काठमाडाैँ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनु भएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उनकाे आफ्नै गाई फार्म छ ।
केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।
केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बस्नु भयो । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उनले भने । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो । उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उनले भने, “अब विदेश जाने सोचै छैन ।”
केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उनले बताए । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनले बताए । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो । अहिलेसम्म उनले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसक्नु भएको छ । हाल १८ गाई पाल्दै आएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उनको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ ।
व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उनले त्यो लगानी उठाइ सक्नु भएको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको केसीले बताए । उनले रु १० हजार तलब दिएर एक कर्मचारी समेत राख्नुभएको छ । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भने । उनले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याउका हुन् ।
केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भनिन, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...