डडेल्धुरा- स्थानीय भाषामा ‘देहिजाँत’ नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न भएको छ । बिहीबार साँझदेखि सुरु भएको मेला शुक्रबार बेलुकी सम्पन्न भएको हो ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको थियो ।
चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो । पूजाआजापछि प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गरियो । बिहानको पूजाआजापछि दिउँसो दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नाचाइएको थियो ।
देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । विगतका वर्षझैँ यस वर्ष पनि हजारौँको संख्यामा श्रद्धालु भक्तजनले मेला भरेको उनको भनाइ छ ।
डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका- ८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा आराधना गर्न पुगेका थिए ।
उग्रतारा मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मेलामा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य वस्तु बिक्री तथा वितरणमा रोक लगाइएको थियो । किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो ।
सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परंपरा छ ।
देहिजाँतको महत्त्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःखसुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्थ्यो ।
वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । बिहान ४ बजे धार्मिक परंपरागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको थियो ।
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रूपमा प्रख्यात छ । हराउँदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, प्याजका बेर्ना बिक्री वितरण गर्ने गर्छन् । मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाईका परिकार बनाई बिक्री गर्छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...