एजेन्सी - लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा उपाधि दाबेदार अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै नै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा कप्तान मेस्सीले फ्रिकिकमा एक गोल गर्दै अरू दुई गोलको लागि पनि असिस्ट गरेका थिए । र, अर्जेन्टिना ३–० को जित दर्ता सफल भएको थियो ।
खेलको शुरूवातदेखि नै सशक्त आक्रमण गरेको अर्जेन्टिनाले गोलको लागि थुप्रै अवसर सिर्जना गरेको थियो । इक्वेडरका गोलरक्षकले पनि पहिलो हाफमा केही सुन्दर बचाउ गरेका थिए । इक्वेडरले काउन्टर आक्रमणका पाएको केही अवसरलाई सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा पनि लगातार अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा इक्वेडर खेलमा फर्कन सकेन । अन्तिम समयमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि इक्वेडर प्रतियोगिताबाट बाहिरिएको थियो । मेस्सीले फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको अन्तिम चार यात्रा तय गरे । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ ।
खेलको १४ औँ मिनेटमा अर्जेन्टिना अग्रता लिन नजिक पुगेको थियो । पेज्जेलाले दिएको लामो पासलाई लाउटारो मार्टिनेजले नियन्त्रणमा लिँदै गोलरक्षक गालिन्देजलाई बिट गरे । तर इक्वेडरका डिफेन्डर अर्बोलेदाले बललाई गोललाइन अघि बचाउँदै खेल गोलरहित नै राखे ।
त्यस्तै २२ औँ मिनेटमा अर्जेन्टिनाको अघि बढ्ने प्रयासमा पोस्ट बाधक बन्यो । इक्वेडरका गुरुएजोले दिएको खराब ब्याकपासलाई कप्तान लिओनेल मेस्सीले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
इक्वेडरले ३८ औं मिनेटमा अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । एस्तुनपियानले दिएको क्रसमा इक्वेडरका एनर भ्यालेन्सिया र मेना दुवैले ६ यार्ड बक्स भित्र बललाई सही नियन्त्रणमा लिन सकेनन् र इक्वेडर अग्रता लिनबाट चुक्यो ।
लगत्तै अर्कोतर्फ रोड्रीगो डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १–० ले अघि बढाएका थिए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।
पहिलो हाफको अन्तिम मिनेटमा निको गोन्जालेजको अग्रता दोब्बर पार्ने सुवर्ण अवसरमा गोलरक्षक बाधक बने । मेस्सीको फ्रिकिकमा गोन्जालेजको पहिलो हेडरलाई गोलरक्षक गालिन्देजले बचाएपछि आएको रिबाउन्डमा गोन्जालेजकै प्रहार गोललाइन अगाडीबाट गोलरक्षकले विफल पारेका थिए ।
त्यसैगरी, दोस्रो हाफको ५८ औँ मिनेटमा इक्वेडरका फरवार्ड भ्यालेन्सियाको प्रहारलाई गोलरक्षक मार्टिनेजले बचाए । ६४ औँ मिनेटमा एस्तुन्पियनको क्रस गोन्जालेजलाई लाग्दै पोस्टभन्दा थोरैले बाहिरियो । ७० औँ मिनेटमा मेनाक क्रसमा भ्यालेन्सियाले हेडरलाई पोस्टको दिशा दिन नसक्दा इक्वेडर खेल बराबरी गर्नबाट चुक्यो ।
७४ औँ मिनेटमा डे पलको पासमा मेस्सीले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८० औँ मिनेटमा प्लाटाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक मार्टिनेजले विफल पारेका थिए ।
८४ औँ मिनेटमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा अग्रता दोब्बर पार्यो । डी मारियाले इक्वेडरको पेनाल्टी क्षेत्रअगाडी डिफेन्डर बाट बल खोसेपछि मेस्सीले बल मार्टिनेजलाई दिए । मार्टिनेजले वन भर्सेस वनमा सहज फिनिस गर्दै गरेका थिए ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । पेनाल्टी क्षेत्रबाहिर एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले भीएआरको सहयोग लिँदै डिफेन्डर पिएरो हिन्कापिएलाई रातो कार्ड दिएका थिए । मेस्सीले उक्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गरेका थिए ।
त्यसअघिको अर्को क्वाटर फाइनलको खेलमा कोलोम्बियाले उरुग्वेलाई पराजित गरेको थियो । टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै कोलोम्बियाले सेमिफाइनलमा स्थान बनायो ।
निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले एक अर्काको गोलरक्षकलाई खासै धेरै समस्या दिन सकेनन् । ४२ औं मिनेटमा उरुग्वेका फेडे भालभेर्डेले एडिन्सन काभानीलाई थ्रु पासमा अघि पठाएपनि येरी मिनाले उत्कृष्ट ट्याकल गर्दै खतरा टारे । पहिलो हाफको अन्तिम मिनेटमा कोलोम्बिया दुभान जपाटाको प्रहारलाई गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे ।
दोस्रो हाफमा उरुग्वेका नाहितान नान्देजको प्रहारलाई कप्तान ओस्पिनाले रोकेका थिए । ७३ औं मिनेटमा सान्तोस बोरेको क्रसमा जपाटाको हेडरमा मुस्लेराको खुट्टा बाधक बन्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाको जित पक्का गरेका थिए । कोलोम्बियाका लागि भने सबै ४ प्रहार गोल भएको थियो ।
कोलोम्बियाका लागि दुभान जपाटाले पहिलो प्रहारमा गोल गरेपछि उरुग्वेका एडिन्सन काभानी र कोलोम्बियाकै देभिन्सन सान्चेजले गोल गरे । एटलेटिको म्याड्रिडका डिफेन्डर जोसे जिमिनेजले गरेको दोस्रो प्रहार विफल पार्दै ओस्पिनाले टोलीलाई अघि राखेका थिए ।
कोलोम्बियाका येरी मिना, उरुग्वेका लुइस सुआरेज र त्यसपछि कोलोम्बियाका मिगुएल बोर्जाले पेनाल्टीमा कुनै गल्ति गरेनन् । चौथो प्रहार गर्न आएका उरुग्वेका भिनाको प्रहार पनि ओस्पिनाले विफल पारेपछि खेल कोलोम्बियाले जितेको थियो । अबको सेमिफाइनल चरणमा कोलम्बिया र अर्जेन्टिना आमने–सामने हुँदैछन् ।
त्यसैगरि, अर्को सेमिफाइनल खेल ब्राजिल र पेरुको बीचमा हुँदैछ । शुक्रबारको भएका खेलमा पेरुले पाराग्वेलाई र ब्राजिलले चिलीलाई १–० ले पाखा लगाएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...