चिन्तन नेपाल

त्यसदिन सदरमुकामबाटै हामी ढिलो छुटेका थियौँ । शिवालयभन्दा अगाडि बस नजाने भएपछि हामी ओर्लियौँ र पैदल हिँडेर जाने निधो गर्‍यौँ । रात लगभग परिसकेको थियो ।  गाउँ आउने अरू कोही भएनन् । किशन र म मात्रै । धन्न मौसमले साथ दिएको थियो । जूनको उज्यालोमा सडक स्पष्टै देखिन्थ्यो । बिहानपख पानी परेको भए पनि दिनभरि घाम लागेकोले सडक ओभानो थियो । कहीँकतै सडकमा खाल्डो परेको ठाउँमा भने पानी जमेको हुन्थ्यो । शिवालयबाट घर पुग्न कम्तिमा तीन घण्टा त छिटै हिँडे पनि लाग्थ्यो । अझ बाटोमा दुइवटा मसानघाट पार गर्नुपर्ने । साउनको रात । खोलाको किनारैकिनार सडक भएकोले त्यहाँ खोलाको सुसाहट एउटामात्र हल्लाको स्रोत थियो । हामी गफ गर्दै हिँड्यौँ ।

केही वर आइसकेपछि सडकमा हामीभन्दा अगाडि कोही हिँडिरहेको जस्तो देखियो । हामी अलि सतर्क भयौँ । नियालेर हेर्दा उनी एक महिला हुन् भन्ने निर्क्यौलमा हामी पुग्यौँ । सेतो सारी पहिरिएकी । कपाल फिँजारिएकोले पछाडिबाट अनुहार भने देखिएन । देख्ने धेरै प्रयत्न गर्‍यौँ । तर सकेनौँ । बोलाऊँ जस्तो पनि लाग्यो । तर मलाई किशनले रोक्यो । 

किशन र मैले खासखुस गर्‍यौँ- 'यो मसानघाटको बाटो एक्लै हिँड्न लोग्नेमान्छेको मुटुले पनि सक्दैन । यति राति यस्तो निर्जन बाटोमा एक्लै हिँड्नुपर्ने के बाध्यता आयो होला यिनलाई रु कस्ती असाधारण महिला !'

ती महिला र हामीबिच झण्डै दस मिटरको दूरी थियो । जे भए पनि सँगै जाऊँ न भन्ने सोचेर हामीले हिँडाइको गति बढायौँ । तर उनी र हामीबिचको दूरीमा कुनै कमी आएन । हामी जति छिटो हिँड्थ्यौँ, ती महिला पनि त्यति नै छिटो हिँडेजस्तो लाग्थ्यो । उनको हिँडाइ पनि अस्वाभाविक देखिने । लाग्थ्यो- उनको खुट्टाले भुइँ टेकेकै छैन । 

यही क्रमले केहीबेर हिँडेपछि उनी एकछिन रोकिइन् । अगाडि खाल्डो रहेछ टिलपिल पानी भरिएको । उनी पानीमै टेकेर अगाडि बढिन् । तर अचम्म चाहिँ के भने खाल्डोभन्दा अगाडिको ओभानो ठाउँमा उनको जुत्ता या चप्पलको चिसो छाप देखिएन । उनले पानीमै टेकेर आएको त साँचो हो । हामीले पनि उसैगरी टेकी हेर्‍यौँ । हाम्रो जुत्ताको छाप स्पष्ट देखियो । हामी भयमिश्रित आश्चार्यमा पर्‍यौँ ।

अब चाहिँ मनमा खराब कल्पना आउन थाल्यो । डरको, भुतप्रेतको, किचकन्नीको । शरीर फुलिएर आयो । उनी हामीभन्दा निक्कै अगाडि गइहालून् भनेर हामी विस्तारै हिँड्न थाल्यौँ । तर दूरी जतिका त्यति रह्यो । मानौँ, उनको हिँडाइको गति हाम्रो गतिमा निर्भर छ । 

