काठमाडाैँ । भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ ।

महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो । समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ । नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु रु एक अर्ब भन्दामाथि छ ।

पछिल्लो पटक जनप्रतिनिधि आएपछि पाँच वर्ष यताको बेरुजु भने रु १२ करोड हाराहारी मात्र छ । सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको उनले बताए । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७\७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो । अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलब ५७ प्रतिशत रहेको थियो । महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ ।

समितिले तयार पारेको बेरुजुको फछर्यौट गर्न कार्यापालिका बैठकमा पेस गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनले जानकारी दिए । नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनःअवलोकन गरी फछर्यौट गर्दछ । लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल विच्छयाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ । लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शीता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए  ।

अर्यालले बेरुजु तत्काल फछर्यौट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फछर्यौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ छ । कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो ।

महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताइन् । उनले भनिन्, “जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उनले बताइन्।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...