श्रवण मुकारुङका अनुसार, “महाकवि लक्ष्मीप्रसाद देवकोटाकै हाराहारीका प्रतीभा मोहन कोइरालामाथि लेख्नु यसकारण चुनौतीपूर्ण हुन्छ, कि उनका रचनाहरूको बहुआयाम वा विस्तारित रूपलाई पर्गेल्न समय लाग्छ । एउटा दृढता चाहिन्छ । नत्र, एक छेउ समायो, अर्को छेउ बाँकी रहन्छ ।” मुकारुङ जस्तै पंक्तिकार पनि यहाँ कोइरालाको रचनाहरूलाई पर्गल्ने ध्येयमा छैन ।

नेपाली कविताको प्रयोगवादी धाराका प्रवर्तक मानिएका साहित्यकार मोहन कोइराला विवादित कवि हुन् । उनलाई पछ्याउने, मन पराउनेहरूकोको जत्रो समूह छ, उत्रै समूहले उनलाई ‘कवि नै नभएको’ बताउनेको पनि छ । कोइरालाले ‘फर्सीको शान्त बियाँ समयको बारीमा’ राखेपश्चात आधुनिक नेपाली काव्यधारामा नितान्त नौलो शैलीको प्रयोग भएको यथार्ततालाई भने कसैले नकार्न सक्दैन । 

विसं १९८३ मङ्सिर ११ गते डिल्लीबजार, काठमाडौँमा जन्मेका मोहन कोइरालाले कवितामा नै अधिकांश समयक्रम र जीवनका क्षणहरू दिएको देखिन्छ । बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा जन्मिएका कोइरालाको न्वारानको नाम भने डकारप्रसाद कोइराला हो ।

स्वअध्ययनबाट शिक्षा प्राप्त गरी कविता लेख्न सुरु गरेका कोइरालाको पहिलो कविता शारदा ९२००७० मा प्रकाशित ‘बुझिसके’ हो । उनका प्रकाशित रचनाहरूमा सूर्यदान (२०२१), लेक (२०२५), पलङ नम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), नुन शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), कविताबारे चर्चा (२०३५– निबन्ध सङ्ग्रह), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (२०३८),  ऋतु निमन्त्रण र गरलपान (२०४०), नीलो मह (काव्य–२०४१), एउटा पपलरको पात (२०४७) आदि छन् । समीक्षात्मक कृति ‘कविताबारे केही चर्चा’ पुस्तकमा काव्यको गहनताबारे गहन विचारहरू उल्लेख गरेका छन् । मदन पुरस्कार (२०३८), साझा पुरस्कार (२०३० र २०४०), प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (२०५७) आदि प्राप्त गरेका एवं नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति समेत भएका कोइरालाको २०६३ फागुन १० गते अवसान भएको हो । 

****

रूपरेखा पत्रिकामा कवि मोहन कोइरालाको ‘घाइते युग’ शीर्षक कविता २०१७ सालमा प्रकाशन भएपछि नेपाली कविता लेखनमा प्रयोगवादको प्रारम्भ भएको मानिन्छ । यद्यपि, २०१२ सालमै कोइरालाद्वारा लिखित ‘म सम्झन्छु’ कविता पनि कुनै सशक्त प्रयोगवादी कविताभन्दा कम नभएको त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. लक्ष्मण गौतम बताउँछन् ।

कविता लेखनमा अत्यधिक नवीनताको प्रयोग गर्दै क्लिष्ट, जटिल, दुर्बोध्य, विशृङ्खलित भाषाशैली, चित्रात्मक विचलन, आदि प्रवृत्तिका साथ बौद्धिकता र चिन्तनशीलताबाट प्रेरित भएर जीवनको आयामिक पाटोलाई यस धाराका कविताहरूले आत्मसात गरेको देखिन्छ । यस धारामा कवि मोहन कोइराला, जगदीश शमशेर राणा, ईश्वर वल्लभ, वैरागी काईला, वानिरा गिरी, तुलसी दिवस लगायतका कविहरू देखा परेका छन् । (दीपक शम्चु)

किन लेखे मोहन कोइरालाले क्लिष्ट कविता ?

१. २०१६ मा देवकोटाको निधन भयो । त्यसपछि नेपाली साहित्यमा ठूलो रिक्तताको महसुस भयो । यद्यपि माधव घिमिरे, सिद्धिचरण श्रेष्ठहरू थिए तर पनि स्वच्छन्दतावादी कविता धारा त्यति तीव्र गतिशील हुन सकेको थिएन ।

त्यतिबेलै बल्ल बल्ल प्राप्त गरेको प्रजातन्त्र पनि २०१७ सालमा अपहरण भयो । अनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरियो । यसपछि त्यसबेलाका प्रजातन्त्रवादी र वामपन्थी कविहरूमा पञ्चायती व्यवस्थाप्रति अत्यन्तै असन्तुष्टि थियो । त्यसलाई सोझै लेख्न पाइएन । अनि प्रयोगवादी कविहरूले त्यो असन्तुष्टिलाई व्यक्त गर्न अत्यन्तै प्रतीकात्मक–विम्बात्मक शैली अवलम्बन गरे । त्यसप्रकारले युगीन असन्तुष्टिहरू व्यक्त गर्ने क्रममा प्रयोगवादी कविता जन्मन पुग्यो । ठ्याक्कै त्यही सन्दर्भलाई जोडेर मोहन कोइरालालाई पनि हेर्नुपर्ने हुन्छ ।

त्यतिबेला बीपी कोइरालालाई पनि जेलमा हालेको अवस्था थियो । अभिव्यक्ति स्वतन्त्रता पूरै कुण्ठित भएको अवस्थामा घुमौरो शैली अवलम्बन गरे । त्यो घुमाउरो शैलीमार्फत विम्बात्मक–प्रतिकात्मक रूपमा उनीहरूका कुण्ठा, असन्तुष्टि, निराशालाई कवितामार्फत व्यक्त गरे । यसरी लेख्दालेख्दै यो चाहिँ प्रवृत्ति नै बन्यो । यो एउटा कारण हो ।

अर्को कारण, अलिकति पृथक नलेखीकन, पहिचान बनाउन सकिँदैन भन्ने सचेतता मोहन कोइरालामा थियो । त्यतिबेला भारतमा हिन्दी साहित्यका प्रयोगवादी कविता (जसलाई नई कविता भनिन्थ्यो)को व्यापक प्रभाव थियो । पश्चिमका अङ्ग्रेजी साहित्यका कृतिहरू नेपालीमा प्रशस्त आइसकेको अवस्था थियो, जसले गर्दा त्यसबेलाका एज्रा पाउन्डका कविताहरू, डब्ल्यू बी यिट्सका कविताहरूको अध्ययनपछि अब कविता चाहिँ विम्बात्मक हुनुपर्छ भन्ने चेतना पनि उनमा जाग्यो । मोहन कोइराला ज्यादै अध्ययनशील मान्छे । त्यसैले उहाँका कवितामा यस्ता पूर्व र पश्चिमका, खासगरी नेपाली संस्कृतिका, जातीय संस्कृतिका मिथक र विम्बहरूको व्यापक प्रयोग छ । ती मिथक र विम्बले बहुअर्थी, धेरै अर्थ लाग्ने खालका कविता लेख्नुभयो । यसरी प्रयोगवादी धाराको प्रवर्तन मोहन कोइरालाबाट भयो ।  (डा. लक्ष्मण गौतम, रातोपाटी)

२. दुरुहता र क्लिष्ट लेख्छन् मोहन कोइराला भनेर टिप्पणी गर्नेहरूलाई जवाफको क्रममा यिनी लेख्ने गर्छन्– ‘म पनि भन्छु कुनै कविको कविता क्लिष्ट, दुरुह, दुर्बोध्य नहोस् । सङ्लो पानीजस्तो होस् तर हुन्छ र ⁄ आजसम्म भएन । दुरुहता र सरलता दुवै–दुवै एक–अर्काबाट फरक छैनन् ।’ उनी कविताकै सन्दर्भमा अगाडि लेख्छन्– ‘कविताले जहिले पनि भाषा, काल र स्थिति बोकेको हुन्छ । त्यो बोक्ने कविता स्थायी कविता हो, होइन । त्यसैले यसमा म के भन्न रुचाउँछु भने कविताले आधुनिक रचना, आधुनिक विचार बोकेको हुनुपर्छ, नभए आधुनिक हुँदैन । विचार आधुनिकता हो ।’ सम्पादन–कलामा पनि आफ्नो पहिचान देखाउन सफल यिनले ‘आजका नेपाली कविता’, ‘काव्य विचार गोष्ठी’, ‘कविता’, ‘प्रतीक’, ‘फणीन्द्र नेपालका कविता’ र ‘धरणीधर स्मृति ग्रन्थ’ आदिको पनि सम्पादन गरेका छन् । साझा पुरस्कार र मदन पुरस्कारसमेत पाइसकेका कवि कोइराला साहित्यिक क्षेत्रमा देखा परेका समर्पित साहित्यकार हुन् । टी।एस। इलियटका कविताबाट विशेष प्रभावित यिनी अस्पष्टजस्तो देखिँदो भाषा–शैलीमा कविता घोलेर लामा–लामा कविता लेख्छन् र छपाउँछन् । (मोहन दुवाल)

३. ‘लेखक संघ, दाङ’ नामको साहित्यिक संस्था गठन गरेर आफ्ना साहित्यक गतिविधिहरू गरिरहेका डा. नारायण चालिसे भन्छन्, “हामीले जटिल बिम्बात्मक कविता लेख्ने कवि पनि उत्तिकै जटिल थिए होलान् भन्ने ठान्यौँ भने त्यो बुझाइ गलत हुनेछ । हो, उनीसँग एकछिन बसेपछि लाग्थ्यो ती जटिल कविता के यिनै सजिला कविले नै लेखेका हुन् त ? कहीँ कतैबाट पनि उनी जटिल लाग्दै-लाग्दैनथे । मोहन कोइराला भनेको सरल कवि अनि जटिल कविता हो भनेर बुझियो भने फरक पर्दैन ।”

२०५२ साल फगुन ७ गते सो संस्थाको विधिवत् उद्घाटन कोइरालाको हातबाट भएको थियो । सोहीताका प्रथमपटक चालिसेको भेट कोइरालासँग भएको थियो । चालिसे भन्छन्, “केन्द्र वा राजधानीलाई सधैँ सम्मान गर्ने र आफूलाई तिनका सामु होचै छौँ कि भनेर ठान्ने मोफसलको त्यो समयमा सुप्रसिद्ध कवि मोहन कोइरालालाई दाङमा पाउनु हाम्रो निम्ति त्यति साधारण कुरा थिएन ।”

चालिसे कोइरालाले भनेको कुरा सम्झन्छन्, “तपाईंहरूले ठान्नुभएको होला यो मोहन कोइराला भन्ने कविले त धेरै पढेको होला, ठूलो ठाउँमा काम गर्छ होला अनि धेरै धनी पनि होला तर मैले धेरै पढेको छैन, म धेरै धनी छैन । मैले म्याट्रिकसम्म मात्र पढ्न सकेँ । घरको आर्थिक अवस्था त्यति मजबुद थिएन । हाम्रो पुर्ख्याैली थलो सिन्धुली, दुम्जा हो । काठमाडौँ आएर पनि जीउ पाल्नको निम्ति निकै संघर्ष गर्नुपर्यो । लामो समय मैले यातायात कार्यालयमा सानो तहको जागिर खाएँ । पुर्ख्याैली सम्पत्ति बेचेर अनेक गरेर काठमाडौँमा घर बनाउन थालेको कति वर्ष भयो अझै पूरा गर्न सकेको छैन । म मुटुको बिरामी छु । नियमित आम्दानीको बलियो स्रोत छैन ।’ (इहिमालयनटाइम्स)

