Author

एजेन्सी - मंगलबार भएको खेलमा इंग्ल्यान्ड र युक्रेनले इंग्ल्यान्डले राउन्ड अफ १६ चरणमा जित दर्ता गरेपछि युरोको क्वाटरफाइनल समीकरण पूरा भएको छ । 

इंग्ल्यान्डले पहिलो नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । इंग्ल्यान्डको २–० को जितमा रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले गोल गरेका थिए । 

त्यसैगरी, राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि युक्रेन २–१ को जित हासिल गर्दै अन्तिम ८ मा पुगेको हो ।

राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यस्तै, समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहयो ।

चेक रिपब्लिक भने समूह चरणमा शतप्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुगेको हो । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको डच टोलीलाई चेकले २–० ले हराएको थियो । 

त्यस्तै युरोकै उपाधि दाबेदारको रुपमा हेरिएको पोर्चुगल अर्को दाबेदार मानिएको बेल्जियमसँग १–० ले पराजित भयो । र,  बेल्जियम अन्तिम ८ मा पुगेको छ ।

विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै स्पेनले पनि ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको छ । क्रोएसियाले निर्धारित ९० मिनेटको समयमा ३–३ को बराबरी गरेपनि अतिरिक्त समयमा २ गोल खाँदै बाहिरिएको थियो । 

विश्वकप विजेता फ्रान्सको युरो कप यात्रा पनि स्वीट्जरल्यान्डले टुङ्याइदिएको छ । ३–१ को अग्रता लिइसकेको फ्रान्स अन्तिम समयमा सम्हालिन सकेन । टाइब्रेकरमा पुगेको खेलमा फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स युरोबाट बाहिरिएको हो ।

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भइसकेको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ ।

क्वाटरफाइनल

शुक्रबार २ जुलाई
४५. स्विट्जरल्यान्ड विरुद्ध स्पेन (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. बेल्जियम विरुद्ध इटाली (राति १२ः४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई
४७. चेक रिपब्लिक विरुद्ध डेनमार्क (राति ९ः४५ बजे/बाकु)
४८. युक्रेन विरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/रोम)
४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई
४९. स्विट्जरल्यान्ड/स्पेन विरुद्ध बेल्जियम/इटाली (राति १२ः४५ बजे /लन्डन)
५०. चेक/डेनमार्क विरुद्ध युक्रेन/इंग्ल्यान्ड (राति १२ः४५ बजे /लन्डन)
८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई
खेल नम्बर ४९ र खेल नम्वर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन) 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...