काठमाडाैँ । इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा  हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको  विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन् । 

इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियोे । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्दै आएकामा  बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ । वषौँदेखी निर्माण सुरु भएको विमानस्थल केही समय उडान भएर पुनः बन्द हुँदा यस विमानस्थलको भविष्य नै अन्धकारमा पर्ने हो कि भन्ने चिन्ता छाएको इलामबासीले  बताउँदै आएका छन् । स्थानीयवासी बालकुमार पोख्रेलले उडान बन्द भएपछि अब उडान हुन्छ या हुँदैन भन्ने नै अनिश्चित् भएको बताए । 

यस विमानस्थलमा तारा एयरको विमानले उडान गर्दै आएको थियो । इलाम नगरपालिका र तारा एयरबीच सम्झौता भएर उडान सुरु गरिएको यस विमानस्थलमा सम्झौताको म्याद सकिएपछि उडान बन्द गरिएको हो । गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको र त्यस पछि सम्झौताको समयसमेत सकिएको थियो । स्थानीयवासीले उडान नियमित गराउनुपर्ने भन्दै विरोध र खबरदारी गर्दै आएका छन् ।

नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराउन जिल्लाका सङ्घीय र प्रदेश सरकारले चासो राख्नुपर्ने बताउँदै आएका छन् । यस विषयमा नगरपालिकाले पनि चासो दिएको र पहल गरिरहेको नगरप्रमुख केदार थापाले बताए । उनले यस विषयमा माथिल्लो निकायसँग पहल भइरहेको बताए । इलामबाट नियमित उडान हुनसके पूर्वी पहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिडलगायत छेत्रका बासिन्दालाई  सहज हुने थियो । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...