केही समयअघि अमेरिकाको क्यालिफोर्निया राज्यले 'स्टेल्थिङ्ग'माथि प्रतिबन्ध लगायो । बीबीसीकाअनुसार क्यालिफोर्नियाले स्टेल्थिङ्गलाई अवैध र अनैतिक मान्दै प्रतिबन्ध लगाएको हो । अमेरिकामा स्टेल्थिङ्गसम्बन्धी यो पहिलो कानुन हो । नयाँ कानुनसँग स्टेल्थिङ्ग एक अपराध करार भएको छ । 

के हो स्टेल्थिङ्ग ? 
सीधासोझो गरी भन्नुपर्दा स्टेल्थिङ्ग भन्नाले यौनसम्पर्कका क्रममा साथी वा 'पार्टनर'लाई जानकारी नदिई कण्डम झिक्ने वा त्यसलाई हानी पुग्ने काम गर्नु भन्ने बुझिन्छ । यौनसम्पर्कका क्रममा हुने यस्तो हर्कतले पार्टनरलाई विभिन्न यौन संक्रामक रोगहरू लाग्ने सम्भावना त हुन्छ नै साथै गर्भ रहने सम्भावना समेत रहन्छ । त्यस्तै, यस्तो व्यवहारले पार्टनरको गरिमामा समेत आँच पुग्ने गरेको अनुभवहरू समेत प्रकाशमा आउने गरेका छन् ।  

क्यालिफोर्नियाले कानुन बनाएसँगै यसमाथि शुरू भएका बहसहरूमा यस्तो व्यवहार वर्षौदेखि भएपनि यस्ता किसिमका कुराकाे चर्चा चौतारी केवल इन्टरनेट भएकाे र वास्तवमा याे अव्यावहारिक भएकाे समेत भनिन थालिएको छ ।

उसाे त स्टेल्थिङ्गमाथि विभिन्न अध्ययन एवं अुनसन्धान भएका छन् । नेशनल लाइब्रेरी अफ मेडिसिन अमेरिकाले २०१९ मा प्रकाशित गरेको रिपोर्टमा २१ देखि ३० वर्षका १२ प्रतिशत महिलाले स्टेल्थिङ्गसँग सम्बन्धित आफ्ना अनुभवहरू राखेका छन् । त्यस्तै, अस्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार पुरुषसँग सम्बन्धका क्रममा ३३ प्रतिशत महिलाहरूसँग स्टेल्थिङ्ग भएको देखिएको छ भने २० प्रतिशत पुरुषसँग समेत यसप्रकारको घटना भएको अध्ययनमा जनाइएको छ । 

के हुँदैछ विश्वभर ? 
जुनजुन देशले स्टेल्थिङ्गविरुद्ध लड्ने कोसिस गरेका छन्, तिनले आ-आफ्ना तरिकाहरू खोजेका छन् । 

क्यालिफोर्नियामा बनेको कानुनले स्टेल्थिङ्गलाई अपराध मानेको भएपनि दण्डको व्यवस्था भने सामान्य राखेको छ । यसले केवल पीडितलाई हर्जाना माग्ने अधिकार मात्रै दिलाएको बीबीसीकाे रिपाेर्टमा उल्लेख छ । 

जर्मनीमा भने स्टेल्थिङ्गका दोषी प्रहरीलाई अदालतले ८ महिना निलम्बित गरेकाे नजीर छ । त्यस्तै अदालतले ती प्रहरी अधिकारीलाई पीडितको स्वास्थ्य जाँचका लागि ९६ यूरो तथा हर्जानास्वरूप ३००० यूरो जरिवाना समेत गरेकाे थियाे ।

उता न्युजिल्याण्डमा भने स्टेल्थिङ्ग नियन्त्रणका लागि कडा व्यवस्था गरिएको छ । यसैवर्षको शुरूवातमा कुनै व्यक्तिले यौन व्यवसायीसँग सम्पर्कको दौरान गरेको स्टेल्थिङ्गलाई अदालतले बलात्कार ठहर्याइ ३ वर्ष नौ महिना जेल सजाय सुनाएकाे छ । 

ब्रिटेनमा पनि स्टेल्थिङ्गलाई बलात्कार मानिन्छ । यद्यपि यसका लागि छुट्टै कानुन भने बनेको छैन । त्यहाँ २०१९ मा एक यौन व्यवसायीसँग भएको स्टेल्थिङ्गलाई बलात्कार मानी फैसला गरिएकाे थियाे । व्यवसायीले पटकपटक कण्डम लाउन गरेको आग्रहलाई नकार्ने ती व्यक्तिलाई अदालतले बलात्कार गरेको ठहर्याइ जेल सजाय सुनाएकाे हाे । 

वैवाहिक बलात्कार दण्डनीय भएकाे नेपालमा भने स्टेल्थिङ्गमाथि कुनै किसिमकाे बहस तथा छलफल भएकाे देखिँदैन । 

एजेन्सीकाे सहयाेगमा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार