काठमाडौं । दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको छ। सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले उनीहरूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरूका तीन वर्षीय छोरा छन् । करेन्ट लागेकी बासुकी भाउजू २७ वर्षीया भिमा सामान्य घाइते भएकी छिन् । स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका उनको डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए । दुइटा खम्बाको बीचमा बाँधेको तारमा कपडा सुकाउन जाँदा उनलाई खम्बामाथिबाट प्रवाह भएको करेन्टले छोएको थियो ।

घटनास्थलको प्रकृति नियाल्दा पानी परेको हुँदा जस्तापाताबाट करेन्ट प्रवाह भएको अनुमान गरिएको प्रहरी निरीक्षक शाहले बताए ।‘भाउजू भिमालाई करेन्ट लागेपछि बचाउन भनेर देउरानी हिमा दक्षिण कुनोबाट र देवर बासु उत्तरतर्फबाट दौडिएर गएको देखिन्छ,’ शाहले भने, ‘पहिला हिमाले भिमालाई तान्न खोजिन् । उनलाई पनि करेन्ट लागेपछि बासुले हिमालाई तान्न खोजेको देखिन्छ ।

हिमालाई छुटाउन बासुले काँचो काठले तारमा हानेको र तार चुँडिएर उनको शरीरमा परेपछि उनको पनि घटनास्थलमै मृत्यु हुन पुग्यो ।’ करेन्ट लागेर मृत्यु भएका बासु र हिमाको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...