केहीबेरपछि उनी टक्क रोकिइन् । पछाडि फर्केर हामीतिर हेरिन् । हामी किंकर्तव्यबिमूढ उभिइरह्यौँस र डरले भयभित तब भयौँ जब उनको अघिल्तिर पनि कपाल फिँजारिएको देख्यौँ । अनुहार कपालले ढाकेको जस्तो लाग्थ्यो । हावाले कपालका राशीहरू हल्लिरहेका थिए । मानौँ त्यो टाउको होइन, केवल कपालको थुप्रो मात्र हो ।

डरले मुटु काँप्यो । आङ् जिरिङ्गै भएर आयो । मैले खल्तीबाट मोबाइल निकालेँ र लाइट बाल्न खोजेँ । तर किशनले यसपटक पनि रोक्यो । ती महिला फेरि फर्केर हिँड्न थालिन् । मैले किशनको हात समातेँ । खासखुस गर्‍यौँ । 'यार हामी फर्कौँ । यो सामान्य महिला होइन ।'

'केही हुँदैन यार । हामी आफ्नो बाटो खुरुखुरु जाऊँ न १ फर्केर शिवालय पुग्ने समयले हामी घर पुगिसक्छौँ ।' किशनले भन्यो ।

मलाई डर लागिरहेको थियो । तर पनि किशनको कुरा मानेँ । आखिर किशन उमेरमा मभन्दा दुई वर्षले कम थियो । र पनि ऊ डराएको थिएन ।  

हामी हिँड्दै रह्यौँ । यसपछि भने हामी रोकिँदा ती महिला अदृश्य हुन्थिन्, हिँड्दा फेरि अगाडि लाग्थिन् । तर किशन भने हिँड्दा पनि रोकिँदा पनि देखिरहेको बताउँथ्यो । 
 
यसरी नै हामी ढिकाले पुल नजिक पुगिसकेका थियौँ । ढिकाले पुलसँग पनि एउटा डरलाग्दो इतिहास थियो । दुइ वर्षअघि बर्खाकै समयमा एक महिलाले ढिकाले पुलबाट खोलामा हाम फालेर आत्महत्या गरेकी थिइन् । त्यसको भोलिपल्ट मात्र हाम फालेको ठाउँबाट चार सय मिटर तल किनारमा उनको शव भेटिएको थियो रे । अहो, शव पनि कस्तो डरलाग्दो हालतमा । टाउको चुँडिइसकेको । घाँटीभन्दा तलको शरीर मात्र भेटिएको थियो रे किनारमा । त्यो पनि दायाँ हात चार ठाउँमा भाँचिएको । कस्तो दर्दनाक !

ती महिला अघिअघि हामी पछिपछि । ढिकाले पुल टेक्यौँ । पुलको मुन्तिर खोलाको सुसाहट यति तीब्र थियो मानौँ संसारका सबै क्रन्दनहरू खोलामै मिसिएर बगिरहेका छन् ।  

ती महिला पुलको बिचभागमा पुगेपछि रोकिइन् । हामी पनि रोकियौँ र एकटक हेरिरह्यौँ । एकाएक भुमरी जस्तै बनेर उनको कपाल फिँजारियो । उनी फनक्क दायाँतर्फ फर्किइन्  र पुलको छेउतिर लागिन् र पुलको बारमा चढिन् । हामी सालिक बनेर उनका अपत्यारिला क्रियाकलाप नियालिरह्यौँ । हेर्दाहेर्दै उनले पुलको बारबाट हाम फालिन् । तब किशन र मेरो मुखबाट एकैसाथ जोडले निस्कियो एक भयभित शब्द- 'नाक्क्क्क्इँ ।'

उनी पुलबाट सिधा खसिनन् । बरु हावाको अवरोधमा कुनै हलुका वस्तुले कोण बनाएर खसेजस्तो भिरालो खसिन् । त्यो पनि यति धिमा कि मानौँ त्यहाँ गुरुत्वबलको कुनै असर नै छैन ।

उनी खस्दैगर्दा एउटा डरलाग्दो आवाज गुञ्जायमान भएर फैलियो आ......ही.......य्य्य्य.......... माथि अनकन्टार पहराहरूमा निक्कैबेर प्रतिध्वनित भएर त्यो आवाजले विश्राम लियो । 

अब भने अगाडि बढ्ने आँट किञ्चित पनि रहेन । किशन र मैले एकअर्काको हात दह्रो गरी समायौँ र पुनः शिवालयतिरै फर्कियौँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार