Opinion

दिनानुदिन नेपालमा कोभिड–१९ संक्रमण तथा मृत्युदर उच्च हुँदै गइरहेको छ । कोभिड मृत्युदर बढ्दै गएका कारण सेनाले अब सामुहिक शव दहनतिर जानुपर्ने औंल्याएको छ । यसले पनि भयाभह स्थिति आइसकेको छनक दिन्छ ।

तर बुझ्नुपर्ने कुरा यो हामीलाई मात्रै आएको संकट होइन । एक वर्ष पहिला सुरुमा यो संकटको सामना चीनले गरेको थियो । त्यसपछि संकट क्रमशः इटाली, जर्मनी, फ्रान्स, स्पेन र बेलायतजस्ता सवल युरोपियन मुलुकले भोग्नुपर्यो । भाइरसले सवल कहलिएका विकसित मुलुकहरुलाई समेत अस्तव्यस्त र हायल–कायल पारेको थियो । अमेरिका र ब्राजिलमा त यसलै ठूलै ताण्डव देखाएको थियो ।

अहिले भाइरस देखिएको झण्डै डेड वर्षपछि यसको युके भेरियन्टले भारत र नेपाललाई प्रताडित पारेको छ । हामी एकदमै आत्तिएका पनि छौं । तर बुझ्नु पर्ने कुरा मानव समुदायले सामना गर्नपरेको यो एकमात्र महामारी होइन । अनगिन्ती महामारीको सामना गरेर नै सभ्यता यहाँसम्म आइपुगेको हो ।

युरोपियन ब्ल्याक डेथले २० करोड मानिस मात्रै मारेन, मान्छेको इश्वरप्रतिको आस्था भत्काइदियो र चर्चको चंगुलबाट मुक्ति दिलायो ।  

३००० ईसापूर्व दक्षिणी चीनको ‘हेमिन्मंघा’ र ‘मियाओजिगोयु’ क्षेत्रमा फैलिएको महामारीले समस्त बस्तीलाई नै ध्वस्त बनाएको थियो । सिङ्गो बस्ती चिहानमा परिणत भएको थियो । ४३० इसापूर्व एथेन्समा पाँच वर्षसम्म फैलिएको प्लेगका कारण एक लाख मानिस मारिएका थिए भने महामारीले थलिएको एथेन्स स्पार्टासँग पराजित भएको थियो ।
सन् १६५ देखि १८० को बीच रोमन साम्राज्यमा फैलिएको एन्टोनाइन प्लेगका कारण एशिया, ग्रीस, इटालीमा समेत गरि ५० लाखभन्दा बढी मानिस मारिएका थिए । सन् २५०–२७१ सम्म फैलिएको साइप्रियन प्लेगका कारण रोम शहरमा मात्र प्रतिदिन पाँच हजार मानिसको मृत्यु भएको थियो । 

त्यस्तै सन् ५४१ देखि ५४२ सम्म फैलिएको जस्टिनियन प्लेगले एशिया, उत्तर अफ्रिका, अरेबिया र युरोपसम्मलाई गम्भीर रुपले प्रभावित पारेको थियो । यसबाट करिब पाँच करोड मानिस मारिएको अनुमान छ । सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई ब्ल्याक डेथको नामले चिनिन्छ । एशियाबाट शुरु भई युरोप लगायत संसारभर फैलिएको यो महामारीका कारण विश्वभर २० करोड मानिस मारिएका थिए । यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न अरु २०० वर्ष लागेको थियो । 

सन् १५११ देखि १५३२ सम्म युरोपेलीहरुले अमेरिकी महाद्विपमा सारेको प्लेगका कारण एक करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । यसबाट अमेरिकी महाद्विपमा रहेका ९० देखि ९५ प्रतिशतसम्म आदिवासी मारिएका थिए, ‘एज्टेक’ र ‘इन्का’  सभ्यता नै नासिएको थियो । सन् १५४५–१५४८ को अवधिमा मेक्सिकोबाट शुरु भएको कोको लिज्ट्ली महामारीका कारण संसारभर एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान छ ।

त्यसैगरि, सन् १६६५ को अप्रिल महिनादेखि १६६६ को सेप्टेम्बर महिनासम्म फैलिएको ग्रेट प्लेग अफ लण्डन महामारीमा कारण एक लाख मानिसको मृत्यु भएको थियो । सन् १७२९–१७२३ मा फ्रान्सको मार्सेल शहरबाट फैलिएको ग्रेट प्लेग अफ मार्सेलका कारण मार्सेल शहर र आसपासको क्षेत्रमा एक लाख मानिसको मृत्यु भएको थियो । अनि सन् १७७० देखि १७७२ सम्म रुसको मस्को शहरमा फैलिएको रसिएन प्लेगले एक लाख मानिसको ज्यान लिएको थियो । 

त्यस्तै प्रथम विश्वयुद्ध सकिए लगतै फैलिएको स्पेनिश फ्लुका कारण त्यतिबेलाको विश्वको जनसङ्ख्याको एक तिहाइ हिस्सा अर्थात ५० करोडभन्दा बढी मानिस सङ्क्रमित हुनाका साथै पाँच देखि १० करोडसम्म मानिसको मृत्यु भएको थियो । भारतमा मात्र एक करोड ८० लाख भन्दा बढीले ज्यान गुमाएका थिए । यिनका अलावा हामी बिफर, हैजा, औलो, एचआइभी एड्स, स्वाइन फ्लु, इबोला, सार्स, मर्स, जिका जस्ता कैयौं भाइरस र महामारीबाट गुज्रेर यहाँसम्म आइपुगेका छौं । 

सरकारले सोच्नुपर्ने हो कि दैनिक ज्यालादारीहरुले भोक कसरी मेट्छन् ? तर कोभिड–१९ भन्दा धेरै गुणा खतरनाक भाइरस हामीले सत्ताको कुर्सीमा राख्दै आइरहेका छौं । यो भाइरसबाट भने हामी कहिल्यै मुक्त हुन सकेनौं ।

महामारी त्यत्तिकै आउँदैन, यो त मानव समाजको इभुलोसनको एउटा हिस्सा हो । यसले केही न केही दिएर जान्छ । युरोपियन ब्ल्याक डेथले २० करोड मानिस मात्रै मारेन, मान्छेको इश्वरप्रतिको आस्था भत्काइदियो र चर्चको चंगुलबाट मुक्ति दिलायो । त्यसपछि आधुनिक सभ्यताको जग बस्यो ।  त्यस्तै पटक–पटकका प्लेगले रोमन लगायतका ठूला–ठूला अहंकारी साम्राज्यहरुलाई बारम्बार घुँडा टेकाइदिएको इतिहास छ हामीसँग ।  

तर संकटले सकरात्मक परिणाम मात्र दिदैन । यसको भोगाइ कष्टकर हुन्छ । अझ संरचनात्मक हिसाबले पिँधमा रहनेहरुको लागि यो अकल्पनिय हुन्छ । अहिले हामी कोभिड–१९ को यूके भेरियन्ट विरुद्धको मोर्चामा छौं । र, हामी यसलाई नियन्त्रण गर्न कठोर भन्दा कठोर लकडाउनरुपि साधनामा लागेका छौं । यो साधनाले भाइरस नियन्त्रणमा कत्तिको सहयोग पुर्याउँछ त्यो त हेर्न बाकीँ नै छ । राज्यका संयन्त्र कमजोर हुँदा र राज्यको नेत्तृत्व अदुरदर्शी तथा गैरजिम्मेवार हुँदा हामीसँग लकडाउन भन्दा अर्को विकल्प पनि छैन । 

तर ठीक यतिबेला भोगभोकै रात काट्नेहरुको जमात पनि त्यत्तिकै छ । दैनिक ज्यालादारीमा गुजारा गर्नेहरु, सामान्य सडक पेटीमा सर–सामान बेचेर छाक टार्र्नेहरु, न्युन वेतनमा अस्थाई काम–काज गर्नेहरु, श्रम बेचेर जीवन चलाउनेहरु अधिकांशहरुलाई अहिले कोभिडले नच्यापेपनि श्वास फेर्न गाह्रो भइरहेको छ । तर फेरी एउटा निश्चित वर्गलाई भने यो मालामालको समय हो । विश्वका बिलियनर्सहरुले यही कोरोना कहरको वर्ष मात्रै आफ्नो सम्पत्ती दुई गुणाले बढाएका छन् ।

लकडाउन मात्रै समाधानको एक्लो कडी भने होइन । यस अघि सरकारले सोच्नुपर्ने हो कि दैनिक ज्यालादारीहरुले भोक कसरी मेट्छन् ? तर कोभिड–१९ भन्दा धेरै गुणा खतरनाक भाइरस हामीले सत्ताको कुर्सीमा राख्दै आइरहेका छौं । यो भाइरसबाट भने हामी कहिल्यै मुक्त हुन सकेनौं । यो भाइरसले अहिले कोरोनासँग आत्मसमर्पण गरेर हामीलाई आफ्नो सुरक्षा आफैं गर्ने फर्मान जारी गरिसकेको छ । संकटको समयमा भरोसा दिने सरकार चाहिएको थियो तर यो फर्मानले हमीलाई राज्यविहिन बनाइदियो र झनै निरास तुल्याइदियो ।

हो कोभिड र लक–डाउन दुवैले हामीलाई श्वास फेर्न गाह्रो पारेको छ । तर राज्यले हात उठाएपनि नेपालको विशेषतः उपत्यकाको समुदाय त्यति निरिह र कमजोर भने छैन । यिनले चालेको सुरुवाती कदमले भन्छ– कोभिड–१९ सजिलै यहाँबाट पाखा लाग्नेछ । अहिले भक्तपुर र पाटन लगायतका सहरमा समुदायस्तरमा अक्सिजन सहितका आइसोलेसन वार्डहरु तम्तयार पारेर राखिएका छन् । च्यासलमा त गुठीघरलाई समेत कोभिड उपचार भवनको रुपमा रुपान्तरण गरिएको छ । किर्तिपुरले प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै कोभिडलाई समुदायमा बिस्फोट हुनबाट रोकिरहेको छ । मुलपानी, चन्द्रागिरी, टोखालगायतमा पनि धमाधम व्यवस्थित आइसोलेसन बनिरहेका छन् ।

भारतमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको थियो । तर, उपत्यककामा योङ्ग डक्टर एसोसिएसन भन्ने ग्रुपले बेड, अक्सिजन र आइसियुको प्रावधानका लागि कन्ट्याक पर्सन र तिनको फोन नम्बर सहित सूचना सार्वजनिक गरेको छ । मेन्स रुम रिलोडेड भन्ने सामाजिक संजाल प्रयोगकर्ताको समुह विपन्नले अक्सिजन किन्न नसकेकै कारण मृत्युवरण गर्न नपरोस् भनेर अक्सिजन सिलिन्डर लोड गरेर बसेको छ । महाबिर पुन अक्सिजन भरिदिन्छु खाली सिलिन्डर चाहियो भन्दैछन् । संक्रमित चिकित्सक र नर्सहरु संक्रमितकै उपचारमा अहोरात्र खटिइरहेका छन् । 

जब हामीसँग समुदाय र आम नागरिकको स्तरमा यस्तो प्रकारको ऐक्यबद्धता हुन्छ, निश्चयनै कोभिड–१९ले हार नमानी धरै छैन । तर हामीले लढ्नपर्ने भाइरस कोभिड–१९मात्रै होइन, यो भन्दा डरलाग्दा भाइरसबाट हामी युगौंदेखि आक्रान्त छौं । हामीसँग विभेदको भाइरस छ युगौं देखि जरो गाडेको । एउटा ठूलो १४ प्रतिशत हिस्सा युगौंदेखि छुवाछुतको विभेदकारी आइसोलेसन र सामाजिक बहिस्करणमा बसिरहेको छ । कोभिड पछि पनि त्यो तप्कालाई त्यहीँ राखिराख्ने कि विभेदलाई सँधैको लागि निमिट्यान्न पार्ने ? त्यो पनि हाम्रै काँधमा छ । 

राजनीतिमा होस् या सामाजिक चेतनामा अहिलेको सबैभन्दा डरलाग्दो भाइरस हो प्रतिगमनको । यसविरुद्ध पनि लड्ने कि नलड्ने कोभिड पछि ?

त्यस्तै राजनीतिक बेतिथिको भाइरस छ कहिल्यै मास्न नसकेको । स्वास्थ्य संकटको यो विषम परिस्थितिमा गैरजिम्मेवार बन्दै सत्ता जोगाउन अकर्मण्य गतिविधिमा लिन भएर आम नागरिकको ज्यानमाथि खेल्ने यो भाइरसलाई निर्मुल पार्ने कि नपार्ने ? त्यो पनि हाम्रै जिम्मामा छ । शिक्षा र स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्र माफियाको पोल्टोमा सुम्पने यो व्यवस्थारुपि भाइरस विरुद्ध लड्ने कि नलड्ने ? अभिभारा हामीसँगै छ । त्यसमाथि राजनीतिमा होस् या सामाजिक चेतनामा अहिलेको सबैभन्दा डरलाग्दो भाइरस हो प्रतिगमनको । यसविरुद्ध पनि लड्ने कि नलड्ने कोभिड पछि ? अहिले भोकभोकै लडिरहेको वर्गको स्वाभिमानी जीवनको लागि समतामुलक समाज निर्माणको लागि लड्ने कि नलड्ने कोभिड पछि ? निसन्देहः ब्याक टु ब्याक धेरै भाइरसहरु छन् हामीले लड्नुपर्ने ।

त्यसैले यो धैर्य र संयम हुने समय हो । कोभिड–१९ केही होइन, जितिन्छ । तर त्यसपछि हामीले धेरै भाइरसहरु विरुद्ध मोर्चाबन्धी कस्नुपर्ने छ । ति भाइरस विरुद्ध लड्न पनि हामी बाच्नुपर्छ, शक्ति सञ्चय गर्नु पर्छ । हरेस खान पर्दैन, हरेक भाइरसहरुलाई हामी जित्नेछौ अवश्य । अमेरिकन सिभिल वारमा प्रयोग भएको र पछि पिट सिजरले  गाएको गीतझंै, ‘हामी जित्नेछौं, हामी जित्नेछौं, हामी जित्नेछौं एकदिन ! मनैदेखि विश्वास गर्छौ, हामी जित्नेछौं एकदिन !’ हो, एकदिन हामी सबै प्रकारका भाइरसलाई जित्नेछौं । 

फोटोः रोयटर्स


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...