउँछ । - के. पार्क., 'स्वास्थ्य शिक्षाले मानिसहरुलाई आफ्नै क्रियाकलाप र प्रयत्नबाट स्वस्थ हुन सिकाउछ ।' - विश्व स्वास्थ्य संगठनको स्वास्थ्य शिक्षाको विशेषज्ञ समिती । यसरी हेर्दा पनि के बुझ्न सकिन्छ भने समाज र समाजमा रहेका व्यक्तिहरूलाई आफ्नो ज्ञान सीप धारणा र प्रयत्नको आधारमा स्वस्थ रहन सिकाउछ । उदाहरणका लागि हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा दुर्घटना भएको खण्डमा टाउकोमा चोटलागि ज्यान जान सक्ने खतरा हुन्छ भन्ने शिक्षा दिएको खण्डमा व्यक्तिले मोटरसाइकल चलाउँदा हेल्मेट लगाउछ । अझ अर्को उदाहरण दिउँ, माक्सको प्रयोग गरिएन भने कोरोना सर्दछ, कोरोनाबाट बच्न माक्स प्रयोग गर्नुपर्छ भनियो भने मानिसहरू माक्सको प्रयोग गर्छन् । यहाँ हेल्मेटर माक्स प्रयोग गर्न सिकाउनुले स्वास्थ्य शिक्षा प्रदान गरेको बुझाउँछ भने हेल्मेट र माक्स प्रयोग गर्नु स्वस्थ रहन अपनाइएको स्वास्थ्य व्यवहार ।
स्वास्थ्य शिक्षामा ज्ञानको सुधार र व्यक्तिगत र सामुदायिक स्वास्थ्यको लागि अनुकूल जीवन कौशलको विकास सहित स्वास्थ्य साक्षरतामा सुधार गर्नको लागि तय गरिएको सञ्चार तथा संरचनाको केही रूपहरू पनि जोडिएका छन् ।
स्वास्थ्य शिक्षाले स्वास्थ्य सम्बन्धी प्रवाह गर्ने सूचना, सञ्चारसँग मात्र सम्बन्धित छैन, यो स्वस्थ्य सुधारको लागि प्रेरणा, कौशल र आत्मविश्वास (आत्म-प्रभावकारिता) स्वास्थ्य सुधार गर्नका लागि आवश्यक कदमलाई बढावा गराउन सम्बन्ध राख्द छ । स्वास्थ्य शिक्षा अन्तर्निहित सामाजिक, आर्थिक र पर्यावरण, स्वास्थ्यमा असर पार्ने परिस्थिति, साथै व्यक्तिगत जोखिम कारकहरू र जोखिम व्यवहार र स्वास्थ्य सेवा प्रणालीको उपयोग बारेमा समेत जानकारी राख्दछ ।
स्वास्थ्य साक्षरता के हो ?
स्वास्थ्य साक्षरताको परिचय र महत्वबारे यसअघि नै हामीले चर्चा गरिसकेका छाैँ । यहाँ स्वास्थ्य साक्षरतालाई सामान्य अर्थाउने प्रयास गरिएको छ ।
साक्षरताको सामान्य अर्थ लिपि चिन्नु वा जान्नु सामान्य जोड घटाउ गर्न जान्नु भन्ने हुन्छ (बृहत नेपाली शब्दकोष) । अर्थात व्यक्तिमा भएको ज्ञानको तहलाई प्रबर्द्धन गर्दै परिष्कृत गर्नु साक्षरता हो । यही साक्षरतालाई स्वास्थ्यसँग जोडी हेर्दा समाज र व्यक्तिमा भएको स्वास्थ्य सम्बन्धी ज्ञान, व्यवहार तथा अभ्यासको तहलाई प्रबर्द्धन गर्ने प्रक्रिया स्वास्थ्य साक्षरता हो । स्वास्थ्य साक्षरताले व्यक्ति र समाजले आफूले अपनाइ रहेको स्वास्थ्य व्यवहारलाई वैज्ञानिक तरिकाले प्रबर्द्धन गर्छ र सेवा सुविधा र स्वास्थ्य सम्बन्धी ज्ञानको स्रोतको विकास गर्छ र उपलब्ध स्वास्थ्य सेवा सुविधाको अधिकतम् प्रयोग गरी स्वस्थ रहने कार्यमा सरिक हुन्छ।
स्वास्थ्य शिक्षाले कसरी स्वास्थ्य साक्षरता बढाउँछ ?
