काठमाडौँ - त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् ।
यसअघि आन्तरिक उडानबाट आएका यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अब यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सीधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्ने भएका छन् ।
आजै मन्त्री आलेले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिएका हुन्।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...