भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

विसं २०७८ वैशाखमा सुर्खेतका अन्दाजी १६ र १७ वर्षकी दुई बहिनी एकै रूखमा झुण्डिएको अवस्थामा फेला परे । त्यस्तै ०७८ साउनमा सुर्खेतमै एक किशोरीले स्नातक तहको अन्तिम परिक्षा बिग्रिएकाे भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरिन् । परिवारलाई म अपहरणमा परे भने फोन गरेकी चितवनकी किशाेरीले असफल प्रेमको कारण आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकाल्यो । उल्लिखित घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी आत्महत्या गर्नेहरूको संख्या भने लामै छ । कोरोनाको कहरपछि आत्महत्या अझै बढेको विभिन्न अध्ययनहरूको निष्कर्ष छ । आखिर के हो त आत्महत्या ? किन हुन्छ आत्महत्या ? यो प्रश्न अहिलेकाे एक टट्कारो विषय बनेको छ ।

आत्महत्या के हो ?
आत्महत्या 
(Suicide) भन्ने शब्द सबैसँग चिरपरीचित शब्द नै हो । आत्महत्या आत्म र हत्या मिलेर बनेको छ । जसको सामान्य अर्थ आत्म (आफ्नाे)को हत्या अर्थात आफूले आफूद्वारा आफ्नै आत्म वा आफ्नो हत्या गरिनु भन्ने बुझिन्छ । यसरी हेर्दा कुनै पनि व्यक्तिले आफूलाई नियतवश आफैँ मार्नु आत्महत्या हो । पछिल्ला केही अध्ययनहरूलाई आधार मान्दा यो समस्या जनावरहरूमा पनि हुने गरेको पाइएको छ । कुनै पनि कारण, पीडा वा समस्यामामा उल्झिएपछि व्यक्त वा जनावरले त्यो समस्यादेखि सदाका लागि छुटकारा पाउन प्रयोग गर्ने विधिमध्येको एक सबैभन्दा अराजक र निर्मम विधि हो यो । यसमा व्यक्तिले आफूले आफैँलाई कुनै न कुनै कुराको प्रयोग गरी मार्ने प्रयास वा मार्दछ ।

संसारमा आत्महत्याः
आत्महत्या सम्बधी विभिन्न स्रोतलाई आधार मानेर हेर्ने हो भने, विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्छ भने हरेक ३ सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्दछ । यसरी हेर्दा वर्षेनि करिब ८ लाख मानिसहरूले आत्महत्या गर्दछन् । त्यस्तै, आत्महत्या गर्नेहरूको संख्या सन २०२५ सम्म २१ लाख पुग्ने अनुमान गरिएको छ । यसरी आत्महत्या गर्नेहरूमा महिलाको तुलनामा पुरुष बढी रहेको पाइन्छ भने विकसित मुलुकमा महिलाको तुलनामा पुरुषको संख्या दोबर रहेको तथ्यांक भेटिन्छ । आत्महत्या गर्नेहरूमा बढी जसो किशोरकिशोरी र ७० वर्ष उमेर कटेका व्यक्तिहरू पर्दैछन् भने १०-२९ वर्ष उमेर समूहका मर्ने मानिसको समूहमा आत्महत्या मृत्युको दोस्रो कारण रहेको छ । विश्व स्वास्थ्य सङ्गठन को तथ्यांक हेर्दा सन २०१२ मा ८ लाख चार हजारले आत्महत्याबाट ज्यान गुमाएका छन् । भने २०१६ मा यो संख्या बढेर ८ लाख १७ हजार पुगेको छ । भने २०१९ सम्म मा विश्वभरिमा मृत्यु हुनेहरूको १.३ प्रतिशत आत्महत्याले ओगटेको छ भने १७ औँ स्थानमा मृत्युको कारण आत्महत्या बनेको छ । ( WHO methods and data sourcesfor country-level causes of death2000-2019)

यसरी हेर्दा १०-२९ वर्षमा मानिसमा आत्महत्या बढी देखिएको छ । जसमा ९४,५५३ महिला र १,२७,५४० पुरुष गरी जम्मा २,२२,०९३ जना रहेका छन् । भने २०१७/१८ को तथ्यांकलाई आधार मान्दा सबैभन्दा बढी आत्महत्या हुने देश लिथिनिया ३१.९ प्रतिलाख र दोस्रोमा रसिया ३१ जना प्रतिलाख रहेका छन् भने सबै भन्दा कम ०.५ जना प्रतिलाख बर्बुडामा रहेका छन् । यो सूचीलाई आधार मान्दा नेपाल आत्महत्या गर्ने देशको सूचीको ७३ औँ स्थानना पर्छ भने जसमा ८.८ जना प्रतिलाख आत्महत्या गर्छन् । संसारमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या जैविक प्रकोप बाढी पहिरोबाट ज्यान गुमाउनेको भन्दा बढिरहेको छ ।

सार्क देश र नेपालमा आत्महत्याको अवस्थाः
दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मा हाल दक्षिण एसियाका ८ देश समाहित छन् । यी सबै देशहरूले आत्महत्याको समस्या भोगिरहेका छन् । विश्व स्वस्थ्य सङ्गठनको २०१७ को तथ्यांकलाई आधार मान्दा, भारत सार्क देशहरूमध्ये सबैभन्दा बढी आत्महत्या हुने देश हो । जहाँ प्रत्येक वर्ष १६.३ जना प्रतिलाखले आत्महत्या गर्दछन् । भारतमा आत्महत्या गर्नेहरूमा किसान विद्यार्थी बेरोजगार युवा रहेको पाइन्छ भने दोस्रोमा श्रीलंका १४.६ जना प्रतिलाख, तेस्रो नेपाल ८.८ जना प्रतिलाख, बङ्गलादेश ५.९ जना प्रतिलाख, अफगानिस्तान ४.७ जना प्रतिलाख, पाकिस्तान २.९ जना प्रतिलाख, माल्दिप्स २.३ जना प्रतिलाख यसरी हेर्दा पनि नेपालमा आत्महत्याको स्थिति भयावह छ भन्न नसकिने अवस्था भने नभएको होइन ।

नेपालमा आत्महत्याको अवस्थाः
नेपालमा आत्महत्या सम्बन्धी विशेष खालका अनुसन्धान नभएकोले उपलब्ध तथ्यांकको उचित अभिलेख प्रणाली नहुनु, आत्महत्या लुकाउनु जस्ता कुराले आधिकारिक तथ्यांकमा केही फेरबदल देखिन सक्छ तर नेपाल प्रहरिको उपलब्ध तथ्यांकलाई आधार मान्दा ३.७ देखि १०.३ जना प्रति एकलाखमा आत्महत्या गर्ने गरेको भेटिन्छ । यसरी हेर्दा आर्थिक वर्ष २०७२/७३ मा चार हजार पाँच सयले आत्महत्या गरेका थिए भने आव २०७३/७४ मा यो संख्या बढेर पाँच हजार तीन सय सत्र जना पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठनलाई आधार मानेर हेर्दा नेपालमा प्रती वर्ष ८.८ जना प्रतिलाखमा आत्महत्या गर्छन । यसरी आत्महत्या गर्नेको संख्यामा पुरुषको संख्या बढी छ भने १५-२९ वर्ष उमेर समूहका व्यक्तिको समूह बढी देखिएको छ । आत्महत्या गर्नेहरूमा किशोरकिशोरी, विद्यार्थी, बेरोजगार र आर्थिक अवस्थाले कमजोर व्यक्तिहरू संख्या बढी छ भने सामाजिक र परिवारिक पीडामा रहेका, व्यक्तिगत सम्बन्धमा खराबी रहेका साथै निको नहुने तथा दीर्घकालीन रोग लागेका व्यक्तिहरू पनि उतिकै छन् । प्रिय मान्छे गुमाउनुको पीडा लगायत अन्य पीडाबाट गुज्रिएर डिप्रेसनको सिकार भएर आत्महत्या गर्नेको संख्या बढेको छ ।

नेपालमा कोरोना कहरपछि भने आत्महत्या बढेको देखिन्छ । UNICEF Nepal को 2020 सेप्टेम्बर 10 को एक तथ्यांकलाई आधारमान्दा लकडाउन अवधिमा १३५० ले आत्महत्या गरेका छन् जसमा ३१९ बालबालिका  रहेका छन् ।
कोरोना कहरको अवधिमा मात्र हेर्ने हो भने, प्रदेश ५ आत्महत्या गर्नेमा अगाडि छ, जहाँ  २४२ जनाले आत्महत्या गरेका छन् भने सुदुरपश्चिम प्रदेश ११५, कर्णाली ५८, गण्डकी प्रदेश १२१, बाग्मती प्रदेश २३१, प्रदेश नं १ मा १८६, प्रदेश नं २ मा १५२ जनाले आत्महत्या गरेका छन्  । (स्रोतः नेपाल प्रहरी)

यसरी हेर्दा नेपालमा पनि आत्महत्या बढेको देखिन्छ र आत्महत्या गर्नेहरूमा बढी १४-२९ बर्ष उमेर समूहका बढी छन् ।

आत्महत्याका कारणः
आत्महत्याको कारण यहि हो भनेर एकिनका साथ भन्न नसकिए पनि झट्ट हेर्दा देखिने कारण भनेको मानसिक समस्या वा डिप्रेसन नै बढी पाइएको छ । तर पनि सामान्यतया यसका कारणलाई यसरी हेर्न पनि सकिन्छ ।

१. जैविक शारीरिक कारणः
यसमा व्यक्तिको शरीरिक मानसिक अवस्थाले प्रभाव पार्दछ । निको नहुने वा पुराना जटिल खालका रोगदेखि आजित हुनु । डिप्रेसन, चिन्ता, डर, व्यवहार परिवर्तन जस्ता मानसिक समस्या, ड्रग, लागू औषदको प्रयोग, खराब संगत, बच्चा उमेर वा हालसालै भएका कुनै अप्रिय घटना, दुर्व्यवहार, परिवारमा आत्महत्याको इतिहास आदि जस्ता कुरा यहाँ समेट्न सकिन्छ ।

२. वातावरणीय, सामाजिक र आर्थिक कारणः
आफू बाँचिरहेको वातावरणमा कुनै अप्रिय घटना घट्नु, जस्तै प्रेम सम्बन्ध टुट्नु, सपना पूरा नहुनु, समाजबाट उपेक्षित हुनु, साथीभाइको समूहबाट एक्लिनु, सामुहिक दुर्व्यवहार हुनु, भोकमारी , आर्थिक अवस्था कमजोर हुनु ,आर्थिक चपेटामा पर्नु जस्ता अनेकौँ स-साना कारणले व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आई व्यक्तिले आत्महत्याको बाटो रोज्न सक्छ ।

रोकथामः
रोकथाम आत्महत्या एक भयावह अवस्था हो । मानिसले आफूलाई कमजोर निकम्मा, कामै नलाग्ने र हेलित अनुभव गरे पछि आफूलाई उक्त पीडाबाट बचाउन आत्महत्याको बाटो रोज्दछ । आत्महत्या नै समस्या समाधानको सबै भन्दा उत्कृष्ट उपाय ठानेर उनीहरूले यो बाटो रोज्दछन् । आत्महत्या गर्न लागेको व्यक्तिले कुनै न कुनै माध्याम बाट आफूले आत्महत्या गर्दै छु भन्ने जानकारी भने दिएको हुन्छ । कसैसँग प्रष्ट भनेर होस या समूहबाट एक्लिएर, रमाइलो क्षणमा पनि निराश भएर, मृत्युका कुरा गरेर उसले संकेत भने दिइरहेको हुन्छ । यसरी संकेत पाएपछि उक्त अवस्थाबाट जोगाउने उचित उपाय भनेकै उचित सल्लाह र सुझाब हो । अर्को उपाय कारण अनुसारको उपचार गर्नु हो । जस्तै डिप्रेसन भएको पुराना रोगले आजित भएको मान्छेलाई औषधि उपचार गर्ने, नयाँ र रमाइलो ठाउँ घुमाउन लैजाने, उसलाई साथी र परिवारकै बीचमा राखिराख्ने, आदि जस्ता कार्य गर्न सकिन्छ ।

यो समयमा व्यक्तिलाई उसको जीवन सबैभन्दा अमूल्य हो भन्ने कुराको अवगत गराई उससलाई पुरानै जीवन शैलीमा फर्किन प्रेरित गर्नुपर्दछ । जसले गर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य बुझोस् र आफूलाई परिवार राष्ट्रको एक सक्षम सदस्यको रूपमा उभ्याउन सक्दछ । आत्महत्या एक कानुनी अपराध हुनुका साथै एक ठूलो सामाजिक समस्या पनि हो जसका कारण परिवार समाज र देशले एक सक्षम नागरिक गुमाउन सक्दछ । प्रेम सम्बन्ध बिग्रनु, बेरोजगार हुनु, सपना पूरा नहुनु, प्रिय मान्छे गुम्नु, लगायता थुप्रै कारणले व्यक्ति मानसिक समस्या डिप्रेसन हुँदै मृत्यु खोज्दछ । त्यसैले यो हुनबाट बचाउनको लागि सबैले आ-आफ्नो ठाउँबाट उचित प्रयास गर्नु पर्दछ।

(लेखक त्रिवि शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पसमा स्वास्थ्य शिक्षा विषय लिई स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...