काठमाडाैँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । 

जिल्लाका चार  नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी  परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । उनले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोली समेत थप परिचालन हुने  र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताए ।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्री सहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताए । 

जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन् । जिल्लाका भक्तपुर नगरपालिकामा  ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा  ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा  ४३ हजार १०५  मतदाता छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...