कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामर्थ्य भन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक आयाम पनि छ । शब्दको भौतिकतामा मात्र त्यो समेटिँदैन । समात्न खोज्दा केही न केही अंश फुत्किहाल्छन् ।
फुत्किरहेको केही अंश समात्न सक्छु कि भनी म कविता लेख्छु ।
कविता लेख्दा कविताको गौरवशाली इतिहासको लामो शृङ्खला मेराअगाडि क्रमशः सर्दै गरेको देख्छु । त्यो शृङ्खलामा देवकोटा, रिमाल, भूपी, वासु शशि, ईश्वरवल्लभ, मोहन कोइराला, बैरागी काइँला, श्यामल, विमल निभा, गोविन्द वर्तमान, मञ्जुल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ लगायतका कविमनीषी देख्छु । साथै वर्डवर्थ, कलरिज, सेक्सपियर, ब्लेक, गिन्सबर्ग, लोर्का, नेरुदा, धूमिल पनि तिनै हारमा उभिएको देख्छु । मैले चिन्न नसकेका, नभ्याएका अनेक कविहरूको लस्कर पनि देख्छु । कविताको चोटले ब्यूँझिँदा किशोरहरूको आँखामा पहिलो पटक पुतलीझैँ सपनाहरू नाचिरहेको अनुभूत गर्छु । कविताको समर्थ इतिहास देखेर म विस्मित हुन्छु । कवितामा प्रयुक्त विम्बहरूको परिधान र भाव देखेर अभिभूत हुन्छु । इतिहासको सन्धिसर्गबाट अगाडि सर्दै वर्तमानको कुना-कन्तरमा म पनि आˆनो सानोतिनो स्थान बनाउने प्रयास गरिरहेको देख्छु । मलाई त्यो आफूभित्रको स्थान बनाउन प्रयत्नरत कवि प्रिय लाग्छ ।
सानै किन नहोस्, आफ्नो पनि स्थान बन्छ कि भनी म कविता लेख्छु ।
कविता लेख्दा म आफू जन्मेको समयभन्दा धेरै अगाडिको कविताको इतिहाससम्म पुग्छु, जसलाई कविताले स्पर्श गरेको थियो । कविताकै माध्यमले म इतिहासका त्यो क्षणमा पुग्छु, जतिबेला म अजन्मा थिएँ । कवितामा कल्पनाशीलता समययन्त्र बन्छ र त्यसमा आरुढ भएर म आफू जन्मेको समयभन्दा धेरै अघिको समयमा पुग्छु र ती कविमनीषीहरूलाई नजिकैबाट नियाल्छु । म चियाउँछु- अलिकति सङ्कोच र अलिकति कौतूहलले ती कविमनीषीहरूलाई ।
म वर्डवर्थको लेक डिस्टि्रक र तीर्थको फेवाताल एउटै पाउँछु । कलरिज र वल्लभको कविताको चैतसिक खोज र लागूपदार्थको सेवनमा म एउटै ध्येय देख्छु- चेतनाको विस्तारित छेउ पुग्ने । गिन्सबर्ग र वर्तमानको आगोका शब्दहरूमा त्यही प्रहार देख्छु- आडम्बरहरू भत्काउने । असत्यहरू जलाउने । श्यामल र धूमिलका कविताका विचारहरूका एउटै ध्याउन्न देख्छु- मानिसबीचको सम्बन्धलाई मानवीय बनाउने । र, श्रवणका कविताका वाणीमा सीमान्तकृत मानिसको आवाज फुटेको देख्छु । फरक काल, भूगोल र परिवेशमा पनि कविताले बोक्ने स्वत्वको त्यो समानता देखेर म विस्मित हुन्छु । त्यो दुर्लभ प्राप्तिमा म सन्तुष्टिले ढक्क फुल्छु पनि । म पूर्ववर्ती कवि मनीषीहरूका विचार-विम्बको ऐतिहासिक आँखीझ्यालबाट देख्छु- कविता लेखनले मान्छेको जीवनलाई सार्थक बनाएको । अलि बढी बाँच्नयोग्य तुल्याएको ।
अलिकति बढी बाँच्ने लालसामा म कविता लेख्छु ।
कल्पनाशीलतालाई प्रशस्त खेल्ने मैदान हुने भएकाले नै मैले भनेको हूँ- म कविता लेख्दा अलि बढी बाँच्छु । त्यो बाँच्ने उमेरले भन्दा पनि गुणवत्ताले हो । कवितामा सचेत सपनाहरूलाई प्रशस्त स्थान हुन्छ । ती सपनाहरू सुतेका बेला देखिएको निद्राका होइनन्, बरु नसुतेका बेला देखिएका जागरणका हुन् । ती विपनाका सपनाहरू हुन् । ती सपनाहरू कहिल्यै पूरा नहुने सपनाहरू होइनन् । कविताका सपनाहरू सचेत भएकाले मूर्तिने सम्भावनाहरू लिई जन्मेका हुन्छन् । सपनालाई बचाउन पनि कविता लेख्न आवश्यक भइसक्यो । कविता बाहिर धेरै सपनाका मृत्यु भएकाले पनि सपनालाई बचाउन कविता लेख्नु आवश्यक भइसक्यो ।
मान्छेका सपनाहरूलाई अलिकति भए पनि बचाउन सकिन्छ कि भनी म कविता लेख्छु ।
बाँच्नैपर्ने जीवनको सामयिक बाध्यतामा सपनाहरू छटपटाइरहेका बेला पनि कविताको कल्पनाशीलतामा धेरै उदात्त बन्न सक्छन् मान्छेका सपनाहरू । खोक्रो र यान्त्रिक बन्दै गएको दिनचर्यामा कविताले नयाँ सुवास भित्र्याउँछ । कविताको फेर समातेर भए पनि आफू बाँचिरहेको थाहा पाउने भएकाले म कविता लेख्छु । मर्दै जाने जोखिमबाट संवेदनालाई जोगाउन पनि म कविता लेख्छु । कविताले मलाई आगोले झैँ पोल्छ । हिउँले झैँ ठिहिर्याउँछ । कविताले पोलेकाले नै त जीवनको ताप पाएको छु । हिउँले ठिहिर्याएकाले नै त कवितामा जीवनको शीतलता पाएको छु ।
कविता लेख्दा कहिलेकाहीँ म सचेत आफूतिर पनि र्फकन्छु । समयको अनन्त प्रवाहमा जब कुनै दिन म नरहूँला, त्यतिबेला मेरो भावना र विचारहरू कवितामा अवश्य सुरक्षित हुनेछन् । कविताका हरफहरूमा म सुरक्षित हुनेछ । कविता मेरो शरीरको ‘ममी’ बन्छ । सायद मेरो भावना र विचारहरूलाई कुहिनबाट रोक्नेछ । सुदुूर भविष्यमा ‘ममी’ खोज्दै कोही आउँछन्, आउँदैनन्, थाहा छैन तर हेर्न आउनेहरूले कविताका केही हरफले बोकेका मानव जीवनसँग जोडिएका केही अर्थहरू पक्कै पाउनेछन् । सुदूर भविष्यसम्म कवितामा आˆनो आत्मा सुरक्षित रहने कल्पना कसलाई सुन्दर नलाग्ला ?
