काठमाडाैँ । भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकाम स्थित रुद्रेपिपल माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् ।
टाढा–टाढाका विद्यार्थी हिजो अस्तिदेखि नै बागलुङ बजार झरेर होटलमा बसेका छन् । ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आएका छन्। “विद्यार्थीलाई होटलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ”, उनले भने, “परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।”
एकातिर अभिभावकको खर्च बढ्ने र अर्कातिर एक्कासि नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा गाउँका विद्यार्थीलाई मनौवैज्ञानिक असर पर्ने प्रअ अधिकारीको भनाइ थियो । नेपाल माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ पशु विज्ञानको पढाइ हुन्छ । परीक्षा केन्द्र सदरमुकाममा तोकिँदा यातायात देखि होटलको खाना र बासमा विद्यार्थीको ठूलो खर्च हुने गरेको छ ।
अरुको भन्दा प्राविधिक धारका विद्यार्थीले परीक्षा दिने विषय पनि धेरै छन् । साधारण विषयतर्फको परीक्षा १७ गते सकिने भए पनि प्राविधिक तर्फको परीक्षा २० गतेसम्म चल्ने जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले चाहेर पनि यो वर्ष परीक्षा केन्द्र थप्न नसकिएको बताए । “मन्त्रालयमा पनि यो विषयमा कुरा पुगेको छ, अर्को वर्षदेखि प्राविधिक धारका लागि थप परीक्षा केन्द्रको व्यवस्था हुन्छ”, उनले भने, “तीन सयसम्म विद्यार्थी हुँदा तीन वटासम्म केन्द्र तोक्न सकियो भने पनि धेरै सहज हुने देखिन्छ ।”
विद्यार्थी थोरै भएका ठाउँमा परीक्षा केन्द्र राख्दा राज्यको व्ययभार पनि बढ्ने हुँदा माथिबाटै सोही अनुसारको प्रबन्धका लागि निर्देशन हुने गरेको एकाइले जनाएको छ । सदरमुकाम देखि १२० किमि टाढा निसीखोला गाउँपालिका सम्मका विद्यार्थी एसइई दिन सदरमुकाम आएका छन् । त्यहाँको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पनि प्राविधिकको विषयमा पढाइ भइरहेको छ । एकाइ प्रमुख उपाध्यायका अनुसार प्राविधिक तर्फ यहाँका विद्यालयमा कृषि, पशु विज्ञान, सिभिल इन्जिनियरिङ र कम्युटर इन्जिनियरिङको पढाइ हुन्छ ।
प्राविधिक धारसहित जिल्लाका कुल चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुँदैछन् । ती मध्ये साधारण संस्कृतका १२, गुरुकुलका पाँच र दृष्टिविहीन दुई विद्यार्थी पनि छन् । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका लगायत सामग्री पु¥याइएको एकाइले जनाएको छ । एकसय आठ सामुदायिक, ३२ संस्थागत र एक खुला गरी १४१ विद्यालयका परीक्षार्थीले एसइई दिनेछन् । कोभिड–१९ महामारीका कारण गएका दुई वर्षमा आन्तरिक मूल्याङ्क मार्फत एसइई नतिजा सार्वजनिक गरिएको थियो । अहिले महामारी थामिएर स्थिति सामान्य बनेपछि भौतिक रुपमै परीक्षा सञ्चालन हुन लागेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...