काठमाडाैँ । पोखरा विश्वविद्यालयले रजत जयन्तीको विशेष कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी  सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रविधिमैत्री मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, अटोमेटेड टेलर मेसिन (एटिएम) आदिबाट डिजिटल भुक्तानीलगायतका विषयमा तालिम दिइने उनले बताए ।

मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ–नयाँ आयामका बारेमा गृहिणीलाई ज्ञान र सीप दिइने जनाइएको छ । यसबाट उनीहरूले इन्टरनेटसम्बन्धी र छिटोछरितोरूपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नुका साथै देश विदेशमा रहेका श्रीमान्, छोराछोरी, नातागोता इष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बिल भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वविद्यलायले विश्वास लिएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा डा. नमराज धामीले तालिममार्फत गृहिणीले नवीनतम् प्रविधिका धेरै विषयमा जानकारी हासिल गर्ने बताए । कार्यक्रममा सूचना प्रविधि स्कुल अफ बिजनेशका स्कुल निर्देशक डा. सृजन ज्ञवाली, स्कुल अफ बिजनेशका उपप्राध्यापक दीपाञ्जल श्रेष्ठ र सहभागी महिलाको तर्फबाट इन्दिरा तिवारी, चनमति तामाङलगायतले तालिमको उपयोगिता सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...