अल्कोहल भनेको के हो ?

-पिउनयोग्य एक देखि ७५ प्रतिशतसम्म इथाइलको मात्रा भएको पेय पदार्थलाई अल्कोहल भनिन्छ । अन्न, फलफूल आदि चिनीको मात्रा रहेको खाध पदार्थलाई खमीर(इष्ट) राखि सडाएर (किण्वन) रक्सी बनाउने प्रक्रिया सुरु गरिन्छ । यसरी उत्पादित अल्कोहलमा इथाइल, कार्बनडाइअक्साइड, ग्याँस र पानीको मात्रा एकैसाथ उत्पादन हुन्छ । यो अल्कोहल बनाउने आधारभुत प्रक्रिया हो । जसबाट छ्याङ, जाँड, बियर, वाइन जस्ता अल्कोहलहरु उत्पादन हुन्छ ।

यसरी उत्पादित अल्कोहललाई वा कच्चा पदार्थलाई वास्पीकरण (डिस्टिलेसन) गरि पुन अर्को अल्कोहल तयार पारिन्छ । यसलाई स्पिरिट भनिन्छ । यसरी उत्पादित अल्कोहललाई विभिन्न नामाकरण गरिन्छ जस्तैः भोड्का, रम , जिन, ह्विस्की, टकिला आदि । यसलाई अल्कोहल उत्पादन गरिने कच्चा सामाग्रीहरुको आधारमा नामाकरण निर्धारण गरिन्छ । जस्तो कि जुनिपर वेरी झारबाट जिन, टकिला एभबाट टकिला, उखुको मोलासेसबाट रम, आलुबाट भोड्का, जौ तथा गहुँबाट ह्विस्की आदि बन्दछ ।

अल्कोहलको प्रकार हुन्छ ?

-अल्कोहलको धेरै प्रकार हुन्छन् । तर मानव शरीरले पचाउन सक्ने सिमित मात्राको अल्कोहल इथाइल अल्कोहल हो । यदि यसलाई वाष्पीकरणको प्रक्रियाबाट तयार पारिन्छ भने त्यसलाई स्पिरिट पनि भनिन्छ  । यहाँ स्मरणीय र बुझ्नुपर्ने कुरा के हो भने सबै स्पिरिट पिउनयोग्य अल्कोहल होइन तर इथाइल पनि स्पिरिट हो । यदि किप्वन(फर्मेन्टेड) प्रक्रियाबाट बनाइएको भए स्पिरिट भनिँदैन ।

इथाइल र अन्य अल्कोहलमा के फरक छ ?

-अल्कोहलको प्रकृति नै रङ्ग र गन्धरहित हुन्छ । तर सबै प्रकारको वाष्पीकरण प्रक्रियाबाट तयार पारिएकोमा मात्र यो सिध्दान्त लागू हुन्छ । सबै प्रकारको अल्कोहलको प्रकृति समान देखिए पनि मानव स्वास्थ्यमा इथानोल बाहेकको अल्कोहलले बढि नकारात्मक असर पार्दछ । जसको कारण मृगौला ड्यामेज, मस्तिष्क ड्यामेज, लिभर ड्यामेज हुने गर्दछ । अल्कोहलको कारण हुने अधिकांश मान्छेको मृत्यु यही इथाइल वाहेकका अल्कोहलका कारण हुने गर्छ ।

नक्कली रक्सी भनेको के हो ?

-आजको प्रतिस्पर्धात्मक बजारमा रक्सीलाई बढि नशालु बनाउने उद्वश्यले अल्कोहल उत्पादन गर्ने प्रक्रियामा अखाद्य र खराब रसायनको प्रयोग गर्दा इथाइल नभई मिथाइल लगायतका अल्कोहल उत्पादन हुन पुग्छ । यसरी उत्पादित अल्कोहल के हो भन्ने ल्याव परिक्षण नगरी थाह हुँदैन । यसकारण हर रक्सीको उत्पादन पश्चात् ल्याव गर्नु अति आवश्यक छ । पिउँदा अन्य अल्कोहल सरह नशा लाग्ने हुँदा अधिकांशलाई यस्तो प्रकारको अल्कोहलको गुणस्तर नै थाह हुँदैन । जब स्वास्थ्यमा समस्या आउँछ तब मात्र थाह हुन्छ नक्कली अल्कोहल भन्ने कुरा । प्राय गरेर यस्ता प्रकारका अखाद्य अल्कोहल घरेलु प्रविधिमा र व्यावसायिकरणको लागि उत्पादिन लेवलरहितमा धेरै पाइन्छ ।

वाइन भनेको के हो ?

-हाम्रो समाजमा सामान्यतया वाइन भन्नाले समग्र अल्कोहल अर्थात् रक्सीलाई बुझिए पनि यसको क्षेत्र फरक छ । वाइन भन्नाले कुनै फलको गुदी वा रसलाई सडाएर (फर्मेन्टेसन)गरि तयार पारिने इथाइल अल्कोहलयुक्त झोल पदार्थ हो । वाइन धेरै प्रकारका हुन्छन् । जसमा गुलियो, हल्का गुलियो अथवा रङको आधारमा सेतो, रातो र रोज वाइन हुन्छ । बनाउने प्रक्रियाको आधारमा उपरोक्त बाहेकको स्पार्कलिङ थपिन्छ जसमा कार्बनडाइअक्साइड ग्यास भरिन्छ । पिउने तरिकाको आधारमा नेचरल, टेबल वाइन लगायतका हुन्छन् ।



अन्तर्राष्ट्रिय स्तरको अल्कोहलमा किन र कसरी फरक छ ?

-सामान्य अन्तरास्ट्रिय अभ्यास भनेको वाइन अंगुरबाटनै बनाइन्छ । तर हाल अन्य फलफुलबाट पनि बनाउने प्रचलन आएको छ । स्तरिय र प्रचलित प्राय वाइनहरु अंगुरबाट नै बनेका हुन्छन् । तर देश, भूगोल अनुसार वाइनको नाम फरकफरक राखिन्छ । वाइन बनाउने मुख्य कच्चा पदार्थ भनेको अंगुर नै हो । अंगुरको गुणस्तर माटो, हावापानी र प्रजाती अनुसार फरक हुन्छ  । र त्यहि अंगुरको प्रजातीको नाम अनुसार नै स्तरिय वाइन उत्पादक कम्पनीहरुले वाइनको ब्रान्ड नाम स्थापित गरेका हुन्छन् । जसमा फ्रान्स, इटाली, क्यालिफोर्निया, दक्षिण अफ्रिका, जर्मन, स्पेन अगाडि छन् भने विश्वको अधिकांश देशहरुले आफ्नो क्षमता अनुसारको वाइन उत्पादन गरिरहेका छन् ।

स्याम्पेन भनेको के हो ?

-खासमा फ्रान्सको एउटा जिल्ला वा क्षेत्रलाई स्याम्पेन भनिन्छ । उक्त क्षेत्र वाइन उत्पादनको लागि लोकप्रिय मानिन्छ । यसकारण त्यहाँ उत्पादन भएको वाइनलाई स्याम्पेन वाइन नामाकरण गरिएको हो । यस वाइनमा इथाइल अल्कोहल, कार्बनडाअक्साड ग्यास र पानी निहित हुन्छ जसलाई खोल्न पनि सीप चाहिन्छ । स्याम्पेन वाइनलाई जन्मदिन, विवाह, एनिभर्सरी तथा विविध उत्सवमा खोलेर मनोरञ्जन लिने गरिन्छ । तथापि यसरी मनाइने सबै उत्सवहरुमा स्याम्पेन नै हुन्छ, भन्ने चाहिँ छैन स्पार्कलिङ पनि हुन्छन् । यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भने स्याम्पेन स्पार्कलिङ हुन्छ तर सबै स्पार्कलिङ वाइन स्याम्पेन हुँदैनन । स्पारकलिङ भनेको वाइनमा कार्बनडाइ अक्साइड ग्याँस हुनु हो ।

 

(खाद्य तथा पेय विशेषक्ष कडेँलका करिब दुई दर्जन खाद्य, पेय तथा रेसिपीसम्बन्धी पुस्तक प्रकाशित छन् ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

नुरराज कडेँल

लेखकबाट थप...