के गाउँ के सहर, घरपरिवार साथीभाइ भेटघाट तथा विवाहका भाेजभतेर लगायतका अन्य सांस्कृतिक तथा भौतिक सभा समाहराेमा साेमरस अर्थात् मदिरा सबैको प्रिय भएको छ । जुस खाऊ, सोध्नेभन्दा मदिरा पिऊ न भन्नेको जमात बाक्लो छ । अझ पाहुना तथा आफन्तको स्वागत सत्कारमा मदिरालाई पहिलो प्राथमिकतामा राखिन्छ । भलै मदिराका धेरै बेफाइदा छन् तर मानिसहरू फलफूलको रसभन्दा रक्सीलाई धेरै मन पराउने गर्छन् । स्वागत सत्कारका निम्ति जुसका परिकारभन्दा मदिराका भेराइटी धेरै राखिएको हुन्छ । ठूलाठूला विवाहका भाेजभतेरमा मदिराका ब्रान्ड हेरेर पार्टीको मूल्याङ्कन गरिन्छ । सरकारी तहका कूटनैतिक पार्टीमा मदिरा अनिवार्य जस्तो गरेर राखिएको हुन्छ । वास्तवमा मदिरा आधुनिक युगको प्रिय पियपदार्थ भएको छ । के वृद्ध के वैश्यक, मदिरा प्रायःजसोकाे राेजाँइभित्र परेको हुन्छ ।
मदिरा पारखीबिच एउटा भनाइ छ, 'मदिरा पिउन बहाना सिवाय अरू केही चाहिँदैन ।' जाडो, गर्मी, शाेक, उत्सव जेजस्तो अवस्थामा पनि मदिरा पियक्कडलाई मदिरा चाहिन्छ । मदिरा पिउनुका अनेक अर्थ छन् । तर ती तमाम अर्थको एक मात्र सार उद्देश्य भनेको मात्नु हुन्छ । कोही पिएर धेरै उत्तेजित हुन्छन्, झैझगडा तोडफोडमा उत्रिन्छन् भने कोही कम उत्तेजित हुन्छन्, लट्ठ पर्छन्, आफ्नै सुरमा बसेका हुन्छन् । मदिरा पारखी मौसमअनुसार पिउछन् पनि । गर्मीमा चिसो अर्थात् चिल्ड बियर, जाडोमा गर्मी दिने रम, तनावमा पिडा भुलाऊ अल्कहाेलकाे मात्र धेरै हुने ठर्रा पिउँछन् । अलिक रोमान्टिक मुडमा भने नरम खाल्काे वाइन पिउन मन पराउने जमात धेरै रहेको छ ।
नेपाली चित्रपटका चर्चित कलाकार सन्तोष पन्तले धमलाको हमला कार्यक्रममा ऋषि धमलाको प्रश्न तपाईँ रक्सी अत्यधिक पिउनु हुन्छ भन्ने प्रश्नमा, पन्तले जबाफमा "रक्सी खानुको मज्जा बेग्लै छ ! यसको स्वाद र नशामा बेग्लै आनन्द छ ।" वास्तवमा भन्ने हो भने रक्सी जसले पिउँछ, उसलाई त्यसको वास्तविक स्वाद र मज्जा उपर राम्रो जानकारी भएर पिउने हो । अर्कोतिर मदिराको खपत संसारभर बढ्दो छ । नेपाल जस्तो सीमित राजस्व सङ्कलन गर्ने राष्ट्रमा मदिरा व्यवसायबाट राम्रो राजस्व आर्जन भएको छ ।
अक्सर मूलधारका राष्ट्रिय मिडियामा ठूलाठूला विज्ञापन साेमरस अर्थात् मदिराका देखिएका छन् । पत्रकारिताको मूल्यमान्यता विपरीत ज्याकेट विज्ञापनदेखि अन्य पानामा ठुलै स्थान मदिराका विज्ञापनले ओगटेका हुन्छन् । सहर बजारका भित्ताभित्तामा मदिराका ठूलाठूला हेडिङले भरिएको छ । गाउँ, गल्ली, टाेलका ससाना भट्टीदेखि सरहका तारे हाेटलमा मदिराको खपत राम्रो छ । अर्को रोचक कुरा के छ भने मदिरा व्यवसायले धेरै मुनाफा दिएको छ । यी यावत कारणले गर्दा मदिरा राम्रो आम्दानीको मुख्य स्रोत भएको छ । एकातिर जनमानसमा यसको लोकप्रियता दिनानुदिन बढ्दो छ भने अर्कातिर राज्यकोषमा अर्बौँको राजस्व भरिदिएको छ । त्यसकारण पनि मदिराको चर्चा सदाबहार हुने गरेको छ । राज्यले नखानु खाए असर पर्छ, अवस्था खराब हुन्छ भनी निर्माण गरिएका जनहितका विज्ञापन प्रसारण गरे पनि, मानिस मदिरा पछि दौडिएका हुन्छन् । पिउन लालायित हुन्छन् ।
तुलनात्मकरुपमा हेर्दा मदिराभन्दा फलफूलको रस र गोरस सेवन गर्दा धेरै फाइदा हुन्छन् । डाक्टरले पनि मदिरा नखानु जुस र गोरस धेरै खानु भनेर सुझाव दिन्छन् । तर विडम्बना हाम्रा सांस्कृतिक चाडपर्वमा जुसभन्दा सोमरसको प्रयोग धेरै हुन्छ । अझ आदिवासी जनजातिको रीतिरिवाजमा रक्सी पिउनु आफ्नै ठाउँमा छ, पूजाआजामा समेत मदिरा अनिवार्य समावेश गर्नुपर्छ । नत्र पूजाआजा, सांस्कृतिक र धार्मिक चाडपर्व अपुरा हुन्छन् । अर्को रोचक कुरा के छ भने नेपालमा फलफूलकाे रस पूजाआजामा चढाउने समुदाय कति होलान् ? कुन कुन चाडपर्वमा मठ मन्दिरमा जुस अर्पण गरिन्छ होला ? हाम्रै वरिपरिको भएका विभिन्न समुदायका चाडपर्व मनाउने शैली हेर्दा यी प्रश्नको उत्तर मिल्छ । फलफूलको रस चढाउने रीतिरिवाज भएको समुदाय सायदै होला । जबकि मदिरा पिउने संस्कार छ, संस्कृति समाजमा व्याप्त छ ।
नेपाल मात्र नभएर संसारको जुनसुकै कुनामा मदिराको आफ्नै विशेषता र महत्त्व छ । परापूर्वकालदेखि मानिस मदिरा सेवन गर्दै आएको विभिन्न समाजशास्त्रिय खाेजबाट पुष्टि भएको छ । मदिरा घरेलुदेखि बहुराष्ट्रिय कम्पनीबाट उत्पादन हुनेगर्छ । जसकारण मदिराको खपत र लोकप्रियता दिनानुदिन बढ्दो छ । ठूलाठूला सभा सम्मेलनदेखि पारिवारिक तथा भेटघाट मदिरा बिना अपुरो हुन्छ । वास्तवमा मदिराको आफ्नै शक्ति छ , नशा छ र मानिसलाई यसले दास बनाएको छ । रक्सी पिएर घर खेत बेचेर घरबारविहीन भएका, रक्सीकै कारण पारिवारिक तनाव भएर घरबार बिग्रेका, रक्सी धेरै पिएर स्वास्थ्यमा जटिल रोगले ग्रस्त भएका कयौँ उदाहरण हाम्रै समाजमा छन् । जबकि फलफूलको जुस खाएर, दूध दही खाएर घरबारविहीन भएका, स्वास्थ्यमा जटिल अवस्था सृजना भएको व्यक्ति छैनन् र भेटिदैंनन् पनि । जुस, दूध, दही खाएर घरमा कलह भएको घटना सायदै भेटिएला । तर मानिस किन मदिराप्रति आकर्षित भएको ?
अहिलेको आधुनिक समाजमा रक्सी नपिउने मान्छे एकदम कम छन् । कसैले म पिउँदिन भन्यो भने हत्तपत्त कसैले विश्वास गर्ने अवस्था छैन । मदिरा पिउनुमा साथीसँगकाे सङ्गत, लहलहै, आधुनिकीकरण र सांस्कृतिक पक्षले मानिसलाई मदिरा मैत्री बनाएको छ । अर्कोतिर मदिराले मानिसलाई आफ्नो अधीनमा राख्न सफल भएको छ । अझ नशामार्फत आफ्नो दास बनाएको छ । रक्सीले बनाउने भन्दा धेरै भत्काउने काम गरेको छ । एक खाले जमातले मदिरालाई साथीभाइ बढाउने र सम्बन्ध बनाउने सेतुको रूपमा विश्लेषण गरेको पाइन्छ । तर विडम्बना मदिरा सीमित मात्रामा पिएर बस्ने व्यक्तिभन्दा सामाजिक कलहमा उत्रिने व्यक्ति धेरै छन् । यसले व्यक्तिको आर्थिक सामाजिक पक्षमा ठुलो प्रभाव पारेको छ । धेरै पियक्कडलाई न घरको न घाटाको बनाएको छ । हो, मदिराबाट राज्यले माेटाेमात्रामा राजस्व सङ्कलन गर्छ । केही समुदायको सांस्कृतिक पक्षसँग जोडिएको छ । तर मदिराका असरलाई राज्य र समुदायले सामान्यीकरण गर्नु हुँदैन । माथि उल्लेख गरिएका समस्यालाई राज्य र समुदाय दुवैले नजरअन्दाज गर्न मिल्दैन । यदि कसैले नजरअन्दाज र सामान्यीकरण गर्न खोजे उक्त प्रयासले नराम्रो प्रभाव अवश्य पार्नेछ ।
भारतमा थुप्रै ड्राइ जाेन छन्, जहाँ रक्सी पिउन र बेच्न अनुमतिपत्र चाहिन्छ । व्यक्तिलाई सीमित मात्रामा मदिरा बेचिन्छ पनि । न्यूजिल्याण्डले धूम्रपानलाई पुर्णरुपले प्रतिबन्ध लगाउँदै छ । तर नेपालमा भने मदिरा नपाउने स्थान छैन । जहाँ पनि उपलब्ध हुन्छ । मन्दिर, घर, विद्यालय, अस्पताल, कार्यालय आसपासमा मदिरा बेच्ने पसल यत्रतत्र खोलिएका छन् । यसमा राज्य र समुदायले विचार एवम् मनन गर्ने कि ?
देशमा मदिरा उपर जनमतसंग्रह गर्ने हो भने जनमानसको गतिविधि हेर्दा मानिसको राेजाँइ देख्दा मदिरा पिउनु पाउनुपर्नेमा मत जाने सम्भावना बढी देखिएको छ । मदिराको खपत र व्यक्तिको राेजाँइले उक्त कुराको छनक दिएको छ । मानिसको चाहाना मदिराप्रति किन बढ्यो भन्ने सन्दर्भमा मदिराले मात्न सिकाएको छ, आधुनिक मानिसलाई मात्नुमा मजा मिलेको छ । र त मदिरा मानिसको प्यारो भएको छ । यसो भनिरहँदा राज्यले आफ्नो अभिभावकीय अभिभारा भुल्न हुँदैन । समाजका अगुवाहरूले आफ्नो आँखा र मस्तिष्क खोल्न आवश्यक छ । मुख्यतः जसरी हुन्छ समाजलाई नशाबाट मुक्ति दिलाउनुपर्छ । नत्र हाम्रो जस्तो समाज ढिलाेचाडाे भत्किने छ । विसङ्गति र कुलतको मार्गले राष्ट्रको मुटु मानिने युवा जमातको भविष्यलाई तहसनहस पार्नेछ । त्यसकारण राज्यले मदिरा तथा अन्य नशाजन्य बस्तुलाई प्रतिबन्ध लगाउनुपर्छ अनि मात्र हाम्रो समाजमा आशाका किरण देखिनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...