भूपी हुनुका कहाली किस्साहरू !
भूपी हुनुका कहाली किस्साहरू !
कवि श्यामल भन्छन्, “नेपाली साहित्यको स्तर र गुणवत्ताबारे बेलाबेला अनौपचारिक/औपचारिक मञ्चहरूमा बहस चल्छ । पत्रपत्रिकामा, सामाजिक सञ्जालहरू र भेलाहरूमा यस्तो बहस हुनु राम्रो हो । तर, हाम्रो बहसको केन्द्र के हो भन्ने स्पष्ट छैन । यस्ता बहसमा तर्क र प्रामाणिकताभन्दा अहम् र जिद्दी प्रकट भएपछि बहस व्यक्तिगत तुस पोख्ने माध्यममा बदलिन्छ र त्यसले उपयुक्त निष्कर्षमा पुग्न पाठकलाई मद्दत पुर्याउँदैन ।”
उनी आजभोलि कुनै रचना विशेष वा रचनाकार विशेषको उदाहरण दिएर बहस गर्नु अतिरिक्त जोखिम मोल्नुसरह भएको बताउछन् । बहसकर्ताहरू अलोकप्रिय होइने आशंकाले सत्य बोल्न हिच्किचाइरहेकाकाले बहसको भाषा अस्वाभाविक किसिमले अस्वस्थ र जीर्ण बन्दै गएको उनको मत छ । उनी अगाडि भन्छन्, “जस्तोसुकै किन नहोस्, बहस अब प्रारम्भ गर्नुपर्छ, रोक्नुहुन्न । सत्यको उद्घाटन र पक्षधरता अब नितान्त जरुरी भइसकेको छ । बहसकर्ताले शालीन र तार्किक भाषामा आफूलाई उपस्थित गर्नुपर्छ । बहसको अर्को पक्षले उस्तै शालीन भाषाको प्रयोग गर्दै यावत् विकृतिहरूको चिरफार गरेर साहित्य र कला जगत्लाई स्वस्थ बनाउने यत्न गर्नैपर्छ ।” (अस्वस्थ र जीर्ण बन्दै गएको बहस, श्यामल)
लेखन स्वतन्त्र विषय हो । एउटा लेखकलाई पढ्नु भनेको उसको सिर्जना र उसको व्यक्तित्व दुवैलाई पढ्नु हो । अलि पहिले चाहिँ मलाई लाग्थ्यो, ‘लेखकका सिर्जना पढौँ, पुगिहाल्यो नि । एउटा सर्जक उसको सिर्जनाले बाँच्छ ।’ तर आजभोलि सम्भव भएसम्म आफ्नो प्रिय लेखकका बानी, स्वभाव, आदत या विचार एकांगी निर्माणको समयकाल पनि पढौँ भन्ने लाग्छ । यस्तो लाग्नुको एउटा कारण के भने, लेखकको व्यक्तित्वलाई चिन्न खोज्दा लेखकको सिर्जना अझ बढी चिनिँदो रहेछ । लेखनमा व्यक्तिको जिन्दगी र उसको विचारको पूर्ण वा आंशिक प्रभाव परेको हुन्छ । तर, सम्भवतः हरेक रचनामा त्यो प्रभाव नदेखिन पनि सक्छ ।
मिथक पुरुषहरूको प्रिय खुराकी मदिरा, सूर्ती, चुरोट, चिया र कफी भएको मेरो व्यक्तिगत अनुभव हो । यी खुराकले उनीहरूलाई अल्पआयुमा लग्यो तर उनीहरूका खानपिनसम्बन्धी स्वभावजन्य कुराहरू अग्रजले सुनाइरहँदा म कौतुहलतापूर्वक ती कुराहरू सुनिरहेको हुन्छु । नेपाली साहित्यकै सन्दर्भमा ‘हरिभक्त कटुवाल, नारायण गोपाल, भूपी शेरचन र रक्सी’, ‘महाकवि र फूलमार चुरोट’ जस्ता विम्बहरू झन्डै एकअर्काका पर्याय जस्तै स्थापित छन् । तर एउटा प्रश्न ( के यी सर्जकहरूलाई हाम्रो पुस्ताले जँड्याहाको रूपमा मात्र बुझ्दा उनीमाथि न्याय होला रु यी सर्जंकहरूलाई ‘चेन स्मोकर’को रूपमा मात्रै बुझ्दा उनीहरूमाथि अन्याय हुँदैन रु एउटा सर्जकले आफ्नो जीवनकालमा कालजयी सृजना रचना गर्दछ तर त्यसको कम चर्चा र उसको लत (कु)का बेसी चर्चा हुँदा ऊ अन्यायमा परिरहेको त छैन ? यस्ता धेरै मिथक पुरुषहरू छन्, जसका किस्साहरू प्रचलित र स्थापित छन् । त्यसको तथ्यजाँच हुनुपर्दछ, हुँदै जाला पनि ।
किस्साको नामको बढाइचढाइ गर्ने वा अतिरन्जना फैलाउने काम पनि भइरहेको/हुनेगरेको मेरो व्यक्तिगत अनुभवको सार हो । कुनै पनि अप्रमाणित-अल्पप्रमाणित बिम्बहरू तबसम्म स्थापित भइरहन्छन् जबसम्म ती कुराहरूलाई लिएर नयाँ खोजअनुसन्धान हुँदैन, वादविवाद सुरु हुँदैन । सुरु भएको खण्डमा या स्थापित मानक ढलेको या पुनर्निमाण भएको खण्डमा यसको फाइदा सबैलाई नै छ । यही अभिप्रायले लोभिएर यो शृंखला सुरु गरेका हौँ । यो दोस्रो शृंखला हो ।
साहित्यिक गल्लीका हल्लाहरूमा भूपी शेरचनः
भूपीले गद्यमा नेपाली कविताको गम्भीरतम अभिव्यक्ति सम्भव छ भन्ने कुरा त देखाए नै, सँगसँगै त्यसलाई अन्तर्राष्ट्रिय आयाम पनि दिए, यसैले उनी सम्मानका हकदायक छन् । तर, त्यो भन्दैमा नेपाली कविताको मुल्यांकन भूपी, रिमाल या मोहन कोइरलामै पुगेर हरबखत ठोक्कीरहनु पर्छ भन्ने छैन ।
पंक्तिकार पोखरा लिटरचेर फेस्टिभलको एक बहसमा कवि विप्लव ढकालले बोलेको सम्झन्छ, “अहिलेका कवितामा सामाजिक राजनीतिक र कविताकै मुद्दा उठ्न थालेका छन् । भूपी र रिमालका क्राफ्ट चोरी भयो भन्ने तथ्य के छ ?” विप्लवले पछिल्लो समय राम्रा कवि आइरहेको तर कविताप्रति गम्भीरपना नभएका कारणले त्यस्तो समस्या भएको बताएका थिए । यसगरी, उपेन्द्र सुब्बा भन्छन्, “भूपी शे र चन, बैरागी काइलासँग दाँजे र अहिले का कवितालाई कमजो र आँकलन गरि न्छ । यो गलत छ । भूपीका समयमा आफ्नै समस्या थिए । बैरागीका आफ्नै समस्या थिए । अहिले हाम्रा समस्या फे रिएका छन् । दृष्टिको ण बदलिएका छन् । समस्या नवीन छन् । कसैसँग दाँजे र हे र्नु नै गलत हो । पहिलाका कविका पनि सबै राम्रा कविता छैनन् । हामी पाठ्य पुस्तकमा राम्रा कविता घो के र पढे र हुर्केको मान्छे । ती कवितासँग अहिले दाँजे र हुँदैन ।”
नेपाली कविताको मानापाथी चलाउनेहरूले एकातिर ‘भूपीले जस्तो कविता लेख्नुपर्यो’ भनिरहेका छन् भने अर्कातिर भूपीलाई उनका आनीबानीका कारण विवादित र बद्नाम पनि बनाइरहेका छन् कि झैँ लाग्छ ! कारण- भूपीबारे प्रचलित अनेकौँ किस्साहरू छन् । भूपीका किस्सा रचयीताहरूले पनि विगतमा भूलवश/स्वार्थवश यथार्थ बोलेका थिएनन् भने यथार्थ बोलून् भनी विनम्र अनुरोध पनि पंक्तिकार गर्न चाहन्छ, किनकि प्रिय कविको प्रिय/अप्रिय दुवै पाटाहरू थाहा पाउने अधिकार र त्यसलाई आत्मसात गर्ने दायित्वबाट हाम्रो पुस्तालाई बन्चित राख्न मिल्दैन ।
मुस्ताङ, थाकखोलाका नामुद व्यापारी (सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचन)का पाचौँ छोरा भूपेन्द्रमान शेरचन उर्फ भूपी शेरचनमाथि सानै उमेर (पाँच वर्ष)मै आमा टोकुवा भनि गालीगलौज गर्ने काम भयो । र, यो काम तात्कालीन समाज गर्दै थियो । समाजमा प्रचलित कुसंस्कारका विरुद्ध बोलरहँदा भूपीमा यो घटनाले कतै न कतै प्रभाव पारेकै होला । १०–१२ वर्षको उमेरमै अध्ययनका लागि बनारस प्रवेश गरेका भूपी पारिवारिक माया ममताबाट विरक्तिएका थिए र विद्यार्थीकालदेखि नै अनौठो स्वभावका देखिन थालेका थिए । आमाको मायाबाट बन्चित उनले सोही पीडा बिर्सनका लागि चुरोट र रक्सीको सहायता लिन थालेको बताइन्छ (होला त ?) ।
आर्थिक रूपमा सम्पन्नशाली घरमा भूपीको जन्म भए पनि उनले नेपाली साहित्यकै लागि आफ्नो जीवनकालभरि नै सङ्घर्ष गरेको देखिन्छ । तर, उनको यस सङ्घर्षका कुराहरू सपाट र सरल देखिँदैनन् । उनकाबारे थरीथरी हल्लाहरू सुन्नरपढ्न पाइन्छ । उसो त, साहित्यका गल्लीहरू थरिथरि हल्लाहरू छन्, अझ भूपीको ‘हल्लैहल्लाको देशमा’ उनका बारेमा अनेकथरि हल्लाबाजी हुनु अनौठो कुरा पनि भएन । चलेका हल्लाहरूमध्ये कति साँचा हुन्, कति बनावटी हुन्, कति स्वैरकल्पना हुन् खोजीकै कुरा रह्यो । सँगै, हल्लाहरू कति पारदर्शी छन् ? हल्लाहरूको वस्तुगत आधर के हो ? चलेका हल्लाहरूमाथि सन्देह गर्ने कि नगर्ने ? भन्ने कुरा पनि बहसका विषयहरू हुन् । र, मुख्य प्रश्न- नेपाली समाजमा सत्य कुरा हल्लाको विषय बन्छ कि बन्दैन ? या हल्ला भनेको सत्य हो या होइन ? या चलिरहेका हल्लाहरू सत्य या झुट के हो भनेर किन हल्ला हुँदैन ?
क. ‘भूपेन्द्रमान, सर्वहारा हुँदै भूपी
१. नेपाली कविताका लोकप्रिय कवि भूपेन्द्रमान शेरचनले जनवाद र धनवादको जुहारी लेखेर बनारसमा ‘सर्वहारा’ भए । पछि मात्र भूपी शेरचन भए । (पदमसिंह कार्की, नाम उर्फ उपनाम) भूपीको वास्तविक नाउँ भूपेन्द्रमान शेरचन भनिए पनि उनको पहिलो नाउँ भाग्यमान शेरचन हो, जुन चलनचल्तीमा आएन । (प्रकाश सायामी)
२. जुन समय भूपेन्द्रले नाम पछाडि ‘सर्वहारा’ फुर्को जोडे । उक्त नाटक (जनवाद) बनारस विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्र सङ्घले मञ्चन गरेको थियो । जसमा रहेको झ्याउरे गीत ‘धन्यवाद तिम्रो, जनवाद हाम्रो’ आफैँले गाएका थिए । नाटक प्रदर्शनपछि नाम चलेका व्यापारी हितमानका छोरा, काङ्ग्रेसका कट्टर नेता योगेन्द्रमानका भाइ सर्वहारा लेखेर कसरी कम्युनिस्ट भयो ? सबै चकित भए । सोखको विषय नै बाधक बन्न पुगेको मात्रै होइन, स्वयं दाजु रुष्ट भएपछि दाजुभाइबिचको सैद्धान्तिक विवादका कारण भूपेन्द्रले डेरा नै सर्नुपर्ने अवस्था आयो । त्यो सँगसँगै उनले विद्यार्थीकालदेखि ‘सर्वहारा’ उपनाममा कविता लेख्न थाले । यसरी साधनामा लाग्दै गर्दा नेपालमा राणाहरूको जनता विरोधी शासन पद्धति सुरु भयो । उक्त पद्धतिप्रति परिचित उनी अध्ययन छोडेर भद्र अवज्ञा आन्दोलनमा सामेल मात्र के भएका थिए, जेल जीवनसमेत बिताउनुपऱ्यो यसरी उनको बाल्यकाल बित्दै आयो । (असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
३. उनले भूपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ (परिवर्तन, २०१०), ‘सर्वहारा’ (नयाँ झ्याउरे, १९५४ ई ।), भूपेन्द्रमान शेरचन्द (बीएम शेरचन्द, निर्झर, २०१५) जस्ता नाम लेखेका भए पनि घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) कवितासङ्ग्रहमा भूपी शेरचन भनेर आफूलाई चिनाएका छन् । आज उनको सम्पूर्ण परिचय कवि भूपी शेरचन भएर रहेको छ । (बिन्दा अछामी, कवि भूपी शेरचनको जीवनी)
ख. लेखनका कुरा
१. विसं २०१० मा प्रकाशित ‘परिवर्तन’ नाटकका भूमिकामा’ साहित्यप्रति अभिरूचि चार वर्ष अघिदेखि नै जनजीवनको अनुभूतिबाट सर्वहाराजीमा हुन गयो’ भन्ने वाक्य लेखिएको छ । यस आधारमा उनको साहित्यिक यात्रा २००६ सालबाटै भएको बुझिन्छ ।
२. कवितामा उनको सर्वप्रथम ‘नयाँ झ्याउरे’ (१९५४ ई ।) गीति कवितासङ्ग्रह प्रकाशनमा आएको पाइन्छ । यसरी नै “यही नयाँ बिहानीको सन्देश लिएर यो कहानीसङ्ग्रह प्रकाशित हुँदैछ, यसमा साथी भवानीप्रसाद शर्मा र ‘सर्वहारा’ का कहानीहरू सङ्कलित हुनेछन्”, (१९५४ ई ।) भन्ने जनयुग प्रकाशनको सूचना पाइए पनि उनका कथा भने प्रकाशित भएका छैनन् । बरू उनले आफूले कहिल्यै कथा नलेखेको बताएका छन् (सुवेदी, २०३७) । (बिन्दा अछामी, कवि भूपी शेरचनको जीवनी)
३. भूपीले आफ्नो दायित्व बिर्सेर सत्तालोलुप्ताको उन्मादमा शक्तिको दुरूपयोग गर्नेहरूका छातीमा कविताबाटै वज्र प्रहार गरेर आफूलाई कालजयी कविका रूपमा परिचित गराउन सफल भए । उनले कुन विषयवस्तुलाई लिएर कसरी कविता लेख्ने गर्दथे ? र कति विद्रोही थिए ? भन्ने एक प्रसङ्ग यहाँ जोड्दा उपयुक्त हुने देखिन्छ । गुल्मीका साहित्यकार दुर्गाप्रसाद अर्याल उनका दुःखका साथी थिए । बिरामी परेर बिस्तारामा पल्टिदा भूपीले भनेका थिए– गुल्मीको हावापानीमा हुर्केको तपाईंमा मेरो गाउँको वास आयो । काठमाडौँमा म एक्लो रहेछु । म बनारसमा हुने विद्यार्थी आन्दोलनमा पुलिसका अगाडि छाती फर्काएर लौ गोली हान् भन्दै सबैभन्दा उत्तेजित हुन्थेँ । धर्ती नै पल्टाइदिनसक्छु जस्तो जोश उर्लन्थ्यो । यस्तो उत्तेजना मेरो बालाई पनि देखाएँ । मेरो बा प्रतिष्ठित र सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । मेरो घर सामन्तीको अवशिष्ट धरोहर हो । म यसमा बस्दिनँ भनेर विद्रोह गरेँ । बाबाले घर छोडेर गए पनि पैसा लगेर जा, खानुपर्छ र पैसाको काम परिरहन्छ भनेर हातमा राखिदिएका सौ–सौका तीनवटा नोट पिताजीकै अगाडि धर्र च्यातेर फाली दिएँ । बाबाले मन खिन्न पार्नुभयो । म बाटो तताएँ । पछि नघलमा छिँढीका कोठामा निर्मल लामा र म बस्यौँ । रात परेपछि मैनबत्ती बाल्यौँ । बलिरहेको मैनबत्तीमा म ज्यादै आकर्षित भएँ, भुइँमा तप्प–तप्प खसेका मैनबत्तीका थोपा र बलेको ज्वालाको चाला देखेर मेरो हृदयमा वेदनाको पक्ष लुकेको भान हुन्थ्यो, यही प्रत्यक्ष अनुभूतिमा मैले मैनबत्तीको शिखा कविता लेखेको हुँ । (असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
४. वीरगन्ज हुँदै ध्रुवचन्द्रले भूपीको अन्तर्वार्ता पढेका थिए, ‘समाज’ पत्रिकामा । ध्रुवचन्द्र काठमाडौँ आउँदा भूपीको टाइटल ‘सर्वहारा’ थियो र उनले ‘मेरो चोक’ कविता लेखिसकेका थिए । २०१६/०१७ सालमै भूपी प्रख्यात कवि भइसकेका थिए । ध्रुवचन्द्रलाई लाग्छ, वटुटोलको चोकमा उभिएको एउटा मूर्ति देखेरै उनले त्यो कविता लेखेको हुनुपर्छ । (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
ग. भूपीले मदन पुरस्कार किन पाएनन् ?
