काठमाडौँ । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् ।

नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताइन् । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताइन् ।

उनले भनिन्, “राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ ।” महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताए। राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने  उनले बताए । राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन गर्न सकिने अवसर हुने उनको  भनाइ छ ।

महिलाले दुःख पर्दा रुनसक्ने भए पनि पुरुषले नसकेको क्लिनिकल साइक्लोजिस्ट डा. विजय ज्ञवलीले बताए  । उनका अनुसार उपचारका लागि आउने धेरै पुरुष रुने गरेका छन् र तिनलाई श्रीमती वा परिवारका अघि किन नरोएको भन्दा आफू कमजोर देखिन हुँदैन भन्ने मानसिकता पाइएको छ ।

अधिकारकर्मी सिर्जना सिंहले राजनीतिक परिवारमा छोरी वा बुहारीलाई अघि बढ्न सजिलो हुने बताए । राजनीतिमा संलग्न सासू, ससुरा र श्रीमान्का कारण आफूले सधैँ सहयोग पाएको  उनले बताए ।

युनिग्लोब विद्यालयकी प्रधानाध्यापक भवानी राणाले बालबालिकाको पहिलो विद्यालय घर नै भएकाले आधारभूत कुरा घरमा नै सिकाउनुपर्ने बताए  । विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै बालबालिकाका लागि ‘रोल मोडल’ बन्नसक्ने उनको भनाइ छ ।

व्यवसायी रितु वैद्यले विवाह र सन्तान जन्मिएपछि महिलाका जीवनमा धेरै चुनौती थपिने गरेको बताए । परिवारले सहयोग गर्दा विवाहपछि पनि महिलाले करियर अघि बढाएर सफल बन्नसक्ने उनको भनाइ छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...