काठमाडाैँ । हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । याे मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समिति मार्फत पूर्जी दिने निर्णय भएको छ।
बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । त्यस्तै यार्सा संकलनसँगै स्थानीय तह निर्वाचनको तयारीमा समेत उनीहरूले जुट्नुपर्ने भएको छ । औषधी जन्य जडीबुटी संकलन गर्न आवश्यक छ तर लामो समयपछि हुने निर्वाचनको तयारी गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । औषधीजन्य जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ ।
मनाङवासीले यार्सा सङ्कलनसँगै स्थानीय तह निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवार छनोट प्रक्रिया समेत पूरा गर्नुपर्ने भएको छ । एक स्थानीय भन्छन्– एकै पटक दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।
निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज आचार्यले स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको बताए । उनका अनुसार चार वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् । औषधीजन्य जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । ‘यार्सा सङ्कलन क्षेत्रमा पनि सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ र निर्वाचन क्षेत्रहरूमा पनि सुरक्षित तथा व्यवस्थित बनाउने चुनौती छ, यसको व्यवस्थापनमा हामी जुटेका छौं,” आचार्यले भने।
यार्सा सङ्कलन कार्य वैशाख १५ गतेदेखि नाम्केखर्कबाट सुरु भएर नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्क पुगेपछि सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार असारको पहिलो हप्तासम्म औषधीजन्य जडीबुटी संकलन कार्य हुनेछ ।
समितिले मनाङवासीको नागरिकता वा बसाइ सरेको भए बसाइसराइको प्रमाणपत्र समितिमा राखी यार्सा सङ्कलन पूर्जी दिने गरेको छ । संस्थामार्फत यार्सा सङ्कलन गरिंदै छ भने अघिल्लो वर्ष दिइएको सङ्कलन पूर्जी संकलन पूर्जी उपलब्ध गराउने उहाँले बताउनुभयो । यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार र फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए ।
यार्सागुम्बा संकलन गरेको परिचय पत्र, सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस, दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकामा दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो । उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बामा एक वटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ । मनाङभन्दा बाहिरबाट यार्सा संकलनमा आएकाको हकमा उनीहरू वैशाख १५ देखि २५ गतेसम्म मात्र मनाङमा बस्न पाउने नियम बनाए ।
गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यसवर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...