काठमाडाैँ । व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ । त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्न विद्यालय तह (कक्षा १२) सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने छ । स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याइने छ । साथै सेवा केन्द्रको मनोविमर्श सेवालाई निरन्तरता दिई सक्षम नेतृत्व बनाउने लक्ष्य रहेको छ । महिलाहरूद्वारा  सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि सहयोग  गरिने व्यवस्था रहेको प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरिने छ र हिंसामा परेका महिलालाई  कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिकरूपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन व्यवस्था मिलाइने उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । दलित, सीमान्तकृत लोपोन्मुख, जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गरिने छ । नगरपालिकाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र अनुभव आदान–प्रदान गर्ने किसिमको कार्यक्रम पनि रहेको उनले बताए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...