काठमाडाैँ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो ।
विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।
बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ”, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
“यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भने, “पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।” भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...