४. दुरुहता र क्लिष्टको सन्दर्भमा कोइरालाले ‘परिदृश्यमा गङ्गा प्रवेशमा’ लेखमार्फत यसो भनेका छन्, ‘छोटा–छोटा कविता लेख्नेले यो लामो कविता लेखेर के गर्न खोजेको हो भनेको पनि नसुनिएको होइन । त्यसमा म के भन्छु भने छोटो लेख्नुस् वा लामो लेख्नुस्, लेखकको आफ्नो खूबी हो । तर लामो लेख्नु मेरो रहर हो । जब छोटा कविताले आफ्नो लेखनको वेग मर्दैन त अनि लामो लेख्छ । धेरै भावना सानो कवितामा अट्दैन अनि लामो लेख्नुपर्छ । म अमूर्त गद्य कविताकार हुँ ।’

के कोइराला खुद पनि जटिल व्यक्ति थिए ?

१. यस प्रश्नको जवाफमा डा. गौतम भन्छन्, “उहाँको लेखन र व्यक्तिगत स्वभाव साँच्चै नै फरक देखिन्छ । त्यस्तो बौद्धिक जटिल कविता लेख्ने कवि त्यस्तै होला भन्ने कल्पना हुन्छ धेरैजसोको तर उहाँमा चाहिँ त्यस्तो थिएन । अत्यन्तै सरल र शालीन व्यक्तित्व भएको कवि हुनुहुन्थ्यो ।”

गाैतम अगाडि भन्छन्, “स्नातकोत्तर तहमा उहाँको फर्सीको जरा कविता पढाउँथे । त्यो कविताबारे सोधेको थिएँ, ‘यो कविता चाहिँ साह्रै विशृङ्खलित, सर्वसाधारणलाई बुझ्न पनि गह्रो, अलिकति शृङ्खलित रूपमा दिएको भए त सजिलो हुन्थ्यो ।’ एकछिन चुप्प लाग्नुभयो, अनि एक्कै वाक्यमा ‘यो संसारमा केको चाहिँ शृङ्खला मिलेको देख्नुभएको छ भाइ’ भन्नुभयो ।  उत्तर पुगिहाल्यो ।” (रातोपाटी)

२. कोइरालासँग लामो समय संगत गरेका कवि श्रवण मुकारुङ भन्छन्, “वास्तवमा, उहाँ (कोइराला) सितको काव्यिक सङ्गतपछि नै मैले नेपाली गद्य (मुक्त छन्द) का कविताको बृहत्तर आयाम, त्यसको शक्ति वा फैलावटलाई राम्ररी बुझ्ने मौका पाएँ । जसलाई एकथरी परम्परावादी आलोचकहरू पूर्वाग्रहवश कविताको भाषा बिगारेको, दुरूह र निम्न कोटिको कविता लेख्नेसमेत भन्ने धृष्टता गर्थे । तर उहाँ भने यी सब कुरालाई धाराकुवाको कुरा ठान्दै कवितामा नवीन शैली र सम्भावनाहरूको प्रयोग गरिरहनुहुन्थ्यो ।”

मुकारुङ कोइरालासँगको आफ्नो पहिलो भेट यसरी सम्झन्छन्,

न त मेरो जीवन कसैको घोषणापत्रको फैसला हुन सक्छ

न त मेरो जीवन राजनीतिक मस्यौदाको आधार लिएको बेहोरा हुन सक्छ

समाजवादको अन्तिम निर्णय पनि मलाई छुने अन्तिम सालिक हुन सक्दैन

न त पुजीवादको कङ्काल नै मेरो अन्तिम संस्कार हुन सक्छ

मेरो जीवन रातो रगतसित मिसिएको चेतनाको गाढा थोप्ला हो

(चिन्तनबाट)

