१.वनफुल

रिमा के.सी.

म यौटा वनफुल,
छोपिएको छु झाडी र बुट्यानमा
बाँधिएका छन मेरा हातगोडा 

जेलिएको छु सम्बन्धको कठोर जन्जिरमा
निमोठिँदै छन् रहरका कोपिला 
आगोमा जलिरहेछन सपना, 

जिउँदो छु म, तर प्राण छैन
सबै छन् तर आफ्नो कोही छैन !
कोही नहुनु र भए जस्तो हुनु 
फरक रहेछ ।। 

आँखाको डिलबाट खसेको मुटु देख्ने कोही छ ?
फैलिएका छन् स्वार्थी लहरा मात्र पहराभरि
नाम नपाएको म एक जंगली फुल !

सद्भाव देखाएझैं भमरा नजिक हुन्छ्न केही पल 
लुटिएको खुशी दिने भीष्मप्रतिज्ञा गर्छन 
सपना फिर्ता ल्याउने आश्वासन दिन्छन् 
र आफैं गर्छन् आत्मदाह ।

मसित अङ्कुराएका आशाले गर्छन् सँगै आत्महत्या 
पानीको फोकाझैँ जब निमेषमै फुट्छन् जिजीविषा
यो शहरभरि समाचारमा फैलिन्छ 
मैले बाँडेको प्रेमरसमा भयानक  विष थियो 

अनकन्टार पहराको बीचमा 
बिताइरहेछु म कैदी जीवन 
मलाई कुनै गुनासो छैन 
सुगन्ध छर्न नसकेकोमा 
दुनियाँले चाहे जे गरोस् मसित
सारालाई भनेर मर्छु
'प्रकृति, म तिम्रो पागल प्रेमी !'

म कसैको गमलामा फुल्न नसकेर के भो ?
कसैको सुन्दर बगैंचामा नमुस्कुराएर के भो ?
म फुलेपछी नै खुल्छ वन / फुल्छ वन । 

म एक वनफुल 
सिर्फ वनफुल !
तिम्रो आँखामा फुल्न नसकेर के भो ?
फुलिरहेकै छु आफ्नै जीवनको अक्करे भिरमा ।


 २.आदत

खतरनाक हुन्छ आदत
हिरोसिमामा खसाइएको बमभन्दा पनि खतरनाक !
आत्मघाती हुन्छ
आतंकवादीले शरीरमा लुकाएको ग्रिनेडभन्दा पनि
अनि कहिले त
विश्वासघात बनेर
आफ्नै प्रेयसीले धस्ने छुरा बन्छ आदत !

फेरिन्छ गते, महिना र साल
फेरिन्छन् पात्रहरू
र पनि, उस्तै हुन्छ समयको आदत

हरेकचोटि आन्दोलनको आँधी उठ्छ,
र, एक मुठ्ठी उज्यालोका लागि
स्वप्नद्रष्टा निभाउँछन् जीवनको दीयो
जसै थामिन्छ आँधी
आफूलाई हिउँभन्दा सुकिलो दाबी गर्ने एउटा नेता
सडकबाट दरबार पुग्छ
अनि बनाउँछ देशलाई तबेला
उस्तै छ उसको सत्ताको आदत

अनि, जनतालाई पनि लागिसकेको छ
आजित हुनुको आदत !

उफ् !
रगत बेचेर रक्सी किन्ने बानीमा छन् मान्छेहरू
सपना बेचेर आँखा किन्न अभ्यस्त छन् तन्नेरीहरू
आँसु बेचेर सुपरमार्केट ठड्याउने यो‍जनामा छन् व्यापारीहरू
दुर्घटनाको खेती गर्ने आदतमा छन् सडकहरू

मेरो विश्वासको आँगन बारम्बार मिच्ने आदत छ छिमेकीको
बाँझोपन उमार्ने आदतमा छन् खेतबारीहरू
बलात्कारको चित्कार सुन्ने लती भएका छन् कानहरू
ड्रगिस्टलाई दुर्व्यसनको आदतजस्तै
लगाम बनिदिन्छ आदत

दासताको आदत !
बेइमानीको आदत !
चाकरीको आदत !
धोकाधडीको आदत !
लुटको आदत !
खासमा मानिसलाई मस्तिष्कले होइन
उसको आदतले चलाइरहेछ

यहाँ आदतको जन्जिरमा घुमिरहेछन् मानिसहरू
जिउँदै मर्नुको आदतले अभिसप्त छन् जिन्दगीहरू
खरानीको लागि आफ्नै घर जलाउने मुर्खझैं
आफ्नै आदतको दावानलमा
जलाइरहेछौं आफ्नै वर्तमान ।

कतै आदतको क्रुर निशानाले
सिध्याउने त हैन हाम्रा सपना !


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार