हरेक प्राणीले नित्य कर्म गर्छन् । मनिसले पनि नित्यकर्म गर्छ र यसरी गरिने नित्यकर्मको एक प्रमुख क्षेत्र मलमुत्र त्याग पनि हो । यही मल त्याग गर्ने प्रक्रियासँग सम्बन्धित एक समस्या हो कब्जियत । कब्जियत पाचन प्राणालीसँग सम्बन्धित एक स्वास्थ्य समस्या हो ।
खाएको खानालाई पाचन प्रणालीले विभिन्न माध्यमबाट पचाउने गर्छ । खानामा भएको सम्पूर्ण पोषण, मिनरल, भिटामिन लगायत शरीरिकलाई आवश्यक पर्ने पर्दाथको पाचन गरिसकेपछि बचेको कुरालाई आन्द्राबाट दिसाको रूपमा बाहिर निकाल्ने गर्दछ । यसरी आन्द्राबाट बाहिर आउने दिशा साह्रो भएर, जमेर, गोट्टा परेर दिसा गर्न गाह्रो हुने समस्या हो कब्जियत (जोशी.एम.एम डि: web medicine, june21,2021) । यसलाई सामान्य अर्थमा दिसा गोटा पर्नु पनि भनिन्छ । यसरी गोटा परेको दिसा त्याग गर्दा पीडा हुने, समय लाग्ने जस्ता समस्याले मानिसलाई कठिन बनाउने गरेको छ ।
कब्जियतका कारणहरूः
कब्जियतका कारणहरू अनेक हुनसक्छन्, तीमध्ये केही कारणहरू यहाँ प्रस्तुत गरिएको छः
१. पर्याप्त पानीको सेवन कम गर्नुः दैनिक जीवनमा शरिरलाई आवश्यक पर्ने पानी सेवन नगर्दा ठूलाे आन्द्रामा पानीको शोषण कम हुने हुँदा यो समस्या देखिन पुग्छ ।
२. खाना खाने समयमा अनिमियतता हुनुः खाना विभिन्न समयममा र अनियमित रूपमा खाने गर्दा पाचन प्रणालीको कार्यमा गढबढी आई यो समस्या देखिन पुग्छ ।
२. सागपात फलफूल तथा फाइबरयुक्त खानाको प्रयोग कम गर्नुः सागपात र फलफूलमा विभिन्न प्रकारका पोषण पाइनुका साथै फाइबर हुन्छ, फाइबरले दिसालाई मुलायम बनाउनुका साथै चिप्लो बनाउन सहयोग गर्छ । यदि हामीले सागपात र फलफूलको प्रयोग कम गरेको खण्डमा फाइबरको कमी भइ यो समस्या देखिन्छ ।
३. सुख्खा खाना तथा पत्रु (Junk) खानाको अधिकतम प्रयोग ।
४. शारीरिक अभ्यास वा क्रियाकलापको कम गर्नु ।
५. तनाव, चिन्ता, डर, मानसिक समस्या जस्ता कुरा ।
५. पेशागत समस्याः लामो समयसम्म बसिरहनु, लामो समयसम्म उठिरहनु, लामो यात्रा गर्नु, दिशा लामो समयसम्म रोकेर राख्नु । (Jay W. Marks, MD: medical net)
६. औषधिको प्रयोगः ल्याक्जेटिभ औषधि, दुखाई कम गर्ने औषधि ,नार्कोटिक ड्रग वा मानसिक रोगसँग औषधिको अघिकतम् प्रयोग, ग्यास्ट्रिकका लागि प्रयोग गरिने एन्टा एसिडको प्रयोग, आइरन पिल्स जस्ता औषधिको प्रयोग गर्नु ।(A.Felman November 13, 2019)
लक्षणहरूः
कब्जियतका सामान्य लक्षणहरूलाई यसरी हेर्न सकिन्छः
१. दिसा गर्ने गति सुस्त हुनु ।
२. दिशा निकाल्न/गर्न गाह्रो हुनु ।
३. सुख्खा, साह्रो र गन्धयुक्त दिसा आउनु ।
४. दिसा गर्न समय लाग्नु ।
५. एकै पटकमा दिसा नआउनु ।
६. मलद्वारमा दुखाई हुनु ।
७. दिसामा नयाँ रगत देखा पर्नुजस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
जटिलताः
कब्जियतका कारण हुनसक्ने जटिलता धेरै भए पनि यहाँ सामान्य खालका जटिलताहरूलाई समेटिएको छ । जुन यसप्रकार छन्ः
१. पेट ढुस्स हुने, फुलिएको आभास हुने र असहजता हुने ।
२. मलद्वारमा घाउ भइ संक्रमण हुनसक्ने ।
३. पाइल्स जस्तो समस्या देखिन सक्ने ।
४. पाचन प्रणालीमा अनियमितता हुने ।
बच्ने उपाय तथा उपचारका विधिः
१. फलफूल तथा हरियो सागपात तथा फाइबर युक्त खानाको प्रयोग बढी गर्ने ।
२. नियमित ठिक समयमा खाना खाने ।
३. पर्याप्त पानी पिउने ।
४. सुख्खा तथा पत्रु (Junk) खानाको प्रयोग कम गर्ने ।
५. नियमित शारीरिक अभ्यास तथा क्रियाकलाप गर्ने ।
६. औषधिको प्रयोग कम गर्ने र गर्नै परेको खण्डमा चिकित्सकको सल्लाह बमाेजिम प्रयोग गर्ने ।
७. कब्जियतको समस्या जटिल बनेको खण्डमा तुरुन्त सम्बन्धित चिकित्सककहाँ सम्पर्क गर्ने ।
अन्ततः कब्जियत पाचन प्रणालीसँग सम्बन्धी रोग रहेको हुँदा यो रोग व्यक्तिको आहारव्यवहारसँग सम्बन्ध राख्दछ, व्यक्तिले दैनिक जीवनमा स्वस्थ पूर्ण खानाको प्रयोग, आवश्यक मात्रामा पानीको प्रयोग, मानसिक समस्याबाट टाढा रही नियमित शारीरिक अभ्यास गरेको खण्डमा यो समस्याबाट बच्न सकिन्छ भने पेशागत कारण पनि यो समस्या देखिने हुँदा, कार्य अवधिमा निश्चित समय निकाली केही हिँडने, शरीर तन्काउने, उफ्रिने जस्ता क्रियाकलाप गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।
(लेखक पूर्ण अधिकारी पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन् भने केआर पाण्डुलिपि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वास्थ्य शिक्षा अध्ययनरत छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...