प्रमुख अतिथिको रूपमा मोहन कोइरालाले विसं २०४८ सालमा वाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा यस कवितांश पढिरहँदा श्रोताको रूपमा श्रवण मुकारुङ यस कविता सुनिरहेका थिए  । यस भेटमा आफूले ‘नमस्कार’ मात्रै गर्ने माहोल मिलेको मुकारुङ बताउँछन् । पछि मुकारुङले तात्कालीन काव्य विभाग प्रमुख कोइरालाको सहयोगीको रूपमा अस्थायी नियुक्ति पाए । 

विस्तारै कोइरालासँग मनपेट पाउँदै गएपछि मुकारुङले एक दिन अस्वाभाविक प्रश्न गरेछन्,  ‘सर । हजुरको कविता लेखनमा त टीएस इलियटको प्रभाव परेको छ भन्छन् नि ?’

कोइराला कुनै प्रतिरोध नगरी फिस्स हाँस्दै जवाफ दिएछन्, ‘हुनसक्छ, होला ।’

केही छिनको मौनतापछि चियाको सुरूप लिँदै कोइरालाले सोधेछन्, ‘मुकारुङ । अरू के–के भन्छन् त मलाई ?’

‘सरको कविता दुरूह भो रे, बुझिँदैन रे । जे पायो त्यही लेख्छ भन्छन्, मुकारुङले अप्ठ्यारो मान्दै जवाफ दिएछन् ।’

‘होला, हुनसक्छ । मलाई पनि कहिलेकाहीँ त्यस्तै लाग्छ’- कोइरालाको जवाफ ।’

मुकारुङ भन्छन्, “म झन् अप्ठ्यारोमा परेँ । आफ्नै प्रश्नले अचानक बन्द कोठामा थुनिएको बिरालोभन्दा त्रसित मैले बाहिर निस्कन चोरबाटो खोजेँ, ‘तर सर । वामपन्थी, प्रगतिशील भन्नेहरूले हजुरलाई यसो भन्छन् ।’ कविजी मलाई हेर्दै फेरि मुस्कुराउनुभो र उठ्दै उहाँले भन्नुभो, ‘भन्नेहरू के–के भन्छन् भन्छन्, लेखिरह्यौ भने तिमीलाई पनि पछि यसै भन्लान् । भन्नेहरूको पछि नलाग्नू । लेख्न नछोड्नू, लेखिरहनू । है ?” (वैशाख १४, २०७६ कान्तिपुर)

मोहन कोइराला र उनको प्रयोगवादः

मानव मनमा व्याप्त भय, सन्त्रास र छटपटीलाई यथार्थ रूपमा प्रस्तुत गर्नु नै प्रयोगवाद हो । यसले कोरा कल्पनाको विरोध गरेर यथार्थ जीनवशैलीको पक्ष पोषण गर्ने गर्छ । पाश्चात्य चित्रकला क्षेत्रमा परेको अमूर्त प्रयोग, द्वीतीय विश्वयुद्धपछि फ्रन्समा देखिएको अस्तित्ववादको प्रभाव, डार्विनको विकासवादी सिद्धान्त, मानिसलाई यौनवादी जीवशास्त्रीय दृष्टिले हेर्ने जस्ता साहित्यिक अवधारणासँगै विकास भएको थियो विश्वमा प्रयोगवादको श्रृङ्खला ।

त्यसैको प्रभावस्वरूप कवि कोइरालाले पनि साहित्यमा निर्जीवतालाई जीवन्तता दिन थाले, रूपक तथा उपमाहरूको धेरै प्रयोग गर्न थाले । अव्यक्त भावलाई व्यक्त गर्न थाले । प्रतीकको साहाराले कुनै पनि विषयको विश्लेषण पनि गर्न थाले ।

सुसुप्त र दमित भावनाहरूलाई जागृत पार्नका लागि विभिन्न अलंकारहरूको व्यापक प्रयोग गरेको देखिन्छ । वर्तमान शहरी मानिसहरूको चित्रण गर्नको लागि ‘कार्टुनको सहर’ रचना गरे, सम्पूर्ण नेपालीहरूको आर्थिक अवस्था चित्रण गर्नको लागि सुन सारंगीको रचना गरे साथमा मृत मानवको विम्व कोबेर उचिएको ‘घाइते युग’ मार्फत् नै आफ्नो उत्कृष्ठता प्रस्तुत गरिसकेका थिए ।

उनी केवल प्रयोगवादी धारामा मात्रै कविता लेख्ने कवि होइनन् । हरेक प्रयोगवादी धाराका कविले जस्तै उनले पनि आफ्ना कवितामा जीवनप्रतिको निस्सारता र विसंगतिलाई चित्रण गरेका थिए । विसंगतीपूर्ण स्थितिले जन्माएको विसंगतिवादी दर्शनले बीसौं शताब्दीमा विश्वभर व्यापकता पाएको थियो । त्यसैको पहिलो प्रयोग नेपालमा कोइरालाले गरेका थिए ।

कोइरालाद्वारा प्रस्तुत ‘कार्टुनको सहर’, ‘आधुनिक नेपाली क्लब ह्विस्की’, ‘एक रात’, ‘पहराको फूल’, ‘एक लाश’, ‘आमा मलाई बाँच्न दे’ जस्ता कविताहरूमा विसङ्गति बोधका अभिव्यक्तिहरू पाइन्छ । (सुदर्शन अर्याल, अनलाइनखबर)

र, यो प्रसंग...!

०२७ सालदेखि बजारमा आएको ‘अभिव्यक्ति’ पत्रिकाको सम्पादक नगेन्द्रराज शर्मा आफ्नो पहिलो अंक प्रकाशन गर्दाताकाको सम्झनाको पोयु फुकाउँदै भन्छन्, “मोहन कोइराला त्योबेला भूपीपछिका ठूला कवि मानिन्थे । तर, मैले उनको रचना जीवनभरि छापिनँ । पहिलो अङ्कमा अरूसँग जसरी रचना माग्न गएँ, उनको घरमा पनि गएको थिएँ । कोइरालाले ‘कति पैसा दिन्छौ ?’ भनेर सोधे । पहिलो अङ्क भएकाले पारिश्रमिक दिन सक्दिन, पछि पछि दिन्छु भनेर आफ्नो विवशता पोखेँ । उनले भने, ‘जुन दिन पैसा दिन सक्छौँ, त्यहीदिन कविता लिन आउनू’ भनेर ढोका देखाइदिए । तर, कोइरालाको दुर्भाग्य के भइदियो भने पत्रिका सुरुदेखि नै हिट भयो । त्यसपछि मलाई रचनाको खाँचो नै भएन । म उनको कविता नभए पनि पत्रिका चलाउन सक्छु भन्ने अवस्थामा पुगेँ ।

शर्मा अझ अगाडि भन्छन्, “मैले मिहिन अध्ययन गरेर बोलेको हूँ, मोहन कोइरालाको कविता नबुझिनु नै उनको राम्रो पक्ष भइदियो । त्यसमाथि कोइराला र कांग्रेस हुनुको फाइदा पनि उनले लिए । सिद्धिचरण श्रेष्ठ, पारिजात, मोहन कोइराला जस्ता केही लेखक कविहरूले आवश्यकताभन्दा बढी चर्चा पाए भन्ने लाग्छ । (अनलाइन खबर, ‘मैले मोहन कोइराला रचना छापिनँ’)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...