बहुचर्चित काव्यकृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को प्रभाव जनमानसमा विशिष्ट प्रकारको छ । २०२५ मा प्रकाशित यस कृतिले उनलाई नेपाली स्रष्टाहरूमाझमा अग्रपङ्क्तिमा उभ्याउन सफल रह्यो । यसभित्रका कविताहरूले साहित्यमा विद्रोहको नूतन चेतना मात्र उद्घाटित गरेनन्, अझ कलात्मकता र वैचारिकताको उत्कृष्ट उदाहरण बनेरसमेत देखाए । तर यस कृतिले नेपालको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार’ पाएन ।
उसो त, नेपाली साहित्याकाशमा मदन पुरस्कार (अरू पनि) बारे बहस भइरहन्छ, विवाद झेलिरहन्छ । यो सतवचन हो- ‘साहित्यको उत्कृष्टता पुरस्कारको फिताले नापिँदैन ।’ तर, हामी प्रायशः त्यसरी नाप्ने गल्ती गरिरहन्छौँ । कवि श्यामल भन्दछन्, ‘पुरस्कार नपाउनु अस्वीकृत हुनु होइन । त्यो पुरस्कारका नियन्ताहरूको दृष्टिको कुरा हो । त्यसले कृति वा कृतिकारको गुणवत्तामा तात्विक अन्तर ल्याउँदैन । तर पनि, योग्यतम रचनाकारको खोज पुरस्कारको अभीष्ट हुनुपर्छ ।’
यद्यपि एउटा प्रश्न जीवित छ- भूपीलाई किन मदन पुरस्कार दिइएन ? भूपीलाई पुरस्कृत नगर्दा भूपीलाई त केही हानी भएन नै, तर मदन पुरस्कार गुठीलाई आत्मग्लानी भनि सधैँभर रहने भयो । तर गुठीले त्यो आत्मग्लानी बोध गरेको छ कि छैन, उसका आगामी कामले बताउने नै छ ।
१. लेखन‘दास’हरू पुरस्कार र पगरीको पछि लाग्छन् भने लेखकहरू पुरस्कारबिनै पाठकबाट पुरस्कृत भएका छन् । “आख्यानमा बीपी र कवितामा भूपीलाई कसैले चुनौती दिएको छैन । तर, बागी भएकाले उनीहरूले पुरस्कारै पाएनन्,” लेखक खगेन्द्र संग्रौला भन्छन्, “पुरस्कार कन्फर्मिस्ट (अनुसारक)ले पाउँछन्, रिबेल (बागी)ले पाउँदैनन् ।” (बेपत्ता पुरस्कार, राजकुमार बानियाँ)
२. समालोचक खगेन्द्र सङ्ग्रौला ‘क्लिष्ट कविताको महानताबाट अतिशय प्रभावित भएर होला मदन पुरस्कार गुठीको दृष्टिमा भूपीको अन्धो मान्छेले मदन पुरस्कार पाउन लाएक ठहरिएन ।’ (असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
३. मदन पुरस्कार पाउनु एकजना साहित्यकारको लागि उपलब्धी हो । लोकप्रियताको दृष्टिले महत्वपूर्ण पक्ष हो । पुरस्कार पाउने कृति र साहित्यकार मात्रै उत्कृष्ट भन्ने चाहिँ होइन । भूपी शेरचन, माधव घिमिरे आदिले यो पुरस्कार पाएनन् । तर मदन पुरस्कार नपाएर पनि उनका उत्कृष्ट कृतिहरू उत्कृष्ट छन् । (मदन पुरस्कार पाएपश्चात सरुभक्त, मदन पुरस्कार पाउनु अघि र पछि, सिर्जना दुवाल श्रेष्ठ)
४. विख्यात कवि भूपी शेरचनलाई आफ्नो नामसँग जोड्न मदन पुरस्कार चुकेको थियो तर साझा पुरस्कार पहिलोपल्ट उनको बहुचर्चित काव्यकृति घुम्ने मेचमाथि अन्धो मान्छेलाई दिएर आफैँ सम्मानित भयो । (वर्षान्तमा पुस्तक, श्यामल)
घ. भूपीको सान्दर्भिकता
१. आख्यानकार ध्रुवचन्द्र गौतम कवि भूपी सधैं सान्दर्भिक भएको बताउँछन् । भन्छन्, ‘उहाँको व्यंग्यचेत गजबको छ । सत्तालाई आधार बनाएर उहाँ व्यंग्य गर्नुहुन्थ्यो । त्यो व्यंग्य सत्ताका खेलाडीमाथि हुन्थ्यो । सत्ताको खराबी जबसम्म कायम रहन्छ, तबसम्म भूपी सान्दर्भिक छन् ।’ (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
२. यो हल्लै-हल्लाको देश हो’ कविता ०२४ सालको रूपरेखा पत्रिकामा छापिएको थियो । भूपी शेरचनले यो कविता ०२३/२४ सालतिर लेखेको हुनुपर्छ । जतिबेला पञ्चायती व्यवस्थामा समाज अलिक कठोर थियो, अहिलेको जस्तो खुलापन थिएन । उतिबेलाको बन्द समाजदेखि अहिलेसम्म हल्लामा आधारित समाजको गति र ताल उही देखिन्छ । यसैले अहिले पनि यो कविता उत्तिकै सान्दर्भिक छ । (श्यामल- हो, यो हल्लै-हल्लाको देश हो)
३. कवि सरिता तिवारी भूपी आफ्नो समयको सबैभन्दा शक्तिशाली कवि भएको बताउँछिन् । भन्छिन्, ‘आफ्नो समयलाई सबैभन्दा वाचाल र आकर्षक रूपले कविताभित्र खिप्न सक्ने गुरुत्वाशाली कवित्वले भूपीलाई आफ्ना समकालीनभन्दा बेग्लै परिचय प्रदान गरेको हो ।’ (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
४. भूपी हाम्रा युगका ठूला कवि हुनुहन्छ जसका कलममा नवीनता गुलियो गीत भएर गुञ्जिएको छ । ‘तल्ला वर्गे’हरूका प्यारा कवि तथा यस नक्षत्रलाई आजका पुस्ताले चिन्न नसके पनि भोलिकाहरूले अवश्य चिन्नेछन् र आफ्ना मुटुमा टाँस्ने छन् (ताना शर्मा) ।
५. भूपीको ‘हामी’ शीर्षकको कविता आजसम्म त्यतिकै सान्दर्भिक छ, जति हिजो थियो । आफू बाँचेको युग र स्वयं आफैँलाई पनि व्यङ्ग्य गर्न सक्ने सामर्थ्य भूपीमा थियो । उनी नेपाली कविताको लागि विशिष्ट प्राप्ति हुन् । (चन्द्रवीरलाई मनपर्ने सात कविता र कारण, निर्भिक जङ्ग रायमाझी)
६. मेरो दृष्टिमा कविता खुब 'गरूङ्गो' हुनुपर्थ्याे । हामीले छलफल खुब गर्यौँ । भूपी दाइको धारणा प्रस्ट थियो- कविता जनोपयोगी हुनुपर्छ, जनताले बुझ्ने, ग्रहण गर्न सक्ने खालको । 'कविले जनतालाई झुक्याउनु हुन्न', उहाँ भन्नुहुन्थ्यो तार्किक जोड दिएर । सहमतिमा हार्दिक हस्ताक्षर प्रायशः विजय मल्ल दाइ गर्नुहुन्थ्यो र कवितात्मक अस्पष्टता, दुर्बोधता, गज्याङगुजुङ, अमूर्तता, बौद्धिक विलासजस्ता कुरालाई दुवै दाजुहरू भयङ्कर पाराले हान्नुहुन्थ्यो । म उहाँहरूसित सहमत हुन विवश हुन्थेँ र थप्थेँ, 'आफैँले नबुझुने कुरा कविता हुन सक्तैन, यो म मान्छु तर सरल र बुझिने भन्दैमा ठूलो वर्णमालाहरू कविता हुन सक्तैनन् । सरलतावादी धेरै कविहरूले कविता होइन, ठूलो वर्णमाला जन्माइरहेछन् । (सरुभक्त, भूपी, क्रिकेट र ब्रेडमन)
७. अक्सफोर्डका प्रोफेसर माइकल हटले भूपीको कवित्वलाई चिनेर ‘द लाइफ अफ भूपी शेरचन’ लेखेका हैनन् र ? हामीसँग पुरानादेखि नयाँसम्म विश्वबजारमा जान सक्ने धेरै कृतिहरू छन् । आधिकारिक संस्थाहरूले त्यता काम गर्नुपर्यो । तर, हामीलाई त कोइराला, भूपी, पारिजात, रिमालभन्दा अगाडि आफैँलाई त्यहाँ पुग्न/पुर्याउन हतार छ अनि कसरी चिन्छ विश्वसाहित्यले हामीलाई ? (निमेष निखिल, पंक्तिकारसँगको एक अन्तर्वार्तामा)
ङ. भूपीको आनिबानीः कति सही कति झुट ?
