काठमाडाैँ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।
जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएका छन् । उनले २३ हजार ८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् ।
नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मतपरिणाम सार्वजनिकलगत्तै पत्रकारसँग कुराकानी गर्दै उनले सबैलाई मिलाएर काम गर्ने बताए ।
रुपन्देहीमा कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ ।
यस्तै जिल्लाका १० गाउपालिकामध्ये कांग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउपालिकामा जित हासिल गरेको छ । एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...