मुखाष्टमी (शिवलाई मुकुट पहिर्याउने दिन)
हरेक वर्ष कार्तिक शुक्ल अष्टमी अर्थात् कछलाथ्व अष्टमीको दिनलाई मुखाष्टमीको रूपमा लिइन्छ । वर्षमा आउने ४ प्रमुख अष्टमीहरू मध्ये एक मानिने मुखाष्टमीको दिन एक छाक मात्र खाइ मुखँ अप्सँ भनी व्रत बस्ने चलन पनि रही आएको छ ।
मुखाष्टमी भनेको के हो त ?
मुखाष्टमी भनेको मुखल अर्थात् मुकुट लगाइदिने अष्टमी हो । आजको दिन विभिन्न शिवालयमा शिवलिङ्गमा श्री पञ्चबुद्ध रहेको मुकुट पहिर्याउने गरिन्छ । तर हाल भने यो प्रथा पशुपतिनाथ र पाटनस्थित सर्वेश्वर महादेव कहाँ मात्र सिमित हुँदै गएको देखिन्छ । यस दिन पशुपतिनाथलाई स्वयम्भूबाट ल्याइएको मुकुट लगाइदिने गरिन्छ भने सर्वेश्वरमा हिरण्यवर्ण महाविहारबाट मुकुट ल्याउने प्रचलन छ । यसरी मुकुट लगाइदिएर विधिपुर्वक पूजा गरेपछि सो एक दिनको लागि शिवलिङ्ग नभइ चैत्यको रूपमा पुजिन्छ । सुन्दा अनौठो लागे पनि, काठमाडौ उपत्यकाको रैथाने संस्कृती यो धार्मिक सहिष्णुताको अनुपम नमुना हो, सह-अस्तित्वलाई आत्मसात गर्नुको उपज हो । उपत्यकामा शिवलिङ्गलाई मात्र चैत्यको रूपमा लिने नभइ विभिन्न चैत्यहरू जलद्रोणी सहित पनि बनाइएका हुन्छन भने त्यसलाई शैव-बौद्धको धर्मको समग्र रूपमा लिइन्छ ।
किन लगाइदिन्छ शिवलाई मुकुट ?
यसको बारेमा जान्नलाई यहाँको प्रचलित किंवदन्ती सुन्नपर्ने हुन्छ । किराँतकालसँग जोडिने यो किंवदन्तीको कति कुरा सत्य होला, कति कुरा मिथ्या पनि होला १ प्रचलित किंवदन्ती अनुसार विरूपाक्ष नाम गरेका एक सुन्दर युवक १२ वर्षको उमेरमा आफ्नो घर छोडी वनमा बस्न गए ।वनमै आफ्नो बासस्थान बनाइ बसेको थुप्रै वर्ष भयो र उनी युवक भए । एकदिन संयोगले आमा र छोराको जम्काभेट भयो तर थुप्रै वर्ष भइसकेकोले दुबैले एक अर्कालाई चिनेनन् र उनीहरू एक अर्काप्रती आकर्षित भइ कामवासनामा लीन भइ संभोग गरे ।विरूपाक्षले पछि आफ्नो आमा हो भन्ने थाहा पाएपछी पाप मोचन गर्नाको लागि पशुपतिको शरणमा गए र महादेवले तामा पगालेर त्यसको झोल बनाएर पिए सबै पापबाट मुक्त हुन्छौ भनी पठाए ।आज्ञा अनुसार तामा पकाइ अब पग्लियो होला भनी खोली हेर्दा, त्यसको रापले गर्दा उनी कुरूप भए । महादेवले आफूलाई झुक्याएको बुझी उनी बुद्ध कहाँ गए र बुद्धले उनलाई एउटा जपमाला दिए र मन्त्र जप गरेर जुन दिन खिइन्छ, तब पापमुक्त हुनेछौ भनी पठाए । त्यसपछी उनी बाग्मती किनारमा बसि हरेक दिन जप गर्दै बस्न थाले, तर धेरै समय जप गर्दा पनि माला नखिइएपछी दिक्क मानेर चहार्न हिँडे । यत्तिकैमा उनले एउटा बालक फलाम घोट्दै गरेको देखे र बच्चालाई सोध्दा फलाम घोटेर सियो बनाउन लागेको जवाफ पाए ।