१. अग्रजहरूमा मेरा प्रिय कविहरूमध्येका पनि हुन् भूपी शेरचन । भूपी दाइसँग मेरो मिल्दो आनीबानी त भूपी दाइलाई धेरै सोधिन । संगत गर्दा के चाहिँ हो भने एउटा बानी सम्झेँ । भूपी दाइले कहिले पनि आफ्ना अनुजहरूलाई ‘तँ’ को भाषामा कुरा गर्नु भएन । भूपी दाई साह्रै ठट्यौलो स्वभावको मान्छे । तुकबन्दीमा माहिर मानिनुहुन्थ्यो । मोहन हिमांशु थापा र भूपी शेरचनलाई उहाँहरूको समयमा साह्रै तुकबन्दी गर्नु हुन्थ्यो रे । मोहन दाइसँग मेरो त्यत्रो विधि संगत भएन । भूपी दाइसँग संगत भयो । बडो तुकबन्दी गर्नुपर्ने । ठट्यौली गर्नुपर्ने । (दिनेश अधिकारी, कविता मेरो एकहोरो प्रेम हो)
२. भूपीलाई कविभन्दा पिताको रूपमा बढी सम्झिने बताउँछिन्, भूपीकी छोरी कविता । कविता पितासँगको बाल्यकाल सम्झँदै भन्छिन्, ‘म योङ हुँदै बुवाको स्वर्गवास भयो । घरमा रेकर्डर थियो । बुवाले मलाई नाटक गराएर रेकर्ड गर्नुहुन्थ्यो ।’ कविताका अनुसार, भूपी क्रिकेट निकै रुचाउँथे । त्यसबेला टीभी थिएन, रेडियोमा क्रिकेट कमेन्ट्री आएको उनी निकै ध्यान दिएर सुन्थे । स्पोर्ट्स, पफर्मिङ आर्टमा ज्यादै रुचि थियो उनको । कविता भन्छिन्, ‘स्कुलमा बुवाले लेखेको कविता पढ्नुपर्थ्याे । साथीहरू ‘तिम्रो बुवाले लेखेको कविता होइन ?’ भनेर सोध्थे ।’ कवितालाई भूपीको सबैभन्दा बढी मनपर्ने कविता ‘मेरो चोक’ हो । (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
३. ध्रुवचन्द्रको मस्तिष्कमा भूपीसँग रात–साँझ सडकमा बरालिँदै हिँडेका स्मृति खाँदिएका छन् । ‘उनी प्रायः ट्याक्सी चढेर हिँड्थे । अरू लेखकले त्यसरी ट्याक्सी चढेर हिँडेको मैले देखेको छैन । ट्याक्सी मिटरमा लैजाने, कसैलाई एकै घन्टा भेट्नुपरे पनि ट्याक्सी रोकिराख्ने’, ध्रुवचन्द्र सम्झन्छन्, ‘पछि उहाँले मोटरसाइकल किन्नुभयो । त्यो मोटरसाइकल पछाडि बसेर थुप्रै यात्रा गरेँ ।’ भूपीले ध्रुवचन्द्रलाई काठमाडौँका थुप्रै बारहरूमा पुर्याएको संस्मरण पनि उनीसँग ताजै छ । भन्छन्, ‘तर, भूपी क्लबमा मेरो उपस्थिति जुनियर सदस्यका रूपमा थियो । पछि मात्र मित्रता घनिष्ट भयो ।’ (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
४. गीतकार रत्नशमशेर सम्झन्छन्, ‘भूपी मिलनसार मान्छे थिए । हिँड्दाहिँड्दै पनि अनेक जोक, कविता सुनाउने बानी थियो । कसैसँग नरिसाउने । निकै पोलाइट । हँसीमजाक गरिरहने । सलाइका काँटीको चटक देखाउने । हिन्दीका मुहावरा, जोक सुनाइरहने । उनीसँग दिनैभरि हिँडे पनि ‘बोर’ नहुने ।’ उनको विचारमा भूपी समय सुहाउँदो रचना गर्न सक्ने कवि हुन् । (दीपक सापकोटा, किन सम्झिने भूपीलाई ?)
५. पारिजातको डेरामा विभिन्न छिमलका कवि तथा लेखकहरू गइरहन्थे । पारिजातको पुतलीसडकको त्यो डेरा साहित्यिक तीर्थधामजस्तै थियो । तीमध्ये एक थिए, गजलकार ललिजन रावल । एक दिन ललिजनले पारिजातलाई भूपीसँगको सम्बन्धबारे सोध्दा पारिजातले स्पष्टीकरण दिइछन्, ‘भूपीलाई म एउटा साथीको रूपमा मात्र हेर्थेँ, जहाँसम्म प्रेमको कुरा छ, मैले भूपीलाई कहिल्यै प्रेम गरिनँ ।’ (रावल, ललिजन ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ. १०९–११०) ०४५ सालतिर एक बिहान पारिजातले ललिजन रावललाई फोन गरेर बोलाइन् । ललिजन पारिजातको डेरामा पुग्दा एकदमै तनावमा थिइन्, परिजात । कुरा के परेछ भने भूपी पारिजातको डेरामा आएछन् । उनले एउटा एल्बम पनि बोकेका रहेछन् । एल्बमको पहिलो पातामा पारिजातको ठूलो फोटो राखिएको रहेछ । त्यो देखाउँदै भूपीले पारिजातलाई भनेछन्, ‘तिमीले साथ नदिएर म बिग्रिएँ ।’ भूपीको यो व्यवहारले पारिजात आवेशमा आइछिन् र भनिछिन्, ‘तुरुन्तै यहाँबाट गइहाल । मलाई तिम्रो कुरा सुन्ने फुर्सद छैन ।’ (राजकुमार दिक्पाल, पारिजातको अधुरो प्रेम)
६. भूपी शेरचनसँग वरिष्ठ गीतकार तथा साहित्यकार रत्नशमशेर थापा थापाको गहिरो मित्रता थियो । भूपीसित थापा रातरात भर हिँडेका छन् । भूपी खुबै पिउने । थापा चिया कफीमात्रै पिउने । तर पनि मिल्थे । थापा आफूले आजसम्म पनि रक्सी नछोएको बताउँदै थिए । केही नपिए पनि उनी साथीहरूसित रातरात भर हिँड्थे । एकपटक भूपीले थापाप्रति फरक व्यवहार देखाए । भूपी अथाह धनी थिए । रमाइलो गर्नुपर्ने मानिस थिए । तर जब उनको व्यवहार आफूप्रति फरक पाए थापाले, शेरचनसँग सम्बन्ध टुट्यो । थापा भन्दै थिए, “मैले भूपीलाई सिधै भनेँ, हेर भूपी, तिमीजस्तो करोडपति मैले धेरै देखेको छु । मलाई कसैले छुन सक्दैन । पछि भूपीले आफ्नो गल्ती स्वीकारे ।” (राजेश खनाल, गद्दीबाट तल आएपछि राजा पनि हाम्रो सहकर्मी)
६. बनारस बस्दा भूपीले अस्सी भन्ने ठाउँको हीराबाबुको होटलमा खान खाने गर्थे । सोबेलाका भूपीका साथी काठमाडौँका श्यामप्रसाद अधिकारी, महेशकुमार उपाध्याय, द्रोणराज शर्मा र माधव गौतम थिए । ती मध्ये मिल्ने साथी श्यामप्रसाद नै थिए । डेराबाट पाँच मिनेटको दूरीमा खाना खाने होटल पर्थ्यो । खानापछि उनीहरू पान खान्थे । सधैँ पान पसलेको ऐना सामुन्ने उभिएर को भन्दा को अग्लो भनी लड्ने गर्थे । त्योबेला अन्तिम निर्णय पसलेले दिन्थ्यो । ऊ निकै चलाख, पालैपालो भन्थ्यो र पहिला भूपी अग्लो भन्दा खुसी हुँदै उफ्रिन्थे तर पसलेले भने अर्कोपटक श्यामप्रसाद अग्लो भनेर दुवैलाई खुसी तुल्याई राख्थ्यो ।
७. भूपी पैसा हुँदा फुर्मास र नहुँदा मन बाध्ने व्यक्ति थिए । आफूलाई पैसा खाँचो परेपछि साथी श्यामप्रसादसँग म नौतवना गई आढ्तको मुन्सीको टाउको फोर्छु, २५ रूपैयाँ पैँचो देऊ भनेर मागेछन् । जसको उद्देश्य उनले मुन्सीलाई पैसा पैँचो दिएकाले माग्नुथियो । श्यामप्रसादले पैसा दिए दुवै सँगै गएँ । गान्धी क्लास डम्बामा नौतवना पुगे । मुन्सीसँग एक हजार भारु लिए । त्यसपछि फर्किदा रेलको फस्ट क्लास टिकट काटे । क्याप्स्टेनकै चुरोटको डब्बा किने र बुकस्टलबाट एक डङ्गुर महङ्गा पत्रिका किने । खाना पनि क्याटरिङ्ग सर्भिसकेनलरलाई अडर गरेर झिकाएर बसिरहेका बेला स्टेशनमा मङ्गोल कदका नेपालीले फलफूल बेच्न ए बहादुर वा ए साथी भन्ने गर्थे । केरा व्यापारीले शेरचन बसेको डब्बाको झ्यालमा पटक–पटक ‘ए साथी, केला खाओ भकाभक’, बारबार भनेको भूपीलाई मन नपरेपछि डब्बाबाट ओर्लेर केरावालाको कठालो समातेर मुडकी चिउरा खुवाएपछि पसलेले भूपीलाई कुट्नै लागेका बेला उनै श्यामप्रसादले पुलिस बोलाएर जोगाए । जुन सन्दर्भ श्यामप्रसादले क्याप्स्टेन चुरोट र केला भनेर सम्झिरहने गरेका थिए । (६,७ दुवै-असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
८. भूपीलाई सम्झँदा मलाई भूपीको अनुहार अनि राम्रो ब्याड्मिन्टन र क्यारेमबोर्ड खेलिरहेको हातको सम्झना आउँछ । कविको रूपमा सबभन्दा पहिले सम्झनु त फेर स्वाभाविकै भयो । भूपी कुनै कमनीय शरीरलाई संकेत गर्नु पर्दा भन्थे, तानपुराजस्तो । त्यसैगरी रक्सीको कुरा गर्दा उनी भन्थे, रक्सी खाएर भोमिट गर्नु भनेको बाँदर उफ्रँदा हाँगो समाउन नसकेर झर्नुजस्तै हो । त्यो बेइज्जतिपूर्ण मानिन्छ । मैले भनेको थिएँ, ‘तर त्यस्तो क्षण त आउन नसक्ने होइन ?’ अनि उनले विभिन्न खानेहरूका ओकल्ने कथाहरू सुनाएका थिए । (भूपी शेरचनबारे अन्तिम संस्मरण, धुव्रचन्द्र गौतम)
९. प्रकाश सायमीद्वारा भूपीबारे लेखिएका केही बुँदाहरू
भूपीको डेरा प्यूखा टोलमा पाँच तल्लामाथि थियो, उनी घर पस्ने बित्तिकै सबभन्दा पहिले झ्याल बन्द गर्थे । कारण, रक्सीको मातमा कुनै समय झुक्किएर झ्यालबाट बाहिर नगइयोस् भनेर ।
भूपीले आफ्नो किताबको नाउँ आफ्ना एक भान्जालाई उपहारस्वरूप नामाकरण गरिदिए , त्यो नाउँ हो निर्झर । निर्झर अहिले थकाली भान्छाघर सञ्चालनमा व्यस्त छन् ।
भूपीको चर्चित कृति घुम्ने मेचमाथि अन्धो मान्छे शंकर लामिछानेको ताहाचलको घर को ८ बाई ८ कोठामा रचिएको र वाचन गरिएको हो अनि पछि यो रूपरेखामा विशेष अंकको रूपमा प्रकाशित भएको हो ।
भूपी र हरिभक्त कटुवाल निकै निकट थिए, भूपी अरूसित उनको परिचय गराउँदा यसो भन्थे, उहाँ कट्टुवाल , म चैँ पाइन्टवाल ।
भूपी शंकर पत्नी रत्ना लामिछानेले फ्राइ गरेको आलु खाँदा सँधै भन्थे, मलाई यो आलु भाउज्यू जस्तो र सिन्का शंकर दाइ जस्तो लाग्छ ।
भूपी शुरूमा झूर कविता लेख्थे । उनको सारीभित्र नारी कविता पढेपछि उनलाई पोखरामा पढाउँदै बसेका कवि भीमदर्शन रोकाले हप्काएछन्, “यस्तो वाहियात कविता पनि लेख्यौ भने तिमी मर्यौ । सक्छौ भने लेख, नभए बन्द गर ।” भीमदर्शन रोकालाई भेटेपछि मात्र भूपीले उत्कृष्ट कविता लेखे जसमध्ये धेरै कविता घुम्ने मेचमाथि अन्धो मान्छेमा संगहित छन् ।
भूपी सदैव भन्थे, मलाई दुईटा क ले बिगार्यो, कम्युनिष्ट र कविता । (स्रोतः भूपी शेरचन (Bhupi Sherchan) नामक फेसबुक ग्रूपमा प्रकाशित)
१०. उनले साझा प्रकाशनले आफ्नो कृतिमा नाम भूपी शेरचनको ‘पी’ ह्रस्व लेखेपछि उनले तत्कालीन सञ्चालक समितिलाई एउटा पत्र नै लेखेर मेरा लागि अरू केही गर्न पर्दैन, भूपीको ‘पी’ दीर्घ लेखिदिनुहोला सोही कारण पछिल्ला संस्करणमा उनको नाम दीर्घ नै भएर आयो । साझाले प्रकाशन गरेका पछिल्ला संस्करणमा दीर्घ लेखिए तापनि अझै उनको नाममा शुद्धिकरण आउन सकिरहेको छैन । हालसम्म प्रकाश सायमीको ‘काठमान्डू सेल्फी’ पुस्तक बाहेक धेरै वाङ्मयिक साधकले भूपीसँगका सन्दर्भ उल्लेख गरेर कृति प्रकाशन गरे तापनि भूपीको पी ह्रस्व नै लेखेको पाइन्छ । हरेक साधकले यो सन्दर्भ थाहा पाइराख्नु वर्तमानको आवश्यकता र भूपीप्रतिको सच्चा सम्मान हो । (असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
च. भूपीले पछिल्ला दिनहरूमा लेख्न किन छाडे ?
एउटा कविले कविता लेख्दछ तर जीवनको कुनै कालखण्डमा उसले ख्याती पनि प्राप्त गर्दछ । तर, समयक्रममा आफूले लेखेको अघिल्लो कविताको दाँजोमा उसका पछिल्ला कविताहरू दरिँदैनन् । भूपीमा पनि कतै यही भएको त होइन ?
यसै प्रसंगमा आहुतिको एक घतलाग्दो अभिव्यक्ति पंक्तिकार सम्झन्छ, “एउटा कविले त्यो दिनसम्म मात्र कविता लेख्नु ठीक हुन्छ, जुन दिनसम्म उसले कम्तीमा आफ्नै पुराना स्तरीय कविता सरहका कविता लेखिरहन्छ, सकेसम्म स्तर बढेकै हुनुपर्छ । जुन दिन आफ्नै स्तरमा ह्रास भएको प्रष्ट लाग्न थाल्दछ, त्यसपछि कविता लेख्न छोड्न र अन्य उपयुक्त क्षेत्रमा काममा लाग्नु वेश हुन्छ । दाँत माझेजस्तो, मुख धोए जस्तो सहजवृत्ति कविता सिर्जनालाई बनाउनु कदापी ठीक कुरा होइन ।” (तर यहाँनेर एउटा कुरा भनिहालौँ- के आहुती सही छन् ? आहुती या सौरभ जस्ता व्यक्तिहरूले हरेक विषयमा बोलिरहनुलाई पनि ‘सहजवृत्ति’ मान्ने जमात पनि पंक्तिकार पछिल्लो समय देख्दै/भेट्दै आइरहेको छ ।)
भूपीले २०३१ देखि २०४६ सालतिर आइपुग्दा आफ्नो कविता लेखनको निष्कृय चरणको रूपमा देखा परेको पाइन्छ । पारिवारिक जीवनका मानसिक पीडा एवं अस्वस्थ शारीरिक अवस्थाले यो समयमा उनको लेखन त्यति सक्रिय नदेखिएको हो कि ? या आहुतीले भनेझैँ भूपीले आफ्ना पुराना स्तरीय कविताको दाँजोमा आफ्ना पछिल्ला कविताहरू लेख्न नसकेर नै त्यसो भएको हो ?
१. भूपी लामो समयको मौनता तोडेर विसं २०४१ मा “सर्पहरूको खोजीमा” भन्ने कविता लेख्छन् । त्यसै समयमा भूपी आफ्ना बारेमा भन्छन्– “विगत दुई दशकदेखि मभित्र कविता लेखनप्रति विरक्त्याइँ क्रमशः बढ्दै गएको तथा एक दशकदेखि मेरो स्वास्थ्य बिग्रदै गएकाले मैले लेख्न नसकेको हुँ” (गरिमा, २०४१ः पूर्णाङ्क १८०) ।
२. महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो मुनामदन नजलाइदिनू भनेजस्तै भूपी शेरचनका पनि केही धोका थिए भन्ने पाउन सकिन्छ । उनले विसं २०४४ जेठ १ गते नारायणचौर नक्साल काठमाडौँमा लेखेको मन्तव्यमा भनेका थिए– ‘मेरा प्रशंसक पाठकहरू तथा अन्य पाठकहरू र समीकक्षहरूमा एउटा भ्रम के परेको छ भने मेरो सिर्जनात्मक वृक्ष सुकिसकेको छ । यस्तो भ्रम पर्नु स्वाभाविक पनि हो । घुम्ने मेचमाथिको प्रकाशनपछि मेरा रचनाहरू प्रकाशित रूपमा देखा परेनन् । जसका कारण छन्– प्रथम कारण म लेख्नका लागि लेख्नमा विश्वास राख्दिनँ । त्यसो गरेको भए अहिलेसम्म मेरा कम्तीमा तीनचारओटा कविता सङ्ग्रहहरू प्रकाशित भइसक्थे तर घुम्ने मेचमाथि‘बाट मैले जुन किसिमको प्रसिद्धि र लोकप्रियता प्राप्त गरेँ र उक्त कवितासङ्ग्रहका कविताहरूद्वारा मैले स्तरीयताको जुन शिखरलाई आरोहण गरेको थिएँ त्यसपछि सम्भव भएमा सोभन्दा अग्ला शिखरको आरोहण गर्न चाहन्थेँ । त्यसो गर्न नसके कम्तीमा पनि त्यही शिखरको हाराहारीमा कविताहरू सिर्जना गर्न चाहन्थेँ, जुन सम्भव भएन । त्यसैले म निकै लामो समयसम्म साहित्यमा निक्रिय हुन पुगेँ । मलाई लाग्दैछ म अब पुनः स्वस्थ हुँला र मेरो काव्य लेखन योजना सायद आमाको गर्भमा रहेको शिशुले आमा मर्दा ऊसँगै मरेजस्तो ती पनि ढिलो चाँडो ऊसँगै मर्नेछन् ।’ अस्वस्थताका कारण तीव्र चाहना हुँदाहुँदै पनि साहित्यिक क्षेत्रमा थप कृति दिन नसकेको कुरालाई सङ्केत गरेर लेखिएको उनको यो मन्तव्य पछिल्लो समय जयदेव भट्टराइको सङ्कलन तथा सम्पादनमा प्रकाशित साहित्यकार परिचय र अभिव्यक्ति (२०५४) कृतिमा सङ्गृहित छ । (असफल गौतम, भूपी- नेपाली साहित्यका मूर्धन्य साधक)
३. एकपटक विदेश जाने भिसा पाएनन् । त्यसबखत उनले प्रतिज्ञा गरे, अब नियमित कविता लेख्छु । समीक्षामा उनले लेखेका कविताहरू नियमित रूपमा छापिन थाले । केही समयपछि भूपीलाई लाग्यो होला, यसरी लेख्छु भनेर लेखेको कविता नियमित त होला, आयुष्मान नहोला । त्यसपछि त्यो क्रम टुटेको थियो । भूपी ठीक थिए । आज भूपी आफ्ना अन्य कविताका कारण नै जीवित छन् । नियमित कविता त बिर्सिसके । (भूपी शेरचनबारे अन्तिम संस्मरण, धुव्रचन्द्र गौतम)
छ. जाँदाजाँदै
१. कुनैपनि मान्छे दोषरहित हुँदैन । भूपी पनि दूधैदूधले नुहाएका थिएनन् । तर, उनका केही अवगुण र खोटलाई अगाडि ल्याएर उनले समाज र साहित्यमा पुर्याएको योगदान छायामा पार्ने काम गरिन्छ भने त्यो अत्यन्तै घातक हो । हामीले उनको सृजन क्षमता हेर्ने हो । हो, व्यक्तिको जीवनशैली र आनीबानी पनि सन्तुलित हुनुपर्छ । तर, त्यसकै बहानामा उसलाई विवादमा तान्ने र समग्र मूल्यांकनलाई खुइल्याउने काम असह्य हुन जान्छ ।
भूपीको जीवनशैली सुविधाभोगी खालको थियो, उनी स्त्रीको पछि लाग्थे, कम्युनिष्ट भएर दरबार पसे भन्ने जस्ता आलोचनाले घेरेको पाइन्छ । उनको जीवनशैलीको बारेमा आलोचन गर्नेहरूले के बुझ्नुपर्छ भने उनी मुस्ताङ थाकखोलाका नामुद व्यापारी हितमानका छोरा पनि थिए । त्यसबेलाका अर्बपति थिए हितमान । त्यति हुँदाहुँदै पनि थकाली परिवारका भूपी साहित्यमा लागेर संघर्ष गरे । कम्युनिष्ट भएर देश-दुनियाँको राम्रो सोचे । यो सकारात्मक कुरा हो । हामीले यसरी पो हेर्नुपर्छ । (श्यामल, हो, यो हल्लैहल्लाको देश हो)
२. लेखक कृतिको भरमा बाँच्ने हो, चर्चामा होइन । राम्रो लेखक एउटै कृतिले जीवन पर्यन्त बाँचकै हुन्छ । पुष्कर शम्सेर रणेको परिवन्दले जसरी चिनिन्छन् भूपीलाई घुम्ने मेचमाथि अन्धो मान्छेले । गुरूप्रसाद मैनालीलाई नासोले चिने जस्तै पारिजातलाई शिरीषको फूल बाहेक अरूले चिनाउनै परको छैन आज पर्यन्त । तर हत्केलामा गन्न नसकिने किताब लेख्ने लेखक सय वर्ष पुगिसक्दा पनि उनका छोरा छोरीले शतवार्षिकी कार्यक्रम गर्दा मात्र चिनिने अवस्था यो समाजमा छ । लेखकलाई वंशले होइन, कृतिले बचाउनुपर्छ । (प्रकाश सायामी, डन्ट जज् अ बुक बाइ इट्स कभर)
३. कम्तीमा खानदानी काठमाडौँका रैथाने शासक समुदायबाट विकसित देवकोटाको कविताकर्ममा समर्पण अनि व्यापारी विरासतका भूपीको कविता कर्मप्रतिको मूलनिष्ठालाई गम्भीरतापूर्वक आत्मसात् गर्नु धेरै जरुरी छ भन्ने म ठान्दछु । (आहुती, के देवकोटा आफूभन्दा धेरै लेख्ने कवि नजन्मिऊन् भन्ने चाहन्थे ?)
प्रस्तुत छ, भूपीको बहुचर्चित कविताः
हल्लै–हल्लाको देश
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरू
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरू
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरू जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरूमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरूका ढोका अगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरू
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरू
तन्नेरीहरूका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकैरपाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरूमा
दोब्बर उब्जनी हुने बीउहरूको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बियर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरूमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरूले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिना उपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरू
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरू हो
ए मेरो देशका राष्ट्र-कविहरू हो
ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।
(२०२४, रूपरेखा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...