आफू मर्दा पनि म नमरोस् भनी म कविता लेख्छु ।
मान्छेको देहको आयु हुन्छ । यो जन्मन्छ र मर्छ । तर, कविताका विचार-विम्बहरूको आयु अनन्तकालसम्म रहन्छ । कहिल्यै नमर्ने त नहोला तर लामो समयसम्म नमर्ने । विचारको माध्यमले, मान्छेले आफू जन्मेअघिको र मृत्युपछिको समय पनि सोच्न सक्ने भएकाले ऊ भिन्न प्राणी हो । कविता सोच्दा र लेख्दा, यस्तो कल्पना गर्न सकिने भएकाले म कविता लेख्छु । कविता लेखन विशेष अनुभव हो । मलाई यो अनुभव धेरै पि्रय छ ।
यही पि्रय अनुभवको मोहले म कविता लेख्छु ।
मान्छे आत्मकेन्दि्रत हुँदा खुम्चन्छ । आत्मकेन्दि्रतता सङ्कुचन हो । मान्छे आत्मकेन्द्रित बन्दै नितान्त आˆनो र आˆनो परिवारका निम्ति मात्र बाँचेको कदाचित सुन्दर हुँदैन । बरु कुरूप हुन्छ । कविताले कविलाई आत्मकेन्दि्रतताको पर्खालबाट बाहिर निकाल्छ । बाहिर निस्कन सक्दा कविता र कवि झन् सुन्दर देखिन्छ । कविताले कविलाई कहिलेकाहीँ कल्पनामा आरुढ गराई हिमाल, पर्वत, डाँडाकाँडामाथि अनन्त आकाशमा लैजान्छ भने कहिलेकाहीँ यथार्थको जमिनमा हिँडाउँदै व्याप्त गरिबी, अन्याय र विभेदसँग भेट गराउँछ । अनन्त आकाशमा उडेर कविताले विस्तृति प्राप्त गर्छ भने यथार्थको जमिनमा वास्तविकतासँग भेट भएर गम्भीरता प्राप्त गर्छ । फेरि जीवनमा आइपर्ने कुन चाहिँ त्यस्तो दुःख छ, जसलाई कविताले फोर्न नसकोस् । कविताको नैसर्गिक आशावादिताको अगाडि जीवनको गहिरोभन्दा गहिरो दुःख पनि कमजोर छ ।
कविताको नैसर्गिक आशावादिताका लागि पनि म कविता लेख्छु ।
म कविताको चरित्रमा सामाजिक संचेतनालाई राख्न चाहन्छु । सामाजिक संचेतनामार्फत समय र समाजसँग संवाद गर्न चाहन्छु । मलाई थाहा छ, समय र समाजसँग कुशलतापूर्वक संवाद गर्न कठिन छ तर कठिनता संवाद नचाहनुको कारण हुन सक्दैन । कविहरू असल मान्छे हुन् । कविताको आत्मा नै स्वतन्त्रता हो । तर, त्यो स्वतन्त्रता निरपेक्ष छैन ।
कुनै क्षणलाई कविताले छोएर बेस्सरी बाँच्नु र सामान्य क्षणमा फर्किइसकेपछि त्यो विशेष क्षणलाई स्मृतिमा सुरक्षित राखेर समय-समयमा सम्झिनुको बेग्लै आनन्द छ । अतीव प्रिय त्यस्ता सम्झनाहरू नै वास्तवमा हाम्रो उत्तरार्धको पुँजी हो, जसले हाम्रो जीवनलाई शुष्क र बूढो हुनबाट जोगाउँछ ।
आफ्नो जीवनलाई बूढो हुनबाट रोक्न म कविता लेख्छु ।
म कविता किन लेख्छु भन्ने प्रश्नको एउटा मात्र जवाफ छैन । अनेक जवाफ छन् । अनेक जवाफ जन्माउने ठूलो गर्भस्थल हो कविता । कविताको व्याप्ति सायद त्यही होला । जवाफहरू पनि जन्मने क्रममै छन् । कति प्रस्ट छन्, कति प्रस्ट भइसकेका छैनन् । कारणहरू अनेक भएकाले कविता लेखन सोचेभन्दा सायद जटिल छ । कविता कदाचित् बाह्रखरी होइन ।
कविता वर्तमानको सर्वाधिक सुन्दर अनुभव हो भने भूतको सर्वाधिक सुन्दर स्मृति ।
त्यसैले म कविता लेख्छु । तपाईं पनि किन कविता लेख्नुहुन्न ?
(शेरचनको निबन्धसंग्रह 'धोबीघाट एक्सप्रेस'बाट ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...