डा. वामदेव पहाडी

मेरो पुस्तक 'विवेक र मन्थन' को एक लेखमा खसहरूको उत्पत्ति र प्रवेशको क्रममा दुईचार कुरा भन्दै प्रकारान्तरले भन्न खोजेको थिएँ:

[१]

रामायण, महाभारतदेखि मनुस्मृति, हरिवंश पुराण, विष्णु पुराण समेतमा उद्धृत खस, शकलाई लिएर हाम्रो प्राचीन खस जाति र भाषाको सन्दर्भमा मनगढन्त कुराहरू गरिरहनुपर्ने आवश्यकता छैन । तिनको थोरघेर मिल्दाजुल्दा शब्दरूपको जो प्रसङ्ग देखाइन्छ, त्यसको प्रामाणिक कडी जुट्दैन ।

[२]

हेरोडोटस र त्राबोको स्किथिक, सर्क, सस (Skythus, Saki & Serse), तोलेमी (Ptolemy- दोस्रो शताब्दी) र ऐटकिन्शनको खसीर, कसी (Cesi) को विद्यमानताको सन्दर्भाधारित सक < शक भन्ने जातिले सिन्ध नदीको घाँटीमा जरो गाड्दै, पछि तक्षशिला, मथुरा, नासिक र उज्जैनीमा राज्य स्थापना गरेको थियो । दोस्रो शताब्दीको बीचमा यो जाति हाम्रो गण्डकी, कोसी र कर्णाली प्रदेशमा पनि बसिसकेको थियो भन्ने कतिपय इतिहासवेत्ताको राय छ ।

[३]

पहलब र शक एक अर्कामा मिश्रित भएका थिए । यसरी शक्तिशाली बनेका शक सङ्घहरू कुशाण शालवाहन र गुप्तवंशीय राजाहरूबाट पराजित में दिन होन भएर हेय दृष्टिले देखिन्थे र कालान्तरमा, राजसी स्तरबाट खसेर हेय जीवन बिताउनुपर्ने हुँदा शक शब्दमा अर्थ र रूपको परिवर्तन भएर 'खस' को व्युत्पत्ति हुनु कष्टसाध्य छ, तर असम्भव नहुन सक्तछ ।

प्रथम ईस्वी सन्को प्रारम्भ हुनुअघिसम्म नेपाल समेत सम्मिलित हुने गरेको आर्यावर्तभित्र शक प्रविष्ट हुनसकेका थिएनन् भने चिनियाँ इतिहासकारहरूको भनाइको कुनै स्वतन्त्र साध्य छैन । रामायण-महाभारतको रचनाकाल लगभग २०५० ईपू. वेद रचनाकालको पश्चात् आर्य जाति र संस्कृति स्थिर भैसकेपछि नै रचना भएको मान्नुपर्दछ । अनेक ग्रन्थहरूमा वर्णित खस जाति, आफ्नो सामाजिक स्तर गिरेबाट हुनसक्छ । आर्येतर जाति बनेको होस् र यूइचो, कुशाण शकले समेत यिनलाई पददलित गरेका होऊन् । हुन नसके होइन कि शासकीय दर्जाबाट स्थति (स्खल > खस) भएर यस जातिको उत्पत्ति भएको होस् । तर यस्ता अनुमानहरू साक्ष्यसम्मत छैनन् ।

यूनानी इतिहासकार तथा खगोलशास्त्री जेठा प्लिनी (Pliny: AD. 23-79) ले खसीर, कत्रीबाेनी वा कसीकाे उल्लेख गर्छन् जो एक पहाडी जाती को रूपमा सिन्ध र यमुना नदीको मैदानमा बस्तथ्याे । बसाई सर्दै कोही उडीसा कश्मीर, कुमाउँ, गढवाल, डोटी, अछाम र अन्य पहाडी भागमा खसको रूपमा बसेको हुनसक्दछ । यस तथ्यबाट प्रायः सबै सहमत छन् कि तिनै खसहरूको खस भाषाबाट नेपाली भाषा विकसित भएको हो । अनुसन्धान गर्दै जाँदा यस विचारबाट सहमत हुनुपर्दछ, किशक र खस शब्द एउटै शब्दको विकर्ष वा विपर्यय होइनन् स्वतन्त्र हुन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले खस शक र गुर्जर समेतलाई सगोत्री ठान्छन् । यथाकाल बिछुट्टिएर फेरि जुटेको भन्छन् । आर्य-ईरानी परिवारका भएर पनि यिनको भाषा संस्कृत भयो रे । राहलु सांकृत्यायनले पनि शकलाई खसहरूकै वंशज मान्छन् । यिनले शकको मूलस्थान चीनको सिङक्यांग भएको भन्दै हूणद्वारा धपाइएर भारतीय उपमहाद्वीपमा ई. पु. २००० तिर प्रवेश गरेको मन्छन् । यो तथ्य चीनियाँ इतिहासकारहरूबाट समर्थित छैन । उनी भारतमा शकको प्रवेश इस्वी सनकाे प्रथम शदीभन्दा अघि भयो भन्ने कुरा स्वीकार्दैनन् । पण्डित राहुल र बाबुराम आचार्यको यो कथन कि शकहरू खसका वंशज थिए वा शक र खस सगोत्री थिए- धेरैले स्वीकार गर्दैनन् । यो कुरा स्वतन्त्र प्रमाणको भन्दा अनुमानमा आधारित छ । शक, कस, खस शब्दहरूमा ध्वनि र वर्ण परिवर्तन भएर एकको अर्काे रूप हुनसक्छ । भाषावैज्ञानिक नियम अनुसार, अल्पप्राणीय वर्ण महाप्राणीय भएर अथवा वर्णको स्थान परिवर्तन भएर शब्दको रूप परिवर्तन भैरहन्छ । त्यति हदसम्म मात्र कतै अल्पसंख्यक रूपमा रहेकाहरू बहुसंख्यक जातिसँग मिश्रित भएको हुन सम्भव छ । सम्पूर्ण जाति नै एक अर्कामा मिस्सिएर एकाकार भयो विचार युक्तिसङ्गत ठहर्दैन ।

श्री आचार्यले कुशाण र हूणलाई पनि खसकै सगोत्री मान्छन्, जो ऐतिहासिक रूक्काहरूबाट मिथ्या सिद्ध हुन्छ । आर. सी. मजूमदार लगायतका अन्य इतिहासकारले बरू भारतीय पार्थियन नै पहल भएका र सक-पहलको मिश्रण भएको जो तथ्य प्रस्तुत गर्छन् त्याे ज्यादा समीचीन र विश्वसनीय लाग्छ मजूमदार लिखित इतिहासमा ई. पू. २५० तिर वैक्ट्रिया र पार्थिया सिल्यूकस निकेटरको राज्यअन्तर्गत रही पछि विद्रोह गरेका थिए । बैक्ट्रियाउपर यूनानी गवर्नरले विद्रोहको दमन गरेका र आधिपत्य लिएका थिए तर पार्थियाको स्थानीय प्रमुख आर्सेकस (Arsaces) लाई ऐन्टीओकस तृतीयले दबाउन सकेनन् । उनले आर्सेकसको सत्ता स्वीकार्नुपर्याे । यिनै ऐन्टीओकसकाे ज्वाइँ दमेत्रियसले मौर्य राजा बृहलाई हराई उनको केही क्षेत्रउपर अधिकार जमाएका थिए । आर्सेकसदेखि पार्थियन राज्यको प्रादुर्भाव भई ई. पु. दोस्राे शताब्दीको आरम्भमा पार्थियन राजा मिथ्रुडेट्सले सिंधुसम्म राज्यविस्तार गरे अर्काे राजा मास (Maues) ले पञ्जाबमा पनि राज्यविस्तार गराए । पार्थियन राजा र कुमारहरूको कन्दहार र पेशावरउपर सत्ता कायम भएको थियो । N.W.F. .P. मा रहेको तख्त-ई-वहीमा पार्थियन नृप गोन्डोफेयर्स (Gondofernes-?) बारे विस्तृत उल्लेख छ ।

घुमन्ता शकहरू बंजारा जातिका थिए । यो सिर दरिया (Syr Daria) वा जक्सास (Jaxartes) नदीको उत्तरी किनारमा बस्तथे । यूएहची जातिबाट अपहृत गरिए र वैक्ट्रियामा आइ बसे र त्यहाँको हेने हेनिस्टिक राजतन्त्रलाई भ्याएपश्चात् विभिन्न दलमा विभक्त भै भारत पसे । यिनको बस्ती उसबेला, हेलमन्द नदीको किनारमा जरूर बस्यो होला किनकि त्यस स्थलको नाम सकस्थान अहिले बिग्रेर सिस्तान (Serstan) रहेको छ । सकका तमाम राज्य (प्रिन्सिपैलिटी) थिए, मथुरा-तक्षशिला उत्तरी भारतमा र मालवा काठियावाद, पश्चिमी भारतमा ।

उत्तर पश्चिम चीनमा बस्ने टर्कीश-ट्राइबका यूएह-चीलाई ई. पू. ६५ तिर हूणहरूले धपाएका थिए । यी यूएह-ची जातिले जक्सार्त्स नदीको उत्तरमा बसेका शकहरूलाई धपाए । यस युएह-ची जातिकै कुशाण-प्रधान कोजोल कैडफिस (कदफीस) वा कैडफिस प्रथमले ग्रिक र पार्थियनहरूसँग लड्दै, पराजित गर्दै भारतको पश्चिमी सीमासम्म राज्य विस्तार गरे। कुशाण-वंशीय राजा कनिष्क (राज्यारोहणकाल ७८ ई.) यस वंशका प्रसिद्ध राजा थिए । जसको दरबारमा आयुर्वेदका महापण्डित चरक, बुद्ध मतावलम्बी-कवि र पण्डित अश्वघोष रहन्थे । पार्थियनहरू पहलब भएका र सकहरूसँग मिलेर शक क्षत्रपको स्थापना गरेकाले र यिनै पछि कुशाण-वंशीय राजाहरूबाट पराजित गरिएकाले हुण, कुशाण र शकलाई सगोत्रीय वा एकवंशीय मानेर काम चल्दैन ।

[४]

खस भाषा, खस जातिको प्रवजन र विस्तारको साथै विभिन्न स्थानीय बोलीको प्रभाव र मारलाई सहुँदै सघाउँदै नेपालभिन्न ईसाको चौथो पाँचौं शताब्दीदेखि नै प्रचलनमा रहेको अनुमान गर्न सकिन्छ । यो अर्को कुरा हो कि त्यसको भाषाको रूप प्रकटमा प्राप्त हुन सकेको छैन । मोटामोटी तवरले हेर्दा, संस्कृत भाषाको काल इ. पू. १५०० देखि ५०० इ. पू. सम्म र पालिको इ. पू. ५०१ देखि ए.डी. पहिलो शताब्दीसम्म मानिन्छ । प्रथम इस्वी देखि प्राकृतको बोली व्यवहार चली ५०० इस्वीसम्म रहेको र यसकालमा क्षेत्रीय बोली शौरसेनी आदिको उदय भएको हो । अपभ्रंशको काल इ. पू. ५०१ देखि १००० इस्वी सम्म मानिन्छ । नेपालभित्र प्रवेश गरेर भाउने खसहरूको प्रारम्भिक खस भाषा उपर प्राकृतको यथेष्ट प्रभाव परेको हुनुपर्छ । प्राकृत पश्चात् अपभ्रंश भाषाकालमा प्रचलित रहेका जातीय भाषा जो थिए, तिनको भाषागत रूप निक विकृत हुन जानु स्वाभाविक हो । इस्वी सन् ५०१ - १००० वा विक्रमको १०५७ सम्म तुरुन्त पछि यस अर्थात् प्राचीन नेपाली भाषाको नमूना कतै पाइएको छैन । पूर्व प्रज्ञा प्रतिष्ठान सदस्य बालकृष्ण पोखरेलको पाँच सय वर्ष' मा उद्धृत अपाडराज पुण्य मल्ल राइको संवत् १३६३ को ताम्रपत्र भन्दा पुरानो संवत् १३२१ को खसराजा आदित्य मल्लको प्रभिलेख नं अहिलेसम्म प्राप्त भाषाको प्राचीनतम रूप हो ।'

'पाँच सय वर्ष' मा बालकृष्ण पोखरेलले संवत् १३३१ र १३२७ मा क्रमश: भारतको गया र कमायुं राजा पुरूषोत्तमको अभिलेखमा भेट्टिएको खस नरेश अशोक चल्लको उल्लेख गर्दछन् जो क्राचल्लका छोरा भनिएका छन् । माथि उद्धृत प्रो. चूडामणि बन्धुको पुस्तकको पृष्ठ १८५ मा पृथ्वी मल्ल (१३३८-१३७६ सं.) क्राचल्ल (१२२३) सम्मको कालविभाजन गर्ने चेष्टा गरिएको छ । क्राचल्ल अशोक चल्लदेखि लिएर जुम्ला ( राजधानी-सिँजा) का खस नरेश पुण्य मल्ल पृथ्वी मल्लको बीचको ऐतिहासिक कडीलाई जुटाउन सकिएको छैन । तर यति त सहज स्वीकार्य हुनसक्छ कि पुरुषोत्तमको अभिलेखका अशोक चल्लर सिँजाली पृथ्वी मल्लमा वंशजको नाताे थियो । भौगोलिक र राजनीतिक कारणबाट दुवै अलग-अलग प्रदेशका खस-नरेशहरू थिए । उज्जैनी र मथुरा आदिका यीभन्दा प्राचीन खसहरूलाई २०/२० शत्रप (क्षत्रप) मा फैलिएर राज्य विस्तार गरेको पाउँछाैँ । विभिन्न राजनीतिक, भौगोलिक, सामाजिक र साथिक कारणवश खसहरू सिंध र यमुनाका क्षेत्रबाट छरिँदै, सङ्गठित हुँदै-फेरिँदै - फुट्दै बसाई सर्न थाले तर तो सबका सब नेपालभित्र मात्र पसेनन्, भारतका यत्रतत्र स्थानमा पनि छिरिएर बसे । यो खसहरू जनसङ्गठन र युद्धकलामा पारंगत थिए, तथा समय र परिस्थितिअनुरूप आफूलाई ढाल्न सक्ने चतुर खालका थिए, संगठित भएर आफ्नो युद्ध-कौशल सूझबुझका आधारमा अनेक स्थानका यी शासक भएकै पटक पराजित भई हीनावस्था वरण गर्नुपरे तापनि आफूलाई मेट्न दिएनन् । फेरि समय र स्थान उनको अनुकूल हुने वित्तिकै सङ्गठन गर्दै जनतामा भिजेर फेरि फेरि राजा बन्दै रहे । यी अन्ततः वीर जाति बनेर अद्यावधि जीवित छन् । यो बोर जातिको भाषाको प्रचीनतम रूप माथि उद्धृत १३२१ को आदित्य महलको अभिलेख भन्दा पहिलेको पाउन नसक्नु दुर्भाग्य नै हो ।

खस जातिबारे नेपाली इतिहासका कतिपय लेखकहरूबाट रमाइला प्रसंग उदार्गिन्छन् राइट र टुचीको वंशावलीअनुसार पाल्पाका राजा मुकुन्दसेनले बाह्राै शताब्दीमा काठमाडाैँ-पाटन-भक्तपुर उपर आक्रमण गरेको तथ्य पुष्ट छैन । तर लेवीको वंशावलीअनुसार कर्नाटकका अन्तिम राजा हरिदेवउपर पाल्पाका सेन राजाले आक्रमण गरेको उल्लेख ईस्वी सन् १२५८ तिर गरिएको खस आक्रमणकै प्रतिबिम्ब के होइन ? ई. १२४४ मा मैथिल रामसिंहले नेपाल उपत्यकाउपर आक्रमण गरेका थिए । के उनी खस हुन् ? ई. १३१३ मा रिपु मल्ल खसियाले आनन्द मल्ल (राज्यकाल ई. १३१० र तदुपरांत) उपर आक्रमण गरेका आदित्य मल्ल खसियाले नुवाकोट, फपिङ्ग र पाटनमा अधिपत्य जमाएको ऐतिहासिक तथ्य ज्वलन्त छ ।

भारतीय इतिहासकार, एकताका त्रिभुवन विश्वविद्यालयमा इतिहासको प्राध्यापन गर्ने प्रो. विक्रमजित हसरतले उद्धृत गरेअनुसार यक्ष मल्लका द्वितीय पुत्र रत्न मल्ल (१४८२-१५२०) ले नुवाकोटको ठकुरीलाई पराजित गरेका र भोटिया सरदार काकूलाई धपाएर त्यसताकाको नेपाल उपत्यकाका फौजी बहादुर खस र मगरहरुलाई बसाएको ज्ञात हुन्छ । यिनले काठमाडौँका राजा भएपछि, भोटिया काकू र देवालाई धपाएपछि पाल्पाली खस वा खसिया लाई वोर्ता जग्गा दिएका थिए । पृथ्वीनारायणशाह उपत्यकाउपर यिनै (मगर र गुरुङ्गलाई पनि) लिएर विजयी भएको तथ्यको साथी ब इतिहास छ । पद्मगिरी र राइटको वंशावलीको आधारमा प्रो. हसरतले यो खसहरूलाई बाहुन क्षेत्री बाबुबाट उत्पन्न भएको भन्छन् । कुँवर पांडे र थापा बस्नेतहरू यसैका विभिन्न थर हुन् । तर वैदिक कालदेखि यिनको अस्तित्वको इतिहास फेला पर्ने रहेको देख्दा धेरै पछिको सृजना श्रोतलाई स्वीकार गर्ने कुनै कारण देख्दिनँ । चाँगु साँखु र दोलखा विजयकालमा, पृथ्वी नारायण शाहका वीर योद्धाहरूले एक उत्साह गीत (डागरेल) बनाएका थिए, जो यस प्रकार छ ।

सखोजी, मगर रोजी, वाहनको गोडा नेल ।

खसको थप तेल, बाहुनको चाला धूम थुम खाला ।

इस्वी १८३४ तिर नेपालमा रहेका सहायक अंग्रेज रेजिडेन्ट एस. आर टिकेलको लेखाइअनुसार तत्काल पूर्वी कमाण्डमा रहेका माथवर सिंहले अभिजात वर्गमा गनिने खसहरूबाट तिनले पहिलेदेखि पाइझाएको वीर्ता झिकेर बाहुनलाई वितरित गर्ने सुझाव दिएका थिए ।

काठमाडौँको राजगद्दी पाएपछि जयप्रकाश मल्लले खसिया, जैसी भानिल र राजलवंटहरूलाई राजसेवाबाट मुक्त गरिदिएका थिए । थारो खसियाहरूले जयप्रकाशलाई राज्य गर्न नदिई धपाएका पछि जयप्रकाशले थारीहरूलाई धपाए । थारी खसियाहरू फेरि जयप्रकाशकी रानी देववतीसँग मिली, उनको १८ महिने छोरा ज्योतिप्रकाश मल्ललाई राजा बनाउन, जयप्रकाशलाई फेरि धपाए । उनी धेरै दिनसम्म मातातीर्थ, गोदावरी, गोकर्णमा भाग्दै-लुक्दै गरे । पछि, गुह्येश्वरीमा आई योगीवाट खड्ग प्राप्त गरे र पुन: राजगद्दीमा बस्न सके। जयप्रकाशले पृथ्वीनारायण शाहलाई जुन भैमलहरूको विश्वास नगर्न भनेका थिए, तो खस जातिकै मानिस थिए, नेवार होइनन् भैमलहरूमा धेरैजसो बाहुन पनि छन् ।

पौराणिक ग्रन्थ र प्राचीन इतिहास लगायत द्वारा निर्दिष्ट सामग्रीबाट खसहरू वीर र सुसंस्कृत जातिका ने सिद्ध हुन आउँछन् । समयको चक्रमा गुड्दा उनले कुनै बेला हीन र निम्नस्तरीय सामाजिक इकाईमा परिणत हुनुपर्यो तर, त्यत्तिकैबाट उनलाई असभ्य, गँवार र प्रशिक्षित असुसंस्कृत भन्न सक्तैनाैँ । सदा परिवर्तित इतिहासको प्रवृत्तिले यसको स्वतन्त्र साक्ष्य प्रस्तुत गर्दछ । नेपाली इतिहासका पानाले पनि यी वीर, शासक र शक्तिसम्पन्न जातिलाई गरिमामय  रूपमा चित्रित गर्दछ । समाज र राजनीतिमा यो जातिले सदासर्वदा खेल्ने गरेको महत्वपूर्ण भूमिकालाई हेर्दा यिनको भाषा र साहित्य के प्राचीन र विकसित भएको हुनुपर्छ र यिनको कुनै स्वतन्त्र लिपि र इतिहास कर्त घर्तीको कुनै अज्ञात गर्भमा गाडिएर अप्राप्य रहेको छ भन्ने आशङ्कालाई बल मिल्दछ ।

त्यो खँदिदो भाषा, लिपि र साहित्य प्राप्त हुन नसक्नु एक बिडम्बना नै त हो । 

हाम्रा पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्‍यौँ, डा. वामदेव पहाडीद्वारा नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित 'विचारका केही क्षण'बाट 'खस जाति र भाषा'बारेको आलेख । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...