काठमाडाैँ । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग  ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ ।

उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा करोडाैँ मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र  पाटपुर्जा चोरी भइसकेको जनाइएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८\७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो ।  प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न रु २० लाख बजेट विनियोजन गरेका थिए ।

उनले भने , “बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो  । ”ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...