स्वास्थ्य शिक्षालाई स्वास्थ्यसम्बन्धी प्राप्त गरिएको सूचना मान्न सकिन्छ । उदाहरणका लागिः कोरोना महामारीबाट बच्न माक्स लगाउनु पर्छ । हात धुनुपर्छ, दुई गजको दूरी कायम गर्नुपर्छ भन्ने सिकाउनु स्वास्थ्य शिक्षा हो । यो व्यावहारिक व्यक्तिले अपनाउँछ भने उसले रोगबाट बच्न अपनाइएको व्यवहार हो भने कोरोनाबाट बच्न कस्तो मास्कको प्रयोग गर्ने ? कुन/केले कसरी ? कति पल्ट ? कसरी हात धुने ? कोरोना लाग्यो भन्ने के गर्ने ? कोरोनाबाट बच्ने उपाय के-के हुन् यस्ता अनेक कुराको जानकारी लिइन्छ भने त्यो स्वास्थ्य साक्षरता हो ।
स्वास्थ्य शिक्षाले स्वास्थ्य साक्षरता बढाउन कस्ता भूमिका खेल्दछ ?
स्वास्थ्य शिक्षाको बाटो हुँदै गएमात्र स्वास्थ्य साक्षरता बढाउन सकिन्छ । स्वास्थ्य सम्बन्धी सूचना, ज्ञान र जानकारी भएन स्वास्थ्य साक्षरता बढाउन सकिँदैन । उदाहरणका लागि खाना खानु अघि हात धुनुपर्छ भन्ने ज्ञान छैन भने उनीहरूले साबुन पानीले हात धुनु पर्छ भन्ने कुरा बुझ्न सक्दैन । महिनावारी हुँदा पेट दुख्छ, रगत बग्छ भन्ने ज्ञान नभएको मान्छेले महिनावारी भएर रगत बग्दा पेट दुख्दा के गर्ने भन्ने बारे बुझ्न सक्दैन । यसरी हेर्दा स्वास्थ्य शिक्षा ज्ञानको पहिलो खुड्किलो हो भने स्वास्थ्य साक्षरता दोस्रो खुड्किलो हो, जो जो स्वास्थ्य शिक्षामाथि अडेको हुन्छ । स्वास्थ्य शिक्षाको माध्यमबाट आएको स्वास्थ्यसम्बन्धी ज्ञान, सिप, व्यवहार र अभ्यासलाई प्रबर्द्धन गर्दै अघि बढाउनु नै स्वास्थ्य साक्षरता हो ।
स्वास्थ्य शिक्षाले स्वास्थ्य साक्षरता बढाउन निम्न कुरामा मदत गर्दछः
१. स्वास्थ्य व्यवहारबारे जानकारी प्रदान गर्नः
समाज र व्यक्तिहरूले अपनाइरहेको स्वास्थ्य सम्बन्धी व्यवहार, अभ्यास र उनीहरूमा भएको स्वास्थ्य सम्बन्धी सूचना र सीपबारे जानकारी प्रदान गर्दछ । यसरी समाज र व्यक्तिले अपनाएको स्वास्थ्य सम्बन्धी व्यवहार अभ्यास के छ ? स्वास्थ्य सम्बन्धी समाज र व्यक्तिको अवधारणा के छ सो कुरा बुझी उक्त कुरालाई प्रबर्द्धन गरी स्वास्थ्य साक्षरता बढाउन सहयोग गर्दछ । उदाहरणका लागि यदि समाज वा व्यक्तिले खाना खानुअघि फोहोर छोएपछि हात धुने अभ्यास गरेको छ भने उसलाई स्वास्थ्य साक्षरताको माध्यमबाट साबुनपानीले मिचीमिची हात धुन सिकाइन्छ । यसरी सिकाइने र बुझाइने कुरालाई वैज्ञानिक रूपमा प्रबर्द्धन र परिष्कृत गर्न, अध्ययन गर्न मिल्ने गरी बताइन्छ ।
२. स्वास्थ्य हेरचाह सम्बन्धी ज्ञान बिस्तार गर्नः
समाज र व्यक्तिकाे आफ्नै स्वास्थ्य हेरचाह विधि रहेको हुन्छ । यसरी अपनाइरहेको व्यवहारको बारेमा जानकारी राख्ने भनेको स्वास्थ्य शिक्षाले हो । उदाहरणका लागि समुदायको मानिस बिरामी भएको खण्डमा धामीझाक्री कहाँ लैजाने, परम्परा छ भने स्वास्थ्य शिक्षाले उक्त परम्परा पत्ता लगाउँछ र स्वास्थ्य साक्षरता बढाई धामीझाक्रीका साथसाथै हेल्थपोस्ट र हस्पिटल लैजान सक्ने अवस्था निर्माण गर्छ ।