त्यसपछी उनी फेरि जप गर्न थाले र एक दिन फेरि उनले वनमा दुइजनाले सियोले रुख काट्न खोजेको देखे र कुनै दिन भंगेरा जोडीले आफ्नो चुच्चोमा बाग्मतीबाट पानी ओसार्दै गरेको देखे । भंगेरालाई सोध्दा जवाफमा पोखरी भर्नलाई भन्ने पाए । यसरी विभिन्न असामान्य काम देखेर अन्तिममा विरूपाक्षले जप मात्र गरेर नहुने तर धैर्यता, विश्वास र एकचित्त चाहिने भनी बुझेर तन मनले जप गर्न थाले र केही समयपछी माला खिइयो र उनी पाप मुक्त भए । र उनको कुरूप अनुहार पनि पहिले जस्तै सुन्दर भयो । पशुपतिले आफूलाई कुरूप बनाएको कुराको रीसले उनले पाशुपात क्षेत्रमा शिवलिङ्गहरूमा लात हान्दै बिगार्दै हिँड्न थाले ।आफूलाई पनि बाँकी नराख्ने बुझेर महादेवले बुद्धलाई पुकार गरे र बुद्धले आफ्नो पञ्चबुद्ध सहितको मुकुट दिई पहिरिन भने । विध्वंस गर्दै हिँडेका विरूपाक्ष पशुपतिको सामुन्ने पुग्दा त्यहाँ बुद्धको मुकुट देखि गुरुको सम्मानमा केही नगरी फर्किए । यसै अनुरूप श्री पशुपतिनाथलाई बुद्ध मुकुट लगाइदिएको भन्ने प्रचलन छ । आज पनि पशुपात क्षेत्रमा रहेको यता उता ढल्केको बिग्रेको शिवलिङ्गहरू, विरूपाक्षले गरेको निशानी हो भनी मान्दछन् ।
आजको दिन बज्रयान र महायान बौद्धमार्गीहरूले १०८ लोकेश्वर मध्येका अन्तिम लोकेश्वर धर्तिमा आउनुभएको दिनको रूपमा लिने गर्दछन् । साथै परम्परा अनुसार आजको दिन बज्रयानी बौद्ध धर्मावलम्बीहरू पशुपतिको दर्शन गर्न जाने गर्दछन् । कथा किंवदन्ती जे जस्तो रहेता पनि दुई भिन्न धर्म बीचको दुरीलाई मेटाएर समागम रूपमा शैव( बौद्ध बीच सहिष्णुता कायम गर्ने यस्ता प्रचलनहरूलाई हामीले सम्मान गर्नुपर्छ । हाल भने, पशुपतिमा देखिएला भनी, मुकुटलाई फूलै फूलले ढाक्ने गरेको पनि पाइन्छ, जुन नगर्दा राम्रो हुनेथ्यो । हाल पनि पाटनको कुम्भेश्वर मन्दिर भित्र, सर्वेश्वर महादेवको ठूलो शिवलिङ्गमा पञ्चबुद्ध भएको तामाको मुकुटले छोपी दर्शनको लागि राख्ने गरिन्छ । यस दिन कुम्भेश्वर क्षेत्रमा मेला पनि लाग्ने गर्दछ भने कुम्भेश्वर मन्दिरलाई पाटनको पशुपतिनाथको रूपमा लिइने गरिन्छ ।
तल देखाइएको तस्बिर सर्वेश्वर महादेवको शिवलिङ्गलाई पञ्चबुद्ध भएको तामाको मुकुटले छोपिएको बेलाको हो ।
तस्बिर : Frannkey Franz फेसबुकबाट साभार
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...