किस्सा
जलालुद्दीन रूमी- १३ औं शताब्दीका धार्मिक विद्वान, दुनियाँको चिरपरिचित कवि एवं सुफी सन्त बनु अगाडि एकप्रकारको खालीपनको महसुस गरिरहेका थिए, जसलाई बयान गर्न सम्भव छैन। रूमीका प्रशंसक एवं शिष्यहरू उनको साथमै भएता पनि उनलाई लाग्ने गर्दथ्यो कि उनको जीवनमा त्यस्तो खास केही पनि छैन । जीवनमा अझै पनि धेरै कुराको कमी छ । अल्पता छ। न्यूनता छ। अपर्याप्तता छ।
रुमीलाई आफ्नो प्रार्थना एवं श्रद्धाको फल तब मिल्यो जब 'शम्स तबरेज' नामका घुमक्कड़ फकिर उनको जीवनमा आइपुगे । उनीहरू दुईको मिलाप कसिलो बन्यो । एकापसको सुखद मुलाकात र सम्पर्कपश्चात दुवैजना एकै निर्णयमा पुगे, त्यो थियो उनीहरू दुवैमा ईश्वरलाई चित्रे एकै प्रकारको लालसा । जीवन र जीवनदियोको निरन्तर खोजी ।
शम्स एक यस्ता व्यक्तिको तलासमा पूरै मध्यपूर्वको यात्रामा निस्केका थिए, जो उनको साथ एवं उपस्थितिलाई झेल्न सकोस्। । कथनअनुसार, जब अस्तव्यस्त भावभंगी सहित लथालिंग कपाल बोकेर शम्स रूमीको नजिक आइपुगेका थिए तब रूमी किताबै किताबको बीच बसेर कुनै किताब पढिरहेका थिए ।
अनौठा मानिस लागेर शम्स तबरेजले रूमीलाई प्रश्न गरे "तिमी के गरिरहेका छौ ? रूमीले कुनै जवाफ दिएनन्। रूमीलाई त्यतिबेला लाग्यो कि ऊ कुनै अनपढ गवाँर हो। अदीक्षित निरक्षर हो। रूमीले उनलाई कनकर्नु बराबर पनि सम्झिएनन्, दन्कर्नु बराबर पनि महत्व दिएनन् ।
सोहीकारण रूमीको जवाफ व्यङ्ग्यपूर्ण थियो, "म जे गरिरहेको छु, त्यो तिम्रो दिमागले भ्याउँदैन ।" यो सुनेपछि शम्सले किताबै किताबको थुप्रो (जो रूमी स्वयंले लेखेका थिए) उठाएर नजिकैको एक तलाउमा फ्यालिदिए। रूमीले हत्तपत्त ती किताबहरूलाई तलाउबाट निकालेर किनारमा ल्याए, तर देख्छन् कि कुनै पनि किताब भिजेको छैन । रूमी हैरान परिसान भए। क्लान्त देखिए रूमी, व्याकुल बने । रूमीले शम्ससँग प्रश्न नगरी थर पाएनन, "यो सब के हो ?" शम्सले जवाफ दिए, "मौलाना, यो सब के हो भनेर तपाई सम्झन सक्नुहुन्न ।" शम्स कोही फतर्को थिएनन् र उनको जवाफ कुनै फतरफतर हुने कुनै उठ्दैन ।
कथनअनुसार यस घटनापश्चात रूमी असभ्य देखिने ती घुम्मकडको गुलाम नै भए । रूमीले निकै उत्सुकताका साथ शम्सलाई आफ्रो जीवनको दैलो भित्र भित्याए । भनिन्छ कि शम्सले चालिस दिनसम्म रूमीसँग रहेर उनलाई शिक्षा दिए। यसपश्चात एक जानेमाने शिक्षक एवं न्यायाधीस सन्यासी बने । र, अहिले हामीले पढिरहेको रूमी 'जलालुद्दीन रूमी' बत्र अल केही समय बाँकी छ, धीरज राख्नुहोस् ।
जलालुद्दीन रूमी:
