काठमाडाैँ । झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । कचनाकवल गाउँपालिका ५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् ।
हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए । ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् । सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता पाठक जानकारी दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...