त्यस्तै चोटपटक लाग्दा, बिरामी पर्दा प्रयोग गरिने परम्परागत आयुर्वेद जडिबुटी तथा उपचार विधिको बारेमा जानकारी राखी सो कुरालाई वैज्ञानिक रूपमा प्रबर्द्धन गर्न स्वास्थ्य साक्षरता बढाउँछ ।
साथै स्वास्थ्य सम्बन्धी कुनै आपत्ति वा समस्या देखिएको खण्डमा के गर्ने ? कहाँ जाने ? स्वस्थ लाई थप बिग्रन नदिन के कस्ता क्रियाकलाप गर्ने जस्ता कुरा स्वास्थ्य साक्षरताले बताउँछ । उदाहरणका लागि आपतकालीन अवस्थामा एम्बुलेन्स बोलाउन, चिकित्सक सेवा कहाँ छ बुझ्नसक्नु आदि ।
३. स्थानीय स्तरमा उपलब्ध स्वास्थ्य सेवाको उपयोगिताबारे जानकारी दिनः
प्रत्येक स्थानीय तहमा सरकारले जनताको स्वास्थ्य सुधार तथा उपचारको निम्ति विभिन्न प्रकारका स्वास्थ्य सेवा र सुविधा प्रदान गरेको हुन्छ । यसरी प्रदान गरिएका सेवा सुविधा के छन् भन्ने बारे समाज र व्यक्तिलाई जानकारी हुँदैन । स्वास्थ्य शिक्षाले स्थानीयस्तरमा उपलब्ध स्वास्थ्यसेवा र सुविधाबारे जानकारी प्रदान गर्दछ भने यही जानकारीमा आधारित रही स्वास्थ्य साक्षरताले के कस्ता सेवा सुविधा प्राप्त छन् ? कुन उमेर समूह, लिंग, आवश्यकता अनुसार कस्ता सेवा सुविधाको अधिकतम प्रयोग गर्ने भन्नेबारे जानकारी दिन्छ । उदाहरणका लागि स्थानीय स्वास्थ्यसंस्थाले टिबीको जाँच तथा उपचार प्रदान गर्छ भने समाज वा व्यक्तिलाई स्थानीयस्तरमा भएको स्वास्थ्य संस्थाले टिबीको जाँच तथा उपचार निःशुल्क प्रदान गर्छ भन्ने जानकारी दिएको खण्डमा टिबीको लक्षण देखिएका व्यक्ति सेवा लिन पुग्छन् । खोप सेवा, चिकित्सकीय सेवा आदि यसका उदाहरण हुन् ।
४. स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सूचना प्राप्त गर्न सकिने ठाउँ बारे जानकारी प्रदान गर्नः
समाज र व्यक्तिहरूलाई स्वास्थ्य नै धन हो भन्ने बुझाउन । तथा स्वस्थ रहेको खण्डमा परिवार समुदाय र राष्ट्रका लागि टेवा पुर्याउन सकिन्छ भन्ने कुराको अवगत गराउनु जरुरी रहन्छ । कुनै पनि व्यक्ति र समजाको स्वास्थ्य स्थिति सुधारका लागि उक्त समाज र व्यक्तिले अपनाइरहेको स्वास्थ्य अभ्यास र व्यवहारको प्रबर्द्धन गर्नका लागि स्वास्थ्य शिक्षा र सेवाबारे व्यक्ति र समाजले सूचना कहाँबाट लिन सक्छ सो बारे जानकारी स्वास्थ्य शिक्षाले प्रदान गर्दछ ।
उदाहरणका लागि समुदायको कोही व्यक्ति धूमपान गर्दछ भने धूमपान स्वास्थको लागि हानिकारक छ बुझाउनका लागि उक्त व्यक्तिलाई धूमपानको असर र प्रभवबारे जानकारी दिइनुपर्छ यसरी जानकारी दिइने निकाय वा स्थानबारे सूचना प्रदान स्वास्थ्य शिक्षाले गर्छ ।
समुदायमा भएका स्वास्थ्यकर्मी, हेल्थपोस्ट, स्वास्थ्य शिक्षक , नेता आदि स्वास्थ्य शिक्षा तथा सूचनाका स्रोत हुन् ।
यसरी स्वास्थ्य शिक्षा र सेवाबारे सूचना समाज र व्यक्तिले लिएको खण्डमा स्वास्थ्य व्यवहार प्रबर्द्धन भै स्वास्थ्य साक्षरता बढ्छ ।
४. सर्ने तथा नसर्ने रोगबाट बच्न तथा रोकथाम गर्नः
समाज र व्यक्तिमा उनीहरूको व्यवहार, भौगोलिक अवस्था, स्वास्थ्य सम्बन्धी क्रियाकलाप जस्ता थुप्रै कार्यले विभिन्न प्रकारका रोगहरुूलाग्ने र देखिने गर्छन् । यसरी देखिने रोगको प्रकृति हेरि स्वास्थ्य शिक्षाले हेर्न र बुझाउन सक्दछ । समाज र व्यक्तिमा देखिएको सरुवा र नसर्ने रोगबारे जानकारी भएको खण्डमा स्वास्थ्य साक्षरताको माध्यमबाट उक्त रोगको उपचार विद्या के, कसरी बच्न सकिन्छ ? सुरक्षाको उपाय खोजी गरी उक्त उपायअनुसार कार्य गर्न सघाउ पुर्याउछ । समाज र व्यक्तिमा भएका रोगबाट बच्न, रोग लागेमा के गर्ने, कहाँ जाने, कसलाई भेट्नेजस्ता कुरामा जानकारी दिन स्वास्थ्य साक्षरता आवश्यक पर्दछ ।
५. स्वस्थकर घर निर्माण तथा बसाइँः
समाज र व्यक्तिको स्वास्थ्यलाई प्रभाव पार्ने सबैभन्दा ठूलो पक्ष हो बसाइँ । बसाइँका लागि निर्माण गरिएका घर तथा आवश्यकीय व्यवस्थाहरू स्वास्थ्यपरक छन् या छैनन् बुझ्ने र बुझाउने कार्य स्वास्थ्य शिक्षाले गर्छ । यसरी निर्माण भएका समुदाय घरभवन विद्यार्थीहरूलाई स्वास्थ्यका दृष्टिकोणले सबल बनाइनु पर्छ । घर तथा भवनहरू व्यक्तिको शारीरिक अवस्थाअनुसार पहुँच हुनेगरी, हावा खेल्नसक्ने, उचित स्थानमा झ्याल ढोका राखिएको भेन्टिलेटर निर्माण गरिको जस्ता कुराको अध्ययन गरी भवनको प्रबर्द्धन गर्न स्वास्थ्य साक्षरताले मदत गर्दछ ।
६. वातावरणीय र पर्यावरणीय स्वास्थको प्रबर्द्धनः
समाज र व्यक्ति रहने भनेको वातावरणमा हो । समाज व्यक्ति र वातावरणको एक सापेक्ष सम्बन्ध रहेको छ । जुन एकअर्काको परिपुरक हुन् । वातावरण स्वस्थ भएको खण्डमा समाज र व्यक्ति स्वस्थ हुन्छ । यसरी स्वास्थ्य शिक्षाले वातावरणरण तथा पर्यावरणको मानव जीवनसँग तथा समाजसँग के सम्बन्ध । दुईको सम्बन्धले एकअर्कामा कसरी प्रभाव पार्छ भन्ने कुरा स्वास्थ्य शिक्षाले बुझाउँछ । स्वास्थ्य शिक्षाको सहायतामा वातावरणीय तथा पर्यावरणीय स्वास्थ्यको जानकारी प्रदान गरी स्वास्थ्य साक्षरता बढाई स्वास्थ्य प्रबर्द्धनमा सघाउ पुर्याउछ ।
यसरी हेर्दा स्वास्थ्य शिक्षा प्रदान नगरिकन स्वास्थ्य साक्षरता बढाउन सकिँदैन । स्वास्थ्य शिक्षाले व्यक्तिको स्वास्थ्य व्यवहार सम्बन्धी ज्ञान, व्यवहार र अभ्यास को पहिचान गर्छ र उक्त पहिचान गरिएको पक्षलाई वैज्ञानिक रूपमा प्रबर्द्धन गर्न स्वास्थ्य साक्षरताको आवश्यकता पर्दछ । स्वस्थ रहन आवश्यक पर्ने कुराको अधिकतम प्रयोग गर्न र स्वस्थ रहन सिकाउने काम स्वास्थ्य साक्षरताले गर्छ ।
स्वास्थ्य साक्षरता बढाउन स्वास्थ्य शिक्षा कसरी प्रदान गर्न सकिन्छ ?
समाज र व्यक्तिमा स्वास्थ्य साक्षरता बढाउनको लागि स्वास्थ्य शिक्षा प्रादन गर्नु पर्छ । स्वास्थ्य शिक्षाले स्वास्थ्य व्यवहार निर्माणका लागि गर्नुपर्ने कामको खाका तयार गर्छ र सोही खाकामा रही काम गर्न र स्वास्थ्य प्रबर्द्धन आश्यक जानकारी लिने काम स्वास्थ्य साक्षरताले गर्छ ।
यसरी स्वास्थ्य शिक्षा विभिन्न प्रकारले दिन सकिन्छ । तर, यहाँ बुँदागत रूपमा प्रष्ट पार्न खोजिएको छः
१. औपचारिक रूपमा स्वास्थ्य शिक्षा प्रदान गरी समाज र समुदायका व्यक्तिहरूलाई स्वास्थ्यबारे बुझाउनका लागि औपचारिक रूपमा स्वास्थ्य शिक्षा दिन सकिन्छ । समुदायमा रहेका विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी तथा अन्य शिक्षित व्यक्तिहरूको सहायताले निश्चित पाठ्यक्रम तोकी समुदायका सबै उमेर समुहका व्यक्तिको सहभागिता हुने गरी निश्चित समयावधिसम्म स्वास्थ्य शिक्षाबारे जानकारी गराउन सकिन्छ । जसले गर्दा उनीहरूमा स्वास्थ्य शिक्षा बढ्छ र स्वास्थ्य साक्षरताको तह बढ्न पुग्दछ ।
२. अनौपचारिक रूपमा स्वास्थ्य शिक्षा प्रदान गरी समाज र व्यक्तिमाहरू स्वास्थ्य सम्बन्ध जानकारी दिनका लागि समाज रहेका संघसंस्था, आमा समूह, बाल क्लब, उपभोक्ता समूहहरूसँग समन्वय गरी स्वास्थ्य शिक्षा सम्बन्धी गोष्ठी, बैठक, छलफल, प्रदर्शनी, नाटक सञ्चालनजस्ता कार्य गरी उनीहरूमा स्वास्थ्य शिक्षा प्रदान गरी स्वास्थ्य साक्षरतामा अग्रसर बनाइ स्वास्थ्य प्रबर्द्धन गर्न सकिन्छ ।
३. आकस्मिक रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्नेः समाज र व्यक्तिमा देखिएका स्वास्थ्य समस्या तथा व्यवहारहरूलाई अध्ययन गरी सो निवारण गर्न स्वास्थ्य शिक्षा प्रदान गर्न सकिन्छ । स्वास्थ्य सम्बन्ध पोस्टर, पम्पेट, होडिङ्ग बोर्ड राखी तथा स-साना सूचनाहरू सम्प्रेषण गरी समाजमा स्वास्थ्य शिक्षा फैलाउन सकिन्छ । कोरोना महामारीबाट बच्न स्थानीय स्तरले माइकिङ गर्ने, घरमा पुगेर जानकारी दिन गरेको कार्य यसकाे गतिलो उदाहरण हो ।
निष्कर्षः
समाजमा स्वास्थ्य साक्षरता बढाउनका लागि समाजका व्यक्तिहरूलाई स्वास्थ्यबारे जानकारी गराउनु पर्दछ । यसरी जानकारी गराउने कार्य स्वास्थ्य शिक्षाको हो । स्वास्थ्य शिक्षाले समाजमा स्वास्थ्यको महत्त्व आवश्यकताको अवगत गराउँछ र मानिसलाई स्वास्थ्य हुन प्रेरित गर्दछ । यसरी मान्छे र समुदाय स्वास्थ्यसँग सचेत भएपछि आफू स्वस्थ हुन उसले विभिन्न उपाय अपनाउन सेवासुविधा लिने गर्छ । यसरी गर्ने कार्यले स्वास्थ्य साक्षरता बढाउँछ । तसर्थ, स्वास्थ्य साक्षरता बढाउन स्वास्थ्य शिक्षा प्रदान गर्नु अपरिहार्य छ ।
(लेखक त्रिवि शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पसमा स्वास्थ्य शिक्षा विषय लिई स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...