रूमीका शिष्य एवं साथीहरू शम्ससँग ईर्ष्या गर्दथे। उनीहरूलाई आफो मित्र एवं श्रद्धावन्तित गुरुमाथि यसप्रकार एक घुम्मकडले अधिकार जमाएको निको लागेको थिएन । उनीहरु शम्ससग घुर्मैलो स्वभाव गर्दथे । उनीहरूसँग शम्सको लागि कुनै मनितो थिएन, आदरसम्मान थिएन, उनीहरूको तीतो व्यवहार ने सोही कुराको सूचकाक्षर थियो । एक रात रूमी र शम्स एकापसमा तत्वज्ञ-मर्मज्ञ दार्शनिक, आध्यात्मिक विचारामन्थनमा गाँठाहरू गुथाइरहेका थिए । त्यही समयबिच, शम्सलाई कसैले पछाडिको ढोकाबाट इशारा गर्यो । शम्स इशारा गर्नेतर्फ जानलाई उठे, र त्यतै गए । उनी बाहिर निस्के तर त्यसपछि उनलाई कसैले देखेनन् ।
कथनअनुसार, रुमीको छोरो अलाउद्दीनको साँठगाँठबाट यो काम फत्ते भएको थियो ।
काम अर्थात्- शम्सको हत्या प्रकरण ।
शम्सबाट आत्मिक रुपमा अलगथलग भएपश्चात स्वभावतः रूमी निकै कमजोर बन्न पुगे । हैरान परिसान बने । संज्ञाशून्य, निश्चेतन । रूमीमाथि शम्सको प्रेमास्पर्शद्वारा एक प्रकारको आध्यात्मिक उन्माद छाएको थियो । उनी गल्ली गलियाँमा नाच्दै, घुम्दै एवं सहज माहोल बनाउँदै गीतहरू गुन्गुनाउने गर्न थाले । बिस्तारै बिस्तारै, सनै..सनै..., उनको त्यो नाचगान 'समा प्रार्थना सभा’को रुपमा ढल्न पुग्यो । त्यो 'समा' प्राथाना सभामा क्रमिक रुपमा उनका शिष्य एव् हितौषीहरू पनि जोडिन थाले ।
समा एकप्रकारको गीत प्राथना थियो, जो नाच्दै गाउँदै सम्पन्न हुने गर्दथ्यो । आज यो साधु-सन्त (कलन्दर) द्वारा गरिने नृत्यको रुपमा परिचित छ ।
रूमी शम्सको खोजीमा चारचौकस भौँतारिन थाले । उनको आफूसँग सम्पर्कहीनता टुट्यो, क्रमभङ्गता छुट्यो । यसक्रममा उनी अहिलेको सीरिया देशको राजधानी दमिश्क पुगे । त्यहाँको तातो मरुभूमिमा उनलाई महसुस भयो, ‘त्यस्तो के अत्यावश्यक छ, जसका लागि म यति भौंतारिन थालेँ ? घुमक्कड बनिरहौँ ?’ उनलाई अनुभूत भयो, 'ईश्वर या शम्सलाई मैले यसकारण भेट्न सकिरहेको थिइनँ, किनकि उनीहरू त मैसँग थिए, मसँगसँगै थिए, मै'मा थिए ।'
उनले सोचे,
“म कसलाई खोज्दै छु त्यसो भए ? यो खोजी कति निरर्थक छ ।...” उनी सोचिरहे, “म पनि त त्यही हुँ, जो उनी (ईश्वर/ शम्स) छन् । उनको सार त मेरै माध्यम भएर नै बोलिरहेको छ । उनीहरूको मजबुनको अभिप्राय म नभएर अर्को को हुनसक्छ ? निष्कर्ष नै म हुँ, उपसंहार नै म हुँ । निचोड, गाँठो नै म हुँ । ए, म त आफैलाई पो खोजिरहेको रहेछु..।"
त्यसपछि रूमीको शरीरले ओगटेको ठाउँलाई मरुभूमिको तातो हावाले भरिदियो । रूमी दमिश्कदेखि हिँडिदिए । एकप्रकारले अर्कै मानव भएर, अर्कै चेत बोकेर उनी आफ्नो ठाउँ फर्किए । शम्ससँग उनले जुन रहस्य एवं प्रेमको सुखानुभूति प्राप्त गरेका थिए, त्यसलाई अभिव्यक्त गर्नमै उनले आफ्नो पूरा जीवन बिताए । यसको लागि सबैभन्दा सजिलो माध्यम बन्यो- कविता | कविताको माध्यमबाट रूमी आफ्नो गुरु शम्स तबरेजप्रति श्रद्धा एवं आदर अभिव्यक्त गरिरहन सक्थे । र उनले गरिरहे पनि त्यही ।
रूमी एक अतिवादी प्रेमी:
