काठमाडौँ - पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध गरेको छ ।
आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको निर्णय खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए निगमका अधिकारीलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ, खाना पकाउने एलपी ग्याँसको मूल्य १५ सय बनाएको छ, यसको हामी घोर भत्र्सना गर्दछौँ,’ उनले भने, ‘नेपाल सरकार नेपाली जनताका लागि जवाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो, स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ, अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको निर्णय फिर्ता लिन अपील गर्दछु ।’
उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए । नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...