काठमाडाैँ । झापा जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् ।

चालु आर्थिक वर्ष २०७९\८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् ।

नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारीदिए ।

उनले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताए । सम्झौता गरिएका पालिकाहरुले धरान, विराटनगरसम्मका अस्पतालमा रहेका बिरामीका लागि समेत जिल्लाका पायक पर्ने रक्तसञ्चार केन्द्रबाट रगत लैजाने सक्ने व्यवस्था गरिएको उनको भनाइ छ । 

गत वर्ष जिल्लाका मेचीनगर नगरपालिका, बाह्रदशी, झापा गाउँपालिकाले नरेसोसँग एक वर्षका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि रु पाँच लाखका दरले रकम बुझाएका थिए । यस सेवाबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको अधिकृत हरिशरण खड्काले जानकारी दिए ।

चालु आर्थिक वर्षमा बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले मात्र हालसम्म सम्झौता गरिसकेको उनले बताए । उनका अनुसार झापा गाउँपालिकाले समेत पुनः सम्झौताका लागि पहल गरिरहेको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...