जलालुद्दीन रूमी एक महान सूफी सन्त थिए । उनी एक खुबसुरत व्यक्ति थिए । तर आजको दुनियाँमा उनी एक परिचित व्यक्ति बनेता पनि उनको व्यक्तित्व अन्जान बन्दै गइरहेको छ, कारण हो आज यहाँ सबथोक हिसाब-किताब बनेको छ । हर चीज सौदा बनेको छ । जहाँ हर चीज सौदाबाजी होस्, त्यहाँ रूमी या सूफीवाद फिट हुने कुरा आउँछ र ? अनुभवले त भन्छ- आउँदैन ।
विश्वास हुँदैन, एक्काइसौं शताब्दीमा पनि रूमी लोकप्रिय छन् । सात-आठ शताब्दी गुज्रिसक्यो, उनको लोकप्रियता घटेको छैन, निरन्तर बढिरहेकै छ । आश्चर्यको कुरा छ, दुनियाँभरका मानिसहरू यति धेरै तार्किक र टेक्निकल भइसकेका छन् पनि रूमी हरकोहीको ओठ र हृदयमा उत्तिकै प्रेम, सम्मान र श्रद्धासहित अदबसाथ बसिरहेका छन् । एक गाउँमा मात्र होइन, एक ठाउँमा मात्र होइन; जहाँ पनि, जसको पनि, जता पनि । आश्चर्यको अनुपम नमुना के यस्तै हुँदैन ?
आजको दुनियाँ गम्भीर छ, कमसेकम देख्दा त्यस्तो देखिन्छ । एक गम्भीर व्यक्ति; जो कहिल्यै तपाईंतर्फ नजर डुलाउँदैन, न हाँस्छ/मुस्कुराउँछ, ऊ पनि जलालुद्दीन रूमीलाई पढिरहेको छ । आज हर ठाउँका हर व्यक्तिकहाँ रूमीका किताबहरू, उनका संगीतहरू र तमाम दोस्रा चीजवस्तुहरू देख्न सकिन्छ । (तपाईंसँग पनि छ ?..)
रूमीबारे जानकार (उनको बायोग्राफी घोकन्तेहरू मात्र पनि होइन), रूमीलाई बुझेका (कविता पढेका मात्र पनि होइन), रूमीलाई सम्झेका/रुचाएका (गीतसंगीत र चित्रबाट मात्र पनि होइन), त्यसबाहेक पनि रूमीलाई केही अलग, केही पृथक देख्नेहरूको समूह छ, लाम छ, भिड छ । उनीहरू भन्छन्, “रुमीलाई पढेर पढ्न सकिन्न, बुझेर बुझ्न सकिन्न। यदि तपाईं रूमी बन्न चाहनुहुन्छ भने, यदि तपाईं रूमीको सानो हिस्सामात्र पनि बन्न चाहनुहुन्छ भने तपाईंले सोहि अन्दाज-ए-बयाँमा आफूलाई नचाउनु पर्छ । यो हदसम्म कि तपाईं मस्तिष्कले तपाईंबाट छुट्कारा पाओस् । तपाईंको दिमाग र तपाईंबीच सम्बन्धविच्छेदको अवस्था सिर्जित होओस् ।"
रूमीले आफ्नो साथ यही गरे । उनले आफूलाई यस प्रकार नचाए कि उनको मस्तिष्कले उनलाई दखलअन्दाजी दिन छाडिदियो । उनी दिल्लगीबाज बने । उनी मस्तराम बने । उनी खुसमिजाज बने । रूमीलाई तपाईं / हामी यतिखेर गहिरिएर हेर्छौं भने हामी पक्का यो धारणामा आफूलाई पुर्याउने छौं कि- रूमीको दिमागी सन्तुलन ठिक थिएन । उनी भरपूर दिवाना थिए । पुरा से -पुरा पागल थिए । कोही दिवाना कसरी दिमागी हालतमा ठिक हुनसक्छ ? कोही पागल कसरी सामाजिक हिसाबमा व्यक्ति हुन सक्छ ? मतलब त यही हो समाजका नजरमा दिवाना, सामाजिक संरचनाको भाँतीमा पागल तर अस्तित्वको आधारमा भने होइन । जीवन बुझाइ र अनुभूतिको आधरमा भने होइन ।
अस्तित्वको आधरामा उनी निकै समझदार थिए तर सामाजिक आधारमा उत्तिकै सन्की र पागल पनि । रूमीलाई रामकृष्ण परमहंशभन्दा ज्यादा पागल भन्न सकिन्छ । कमसेकम रामकृष्ण परमहंससँग पागलपनको लागि एक तौर-तरिका या मार्ग त थियो । मानवताका पुजारी रामकृष्ण परमहंसले ईश्वर प्राप्तिका लागि कठोर साधनामा लिन भई भक्तिको पथमा जीवन बिताए । साधनाको फलस्वरूप उनी यो निष्कर्षमा पुगे कि संसारका सबै धर्महरू सत्य छन् र यिनमा कुनै भिन्नता छैन । ती ईश्वरसम्म पुग्ने भिन्न-भिन्न साधन मात्र हुन् ।
तर रूमीसँग यस्तो कुनै तौर-तरिका या भावभंगी थिएन । उनी सम्पूर्णतः आत्मविस्मृत थिए, बेहोस थिए । उनी एक दिल्लगीबाज व्यक्ति थिए । मस्तमौला थिए । लापरबाह आदमी ! जुन जुन भावनाहरू उनको भित्र स्पन्दन भइरहेको थियो, त्यसको नपाइ सम्भव थिएन । त्यसको उचाइ र गहिराइमा कुनै भेद थिएन । यद्यपी उनलेसामाजिक जीवनको खासै लाभ उठाएनन् ।सामाजिक जीवनमा खासै केही हासिल गरेनन् । यो सम्भव पनि थिएन । किनभने उनले चाहेका पनि थिएनन् ।
यहीकारण भनिन्छ, रूमी एक अतिवादी व्यक्ति हो । वाचाल व्यक्ति हो । अतिवादी अर्थात् प्रेमी । प्रेमी हुनु आफू हुनुको सम्पूर्ण भावनाहरूलाई सम्पूर्ण तीव्रताहरूलाई बुझ्नु हो । शान्त र संयम हुनु प्रेमी हुनु होइन । कोही प्रेमी कसरी शान्त र संयम हुनसक्छ ? त्यो त एक बेस्वाद, नीरस कुनै अवस्था हो । त्यो दयाको अवस्था हो । दयाहीन स्थिति हो । यही दुनियाँ जस्तो, यही समय जस्तो । एक लेनदेन, एक साँठगाँठ, एक सम्झौता - एक अर्काको जरुरत र इच्छा पुरा गर्नको लागि गरिन्छ भने त्यो प्रेम कसरी हुन सक्छ ? यदि कोही आफ्नो परम प्रकृतिसम्म पुग्नको लागि आफ्नो भावनाहरूको तीव्र प्रयोग गर्दछ भने, त्यसमा मरिमेट्दछ भने- त्यो हो प्रेम ।
र, त्यही गुणवत्ता रुमीमा थियो । र, त भनियो, उनी एक अतिवादी प्रेमी थिए । र, उनको प्रेम ईश्वरप्रति निम्छाहार थियो ।
महाकाव्यहरूले बढायो रूमीको लोकप्रियता
'दीवान-ए-शम्स तबरीजी' एवं 'मसनवी' रूमीको लोकप्रिय कृतिहरू मध्ये केही हुन् । दीवान-ए-शम्स तबरीजी महाकाव्य शम्स तबरेजलाई समर्पित गजलसंग्रह हो । जहाँ रूमीले अल्लाहसँग प्रेमको सम्बन्धको आह्वान गरेका छन् । यस संग्रहमा लगभग ४,००० छन्द रहेका छन् । त्यही, मसनवी ६ खण्डमा विभाजित छ, जहाँ २,५०० छन्द रहेका छन् ।
यी दुई संग्रहसहित अन्य किताबहरू कैयौं भाषामा अनुवादित भइसकेका छन् र भइरहेका छन् ।
रूमीलाई कतिपयले निकै महान प्रेम कविको रुपमा पनि परिभाषित गरेका छन्, र त्यो परिभाषाले महिला- पुरुषको प्रेमसँग सम्बन्ध राख्दछ । तर त्यसो होइन, रूमीद्वारा लिखित प्रेम कविताहरू ईश्वरप्रतिको प्रेमभाव हो ।
रूमीको एक प्रेम कहानी:
रूमीको बारेमा एक अनौठो कहानी छ । रूमी एकपटक प्रेममा परे । उनी आफ्नो प्रेमिकाको घरमा छिरेर ढोका ढकढकाउन पुगे । भित्रबाट एक महिलाको कोमल आवाज आयो “को हो ?” रुमीले जवाफ दिए- “म रूमी, तिम्रो प्रेमी । त्यसपछि कुनै आवाज आएन । न ढोका नै खुल्यो ।
रूमीले फेरि ढोका ढकढकाए । यसपटक पहिलेझैं “को हो ?” भन्ने आवाज आउने कुरा थिएन । तर अर्को पनि कुनै आवाज आएन । उनले फेरि ढकढक गरे, ढोका खुल्ने कुनै गुन्जाइस नै रहेन । यस प्रकार कैयौं दिनसम्म उनी प्रेमिकाको घर पुगिरहे, ढोकामा दस्तक दिइरहे । ढोका खुलाउनको अनेक तिकडमबाजी गरिरहे, चाल चलिरहे । तर उनी हरेकपटक विफल सिद्व भइरहे । असफलतालाई आफ्नो अँगालोमा च्यापेर उनी फर्किरहे ।
यस प्रकारको नाकामयाव कोसिसले उनलाई घोर निराशामा डुबाइदियो । उनले आफ्नो जीवन अन्त्य गर्नेसम्मको जोखिमपूर्ण निर्णयसम्म लिए । त्यसमा पनि उनको हातमा विफलता नै पर्यो । उनको अँगालोमा असफलता नै आइपर्यो । उनले त्यसपछि पहाडहरूमा अर्को २/३ महिना बिताए । त्यतिखेर उनी बिल्कुल अर्कै भइसकेका थिए । त्यसपछि उनी पुन : प्रेमिकाको घर पुगे ।
उनले उसैगरी ढक ढक गरी, ढोकामा दस्तक दिए । यसपटक पनि भित्रबाट सोहि कोमल आवाज आयो- “को हो ?”
रूमी बोले, “तिमी, तिमी सिर्फ तिमी । रूमी अब कहीं पनि छैन ।” यसपटक ढोका खुल्यो र रूमीलाई भित्र आउने बोलावट आयो- "भित्र आऊ।”
सूफी परम्परामा ईश्वरलाई हरहमेशा प्रेमीको रुपमा चित्रण गरिएको छ । ढोका सिर्फ तिनै व्यक्ति लागि खुल्दछ, जो आफूलाई कहीँ छोडेर आएको छ ।
रूमीले भारतमा निकै समय बिताएको प्रमाण भेटिन्छ । जुन समय उनी भारतमा थिए, त्यतिबेला उनले योग परम्पराका सबै तरिकामा आफूलाई निपूर्ण बनाए । उनले विभिन्न योगीहरु समक्ष पुगेर योग क्रिया सिकिरहे । र, यो सिलसिला चलिरह्यो ।
रूमीको एउटा अर्को किस्सा:
रूमी एकपटक मक्का जाँदै थिए । उनीसँगै एक अर्का दुरवेश अर्थात् सन्त यात्रारत थिए । दिनहूँ जब रातको समयमा दुवैजना आरामको लागि सुत्न जमिनमा पल्टन्थे, तब अर्को व्यक्ति हत्तपत्त उठेर प्रार्थनाको लागि बस्ने गर्दथ्यो । एक दिन रूमीले चाल मारेर यो कुराको छिनोफानो गर्ने विचार गरे । उनले अर्को सन्त के कारण यस्तो राती प्राथना गरिरहेको छ भनेर थाहा पाउने चेष्टा गरे । रूमीले यो चियोचर्चो गर्नुको पछाडि कारण थियो- उक्त सन्त प्रार्थनाको समय निकै बेचैन देखिने गर्दथे। उनले त्यस रात सुने, उक्त सन्त अल्लाहसँग प्रार्थना गरिरहेका छन् कि 'उनी कुनै दिन कुनै देशको राजा बनून्।' रूमीलाई यो जानेर निकै धक्का पुग्यो । रिसको अग्निकुण्ड उनको मस्तिष्कमा तयार भयो ।
रूमीले ती अर्का सन्तलाई बिच प्रार्थनामै बिथोलेर झपारे, "बेबकूफ, तँ यो के गरिरहेको छस् ? यस्तो लाग्छ कि तेरो गरीबी तँलाई खुद्रामा मिलेको छ ? सित्तैमा मिलेको छ ? नत्र तँ किन जाबो राजा बन्नको लागि हारगुहार गरिरहेको छस्? म स्वयं एक राजा थिएँ, काफी कठिनाइ र संघर्षपछि मैले ज्ञान पाएको छु । यसकारण म एक फिरन्ते बनेँ । तर तँलाई देखेर यस्तो लाग्छ कि तँलाई यो गरीबी यसै मिलेको छ । कुनै मेहनत नै नगरी तैँले यो गरिबी पाएको छस् । यसैकारण तँ राजा बन्नको लागि यति बिघ्न हारुगुहार गर्दै छस् ।"
यसै प्रकार हाम्रो जीवनमा पनि यस्ता कैयौं मौकाहरू सित्तैमा मिलिरहने गर्दछन्, मिलिरहेका हुन्छन्; जो हामीलाई हाम्रो गन्तव्यसम्म पुर्याउन मद्दत गर्दछन् । तर हामी बिचमा बेचैन हुन्छौँ, हैरान परिसान हुन्छौँ । जे-जस्तो हामीले पाएका छौं, त्यसको ठिक ठिक प्रयोग मात्रै पनि गर्दा हौं त हामी यस्ता हुने थिएनौँ, दुनियाँ यस्तो हुने थिएन ।
रूमीका केही कविताहरू:
"प्रेमी प्रेमीकाहरू भेट्दैनन,
उनीहरू सधैँभरि सँगै रहिरहेका हुन्छन् ।”
~
“तिम्रो काम होइन, प्रेमको खोजी गर्दै हिँड्नु । तिम्रो काम आफू भित्रका ती तमाम रोकावटहरूको पहिचान गर्नु हो,
जो तिमी आफैले आफ्नो प्रेमको गोरेटोमा खडा गरिरहेका छौ ।
~
“आफ्नो चुतुर्याइँलाई बेच कहीँ र हैरानी खरिद गर ।
सुरक्षालाई भूल !
त्यहाँ रहने गर, जहाँ रहँदा तिमीलाई अत्याधिक डर लाग्ने गर्दछ ।
आफ्नो प्रतिष्ठालाई खरानी बनाऊ ।
बदनाम हौ ।"
~
“कोही दोस्रोसँग के-के भयो,
ती कहानीहरूमा सन्तुष्ट नहौँ,
आफ्ना भ्रमहरूको छिनोफानो तिमी आफैँ गर ।"
~
"मौनता मात्र ईश्वरको भाषा हो,
बाँकी सब केवल बेकार अनुवाद हुन् ।”
~
“जो आउँछ, उसप्रति आभारी हौं
किनभने हरकोही एक मार्गदर्शक हुनसक्छ ।”
~
“पहिले आफ्ना आँखाहरू शुद्ध गर,
अब यो निर्मल दुनियाँलाई हेर,
तिम्रो कति कान्तिमय छौँ ।"
~
“तिम्रो जन्म पखेटासहित भएको छ,
जीवनभर के-कति उद्देश्यले घिस्रिरहेका छौँ ?”
~
“खटखटाऊ,
उसले ढोका खोल्नेछ ।
बर्बाद हौ, ऊ तिमीलाई सूर्यजस्तै ओजस्वी बनाइदिनेछ ।
भुइँमा पछारिऊ,
ऊ तिमीलाई स्वर्गसम्म उठाइदिनेछ । ”
~
“तिमी समुन्द्रको एक बुँद पानी होइनौ,
तिमी त एक बुँदमा सम्पूर्ण समुन्द्र हौ । ”
~
“पग्लिरहको बरफ जस्तो बन,
आफूले आफैलाई धुँदै जाऊ ।”
~
"प्रेम आमा हो ।
प्रेमले नै हामीलाई जन्माएको हो ।”
~
“हृदयलाई खुला राख्नको लागि
तिमीसँग हृदय टुटेको अनुभवहरू हुन जरुरी छ ।”
~
"प्रेम नामको धर्ममा कोही पनि आस्तिक या नास्तिक हुँदैन ।
यहाँ सबै भक्तालुहरूको आत्मा खाली हुन्छ ।”
~
“म तिम्रो भइसकें,
मलाई अब 'म' फिर्ता नदेऊ ।”
~
(सन् १२०७, सेप्टेम्बर ३० - १२७३, सेप्टेम्बर १७; बल्ख शहर, वर्तमान अफगानिस्तानका जलालुद्दीन रूमीका बारेकाे याे सामाग्री इन्टरनेट एवं तिभिन्न आध्यात्मिक स्रोतहरूको सहयोगमा राजु झल्लु प्रसादले तयार पारेका हुन् ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...