पूर्वका किरात समुदायमा साकेलाउधौली पर्व शुरू भएको छ। मंसिर पूर्णिमादेखि शुरू भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धूमधामका साथ यो पर्व मनाउने गर्दछन्। बिहीबार पूर्णिमादेखि औपचारिक रूपमा साकेला पर्व मनाउन शुरू भएको छ।
किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरूको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, राजधानीलगायत सहरमा यो पर्व धूमधामका साथ मनाइँदै छ। उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याउने खुसीयालीमा मनाउने गरिएको राई संस्कृतिका अध्येता शुभराज राईले बताए।
प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ।
भाषा संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभर छरिएर रहेका किरातहरू आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको प्राध्यापक कुमारसिंह राई बताउँछन्।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःखसुख साट्दै संस्कृति झल्काउने पोषाकमा साकेला नाच्ने गरिन्छ। राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन्।
त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्। पछिल्लो समय युवापुस्तामा साकेलाउधौलीको आकर्षण बढ्दै गएको छ। आफ्नै वेशभूषामा ढोल, झ्याम्टाका साथ साकेलानाच नाच्दै टोल टोलमा किराँत युवायुवती यो पर्व मनाउन थालेका छन्।
युवापुस्ताका लागि विभिन्न जिल्लामा किराँत राई यायोक्खाको आयोजनामा साकेला नाचको प्रशिक्षण नै आयोजना गरी साकेला नाचको विस्तार गरिँदै